काठमाडौं। सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा तीन पूर्वप्रधानमन्त्रीमाथि अनुसन्धान सुरु भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि अनुसन्धान अघि बढाएको हो।
अनुसन्धानका लागि विभागले प्रहरीलाई पत्राचार गरेको छ भने विभागसँगै प्रहरीले पनि अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।
प्रहरी स्रोतका अनुसार तीन पूर्वप्रधानमन्त्रीसँगै पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का तथा उनीहरूको परिवारको नाममा रहेका चल–अचल सम्पत्ति, आम्दानीको स्रोतलगायत विषयमा छानबिन भइरहेको छ। साथै आरजु राणाका भाइ भूषण राणामाथि पनि अनुसन्धान जारी रहेको जनाइएको छ।
यसअघि प्रहरीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई ज्यानसम्बन्धी मुद्दामा पक्राउ गरेको थियो। उक्त मुद्दा अलग रहेको र सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान छुट्टै रूपमा अघि बढाइएको जनाइएको छ।
यसैबीच, सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानकै क्रममा दीपक खड्कालाई पनि पक्राउ गरिएको छ।
हाल शेरबहादुर देउवा दम्पति देशबाहिर रहेका छन् भने पुष्पकमल दाहाल र भूषण राणालाई पक्राउ गरिएको छैन।
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको छ भने ज्यानसम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर काठमाडौंले छुट्टै अनुसन्धान अघि बढाएको छ।











