Wednesday, May 6, 2026
Home Blog Page 39

भ्रष्टाचार नियन्त्रणमा सरकारद्वारा कडाइ, सबै निकायलाई प्रभावकारी कदम चाल्न निर्देशन

0

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारले भ्रष्टाचार नियन्त्रणलाई प्रभावकारी बनाउन सबै मन्त्रालय, आयोग र सरकारी कार्यालयलाई कडाइका साथ निर्देशन दिएको छ।

मुख्यसचिव सुमनराज अर्यालद्वारा जारी पत्रमा अन्तर्राष्ट्रिय प्रतिवेदनहरूमा नेपालको भ्रष्टाचार अवस्था निराशाजनक देखिएको उल्लेख गर्दै त्यसको समूल अन्त्य गरी सुशासन कायम गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाइएको छ।

पत्रमा भनिएको छ, ‘देशमा भ्रष्टाचारको समूल अन्त्य र सुशासन कायम गर्नुपर्ने मूलभूत माग राखी गत २०८२ भाद्र २३ र २४ गते जेन–जी युवाहरूको अगुवाइमा जनआन्दोलन भएको र सोही पृष्ठभूमिमा २०८२ फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भई हालै गठन भएको सरकारले सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत, प्रक्रियागत लगायत सबै किसिमका भ्रष्टाचारलाई अन्त्य गरी सुशासन प्रवद्र्धन गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ।’

सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन, ठेक्का तथा खरिद प्रक्रियामा हुने नीतिगत, संस्थागत तथा प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्न सम्बन्धित निकायहरूले तत्काल प्रभावकारी पहल गर्नुपर्ने पत्रमा उल्लेख गरिएको छ।

सरकारले विशेषगरी कर्मचारीहरूलाई दक्ष, व्यावसायिक र सदाचारयुक्त बनाउँदै जनविश्वास बढाउने, सेवाग्राहीसँग सभ्य व्यवहार गर्ने तथा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक र असहाय वर्गलाई प्राथमिकतामा राख्न निर्देशन दिएको छ।

त्यसैगरी, कार्यालय प्रमुखलाई नै मुख्य जिम्मेवार बनाउँदै तटस्थता, पारदर्शिता र आचारसंहिताको कडाइका साथ पालना गराउने दायित्व तोकिएको छ। सेवा प्रवाह र विकास व्यवस्थापनमा चुस्तता, मितव्ययिता र प्रभावकारिता कायम गर्न समेत आग्रह गरिएको छ।

पत्रमा मोलमोलाहिजा, अनियमितता र भ्रष्टाचारका घटनामा सूक्ष्म निगरानी राख्न, छड्के अनुगमन गर्न र कुनै जानकारी प्राप्त हुनासाथ सम्बन्धित निकायमा जानकारी गराउन निर्देशन दिइएको छ। साथै, भ्रष्टाचार वा आर्थिक अनियमितता भेटिएमा सम्बन्धित कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने चेतावनी पनि दिइएको छ।

‘सरकारी निकायमा कुनै किसिमको अनियमितता वा भ्रष्टाचारजन्य कार्य भएको पाइएमा निकाय÷कार्यालय प्रमुखलाई नै प्रारम्भिक रूपमा जिम्मेवार बनाइने भएकोले सोही बमोजिम गर्ने गराउने व्यवस्थाका लागि समेत अनुरोध छ,’ पत्रमा उल्लेख छ।

यसका साथै भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत, कानूनी, संस्थागत र व्यवहारगत सुधारका आवश्यक सुझावहरू प्रधानमन्त्री कार्यालयमा पठाउन पनि सबै निकायलाई अनुरोध गरिएको छ।

साथै, आर्थिक अनियमितता, भ्रष्टाचारको रोकथाम र नियन्त्रणका लागि नीतिगत, कानूनी, संस्थागत, प्रक्रियागत र व्यवहारगत पक्षमा सुधार ल्याउन गरिनुपर्ने महत्त्वपूर्ण सुझावहरू यस कार्यालयमा उपलब्ध गराइदिनुहुन समेत अनुरोध छ।

रास्वपाबाट सभामुखमा डिपी अर्याल प्रस्ताव, संसदीय दलबाट सर्वसम्मत निर्णय

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुख पदका लागि पार्टीका उपसभापति डिपी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टीको संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले अर्यालको नाम प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो।

रास्वपाले संसदीय नेतृत्वमा आफ्नो भूमिका थप सुदृढ गर्ने उद्देश्यसहित अर्याललाई सभामुख पदका लागि अघि सारेको बताइएको छ। अब सभामुख चयन प्रक्रिया अन्तर्गत अर्यालको उम्मेदवारी औपचारिक रूपमा प्रस्तुत गरिनेछ।

ओलीमाथि अनुसन्धान जारी, थप दुई दिन हिरासतमा राख्न अदालतको अनुमति

0

ओलीको हिरासत लम्बियो, अदालतले दियो थप दुई दिनको म्याद

  • जेनजी प्रकरण: ओली र लेखकमाथि अनुसन्धानका लागि म्याद थप
  • ओली पक्राउ प्रकरणमा अनुसन्धान तीव्र, थप दुई दिन हिरासत अनुमति

एमाले संसदीय दल नेता बने बादल, सुहाङ प्रतिस्पर्धाबाट बाहिरिए

0

काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध चयन भएका छन्।

बुधबार च्यासलमा बसेको संसदीय दलको बैठकपछि नेता चयनका लागि प्रक्रिया अघि बढाइएको थियो। निर्वाचनका लागि सुहाङ नेम्वाङ र बादलले नाम दर्ता गर्ने तयारी गरे पनि अन्ततः बादलले मात्र उम्मेदवारी दर्ता गरेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन विभाग प्रमुख निरज आचार्यका अनुसार दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।

सुहाङले बैठकमा युवालाई अवसर दिनुपर्ने धारणा राख्दै नेतृत्वको आकांक्षा व्यक्त गरेका थिए। तर प्रस्तावक र समर्थकको अभाव भएपछि उनले उम्मेदवारी दर्ता गर्न सकेनन्।

एमालेले गत प्रतिनिधिसभा निर्वाचनमा अपेक्षाअनुसार नतिजा ल्याउन नसकेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओली सहित धेरै शीर्ष नेता पराजित भएका थिए।

समानुपातिक प्रणालीबाट सांसद बनेका बादल पार्टीको पहिलो वरीयताका उपाध्यक्षसमेत हुन्। अध्यक्ष ओलीको समर्थनसमेत पाएपछि उनी दलको नेतामा चयन भएका हुन्।

बादलको राजनीतिक यात्रा लामो रहेको छ। वामपन्थी आन्दोलनबाट उदाएका उनी पूर्व माओवादी केन्द्रका महासचिवसमेत रहिसकेका छन्। सशस्त्र द्वन्द्वकालमा उनले सैन्य नेतृत्व सम्हालेका थिए भने शान्ति प्रक्रियापछि पार्टी संगठन र सरकार दुवैमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उनी रक्षामन्त्री बनेका थिए भने केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

२०७७ सालमा प्रतिनिधिसभा विघटनका विषयमा उनले ओलीको पक्षमा उभिँदै पार्टीभित्रको विवादमा स्पष्ट धारणा राखेका थिए। त्यसपछि एमाले विभाजन र पुनर्गठनका क्रममा पनि उनले ओलीलाई साथ दिँदै आएका छन्।

गुल्मीमा जन्मिएका बादल लामो समयदेखि नेपाली वामपन्थी राजनीतिमा सक्रिय रहँदै आएका नेता हुन्। अहिले उनी संसदीय राजनीतिमा एमालेको नेतृत्व सम्हाल्ने जिम्मेवारीमा पुगेका छन्।

पश्चिम एसियामा युद्धको भयावहता: मृत्यु संख्या ५ हजार नाघ्यो

0

तेहरान । अमेरिका र इजरायलसँग इरानको जारी युद्धमा ज्यान गुमाउनेहरूको संख्या ५ हजार नाघेको छ। विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले संकलन गरेको तथ्याङ्कअनुसार सार्वजनिक विवरणले पश्चिम एसियामा मानवीय क्षति तीव्र रूपमा बढिरहेको देखाएको छ।

सबैभन्दा बढी क्षति इरानमा भएको छ, जहाँ हालसम्म ३ हजार ५ सय १९ जनाको मृत्यु भइसकेको छ। मानवअधिकारसम्बन्धी संस्था हरानाका अनुसार मृतकमध्ये १ हजार ५ सय ९८ जना सर्वसाधारण रहेका छन्, जसमा २४४ बालबालिका समेत समावेश छन्। साथै, उद्धार संस्थाहरूका अनुसार करिब १९ हजार मानिस घाइते भएका छन्।

युद्धको प्रभाव इरानमा मात्र सीमित नरही लेबनान, इराक र अन्य छिमेकी देशहरूमा पनि फैलिएको छ। लेबनानमा इजरायली आक्रमणबाट हालसम्म १ हजार ३ सय १८ जनाको मृत्यु भएको छ, जसमा १२४ बालबालिका रहेका छन्। त्यहाँ ४ सयभन्दा बढी सशस्त्र समूहका लडाकु मारिएका छन् भने ड्युटीमा रहेका ९ लेबनानी सैनिक र संयुक्त राष्ट्रसंघका ३ शान्ति सैनिकले पनि ज्यान गुमाएका छन्।

इराकमा पनि अवस्था तनावपूर्ण रहेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार इरानसमर्थित मिलिसिया, कुर्दिस लडाकु तथा केही विदेशी सदस्यसहित १०७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

इरान र लेबनानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण इजरायलमा हालसम्म १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाका अनुसार दक्षिणी लेबनानमा आफ्ना १० सैनिक मारिएका छन् भने सीमा क्षेत्रमा आफ्नै असावधानीका कारण एक किसानले ज्यान गुमाएका छन्।

युद्धमा प्रत्यक्ष संलग्न अमेरिकाले पनि आफ्ना १३ सैनिक गुमाएको जनाएको छ। तीमध्ये केही इराकमा भएको विमान दुर्घटना र केही इरानमा भएका सैन्य कारबाहीका क्रममा मारिएका हुन्।

यस युद्धको प्रभाव खाडी क्षेत्रका अन्य देशहरूमा पनि देखिन थालेको छ। संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, वेस्ट बैंक र सिरियासहित अन्य स्थानहरूमा पनि मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छ।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले मृत्यु संख्या अझै बढ्न सक्ने चेतावनी दिँदै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

ट्रम्पको दाबी: इरानविरुद्धको कारबाही सफलताको नजिक

0

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानविरुद्ध जारी सैन्य कारबाही सफलताको नजिक पुगेको दाबी गरेका छन्। बिहीबार बिहान ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दै उनले अमेरिकी सैन्य उद्देश्यहरू पूरा हुने क्रममा रहेको र छिट्टै अभियान सम्पन्न हुने बताएका हुन्।

सम्बोधनका क्रममा ट्रम्पले एक महिनाअघि सुरु भएको युद्धले इरानको सैन्य संरचनामा गम्भीर क्षति पुगेको दाबी गरे। उनका अनुसार इरानी नौसेना निष्क्रिय भएको, वायुसेना कमजोर बनेको र शीर्ष नेतृत्वमा ठूलो क्षति पुगेको छ। साथै, इरानको क्षेप्यास्त्र र मानवरहित उड्ने यन्त्र (ड्रोन) क्षमतामा उल्लेखनीय कमी आएको उनको भनाइ थियो।

ट्रम्पले सन् २०२५ असारमा सञ्चालन गरिएको ‘मध्यरात प्रहार अभियान’ अन्तर्गत इरानका प्रमुख आणविक केन्द्रहरू पूर्ण रूपमा ध्वस्त पारिएको दाबी गरे। उनले इरान आणविक हतियार निर्माणको नजिक पुगेको उल्लेख गर्दै पूर्व राष्ट्रपति बराक ओबामा को कार्यकालमा भएको आणविक सम्झौतालाई “ठूलो गल्ती” भने।

क्षेत्रीय सुरक्षाका विषयमा उनले इजरायल र खाडी मुलुकहरूलाई अमेरिकाले सधैं साथ दिने प्रतिबद्धता व्यक्त गरे। साथै, हर्मुज जलसन्धिको सुरक्षामा सहयोगी राष्ट्रहरूले थप सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए।

घरेलु सन्दर्भमा ट्रम्पले बढ्दो इन्धन मूल्यका लागि इरानलाई जिम्मेवार ठहर्‍याए। उनले भेनेजुएलाको उदाहरण दिँदै त्यहाँ निकोलस मादुरो विरुद्धको सैन्य हस्तक्षेप सफल भएको दाबी गर्दै अहिले अमेरिका–भेनेजुएला सम्बन्ध व्यापारिक साझेदारीतर्फ अघि बढिरहेको बताएका छन्।

एसइई परीक्षा आजदेखि सुरु: ५ लाखभन्दा बढी विद्यार्थी सहभागी

0

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज (बिहीबार)देखि देशभर सुरु हुँदैछ।

राष्ट्रिय परीक्षा बोर्ड का अनुसार यस वर्ष ५ लाख १२ हजार ४२१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। तीमध्ये प्राविधिक धारतर्फ १६ हजार ३१२ जना र आंशिक (पार्सियल) तर्फ २६४ जना विद्यार्थी रहेका छन्।

बोर्डका अनुसार परीक्षा बिहान ८ बजेदेखि देशका ७७ वटै जिल्लामा एकसाथ सञ्चालन हुनेछ।

परीक्षालाई व्यवस्थित, मर्यादित र निष्पक्ष बनाउन आवश्यक सबै तयारी पूरा गरिएको बोर्डले जनाएको छ।

नयाँ संसद् अधिवेशन आजदेखि: पहिलो बैठकमा अध्यादेश प्रस्तुत हुने

0

काठमाडौँ, १९ चैत । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि सङ्घीय संसद्को पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ। सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय कक्षमा आज दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक बस्ने तय गरिएको छ।

राष्ट्रपति रामचन्द्र पौडेल ले चैत १६ गते मन्त्रिपरिषद्को सिफारिसमा संविधानबमोजिम आजका लागि सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक तथा जनशक्तिसहित सम्पूर्ण तयारी पूरा भइसकेको छ। राष्ट्रियसभाको बैठक भने सङ्घीय संसद् सचिवालयस्थित आफ्नै कक्षमा बस्नेछ।

संविधानअनुसार प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संसद् अधिवेशन बोलाउनुपर्ने व्यवस्था छ। निर्वाचन आयोगले चैत ५ गते अन्तिम परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएको थियो।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेकपा (एमाले) का २५, नेकपा का १७, श्रम संस्कृति पार्टीका सात, राप्रपाका पाँच र एक स्वतन्त्र सांसद रहेका छन्।

पहिलो बैठकमा तीन अध्यादेश

आजको बैठकमा तीन वटा अध्यादेश पेस हुने सम्भावित कार्यसूची छ। गृहमन्त्री सुधन गुरुङ ले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने कार्यक्रम रहेको छ।

बैठकको प्रारम्भमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसी ले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्र तथा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी विवरण पढेर सुनाउनुहुनेछ।

साथै, प्रतिनिधिसभाले नयाँ नियमावली नबनाएसम्मका लागि हालको प्रतिनिधिसभा नियमावली, २०७९ अनुसार कामकारबाही सञ्चालन गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

बैठकमा सभामुखको अनुपस्थितिमा अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गरिनेछ भने विभिन्न दलका सांसदहरूले अधिवेशन प्रारम्भको अवसरमा मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ।

यसै बैठकबाट सभामुख पदको निर्वाचनका लागि मिति तोकिनेछ।

शोक प्रस्ताव पनि प्रस्तुत हुने

बैठकको अन्त्यमा सभामुखले संविधानसभा तथा संसद्का पूर्व सदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताव आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र बलदेव बोहोराप्रति श्रद्धाञ्जलिस्वरूप शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

आजको विनिमयदर: डलर १५२ नजिक, कुन मुद्रा कति?

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।

बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३७ पैसा कायम भएको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।

स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८५ पैसा रहेको छ। अष्ट्रेलियन डलर एकको खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ०८ पैसा र बिक्रीदर ११८ रुपैयाँ ५५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा कायम भएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४० रुपैयाँ ५२ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७१ पैसा तोकिएको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ २४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा कायम भएको छ।

साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा रहेको छ भने स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ १३ पैसा र बिक्रीदर १६ रुपैयाँ १९ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ५१ पैसा र बिक्रीदर २३ रुपैयाँ ६० पैसा तोकिएको छ।

यसैगरी, हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १९ रुपैयाँ ४० पैसा, कुवेती दिनार एकको खरिददर ४९३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ४९५ रुपैयाँ ६५ पैसा कायम गरिएको छ। बहराइन दिनार एकको खरिददर ४०१ रुपैयाँ ११ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ७१ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९४ रुपैयाँ ९६ पैसा तोकिएको छ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरेको जनाएको छ।

पश्चिमी वायुको प्रभाव: पहाड–हिमालमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। अहिले कोशी र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

दिउँसो हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य हिमाली भूभागमा आंशिक बदली रहनेछ भने पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैबीच गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा रातिको समयमा पनि मेघगर्जन, चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।