Tuesday, June 2, 2026
Homeअन्तराष्ट्रियपश्चिम एसियामा युद्धको भयावहता: मृत्यु संख्या ५ हजार नाघ्यो

पश्चिम एसियामा युद्धको भयावहता: मृत्यु संख्या ५ हजार नाघ्यो

तेहरान । अमेरिका र इजरायलसँग इरानको जारी युद्धमा ज्यान गुमाउनेहरूको संख्या ५ हजार नाघेको छ। विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले संकलन गरेको तथ्याङ्कअनुसार सार्वजनिक विवरणले पश्चिम एसियामा मानवीय क्षति तीव्र रूपमा बढिरहेको देखाएको छ।

सबैभन्दा बढी क्षति इरानमा भएको छ, जहाँ हालसम्म ३ हजार ५ सय १९ जनाको मृत्यु भइसकेको छ। मानवअधिकारसम्बन्धी संस्था हरानाका अनुसार मृतकमध्ये १ हजार ५ सय ९८ जना सर्वसाधारण रहेका छन्, जसमा २४४ बालबालिका समेत समावेश छन्। साथै, उद्धार संस्थाहरूका अनुसार करिब १९ हजार मानिस घाइते भएका छन्।

युद्धको प्रभाव इरानमा मात्र सीमित नरही लेबनान, इराक र अन्य छिमेकी देशहरूमा पनि फैलिएको छ। लेबनानमा इजरायली आक्रमणबाट हालसम्म १ हजार ३ सय १८ जनाको मृत्यु भएको छ, जसमा १२४ बालबालिका रहेका छन्। त्यहाँ ४ सयभन्दा बढी सशस्त्र समूहका लडाकु मारिएका छन् भने ड्युटीमा रहेका ९ लेबनानी सैनिक र संयुक्त राष्ट्रसंघका ३ शान्ति सैनिकले पनि ज्यान गुमाएका छन्।

इराकमा पनि अवस्था तनावपूर्ण रहेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार इरानसमर्थित मिलिसिया, कुर्दिस लडाकु तथा केही विदेशी सदस्यसहित १०७ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

इरान र लेबनानबाट प्रहार गरिएका क्षेप्यास्त्रका कारण इजरायलमा हालसम्म १९ जनाको मृत्यु भएको छ। इजरायली सेनाका अनुसार दक्षिणी लेबनानमा आफ्ना १० सैनिक मारिएका छन् भने सीमा क्षेत्रमा आफ्नै असावधानीका कारण एक किसानले ज्यान गुमाएका छन्।

युद्धमा प्रत्यक्ष संलग्न अमेरिकाले पनि आफ्ना १३ सैनिक गुमाएको जनाएको छ। तीमध्ये केही इराकमा भएको विमान दुर्घटना र केही इरानमा भएका सैन्य कारबाहीका क्रममा मारिएका हुन्।

यस युद्धको प्रभाव खाडी क्षेत्रका अन्य देशहरूमा पनि देखिन थालेको छ। संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, वेस्ट बैंक र सिरियासहित अन्य स्थानहरूमा पनि मानवीय क्षति भएको विवरण सार्वजनिक भएको छ।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले मृत्यु संख्या अझै बढ्न सक्ने चेतावनी दिँदै गम्भीर चिन्ता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका