Saturday, September 5, 2026
Homeमुख्य समाचारबेत्रावतीमा ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धारले नयाँ आशा जगाएको प्रधानमन्त्री...

बेत्रावतीमा ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धारले नयाँ आशा जगाएको प्रधानमन्त्री शाहको भनाइ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नुवाकोटको बेत्रावतीमा बाढी आएको ११ दिनपछि ६४ वर्षीया चन्डिका श्रेष्ठको जीवितै उद्धार हुनुले सिङ्गो देशमा नयाँ आशा जगाएको बताएका छन्।

शनिबार राति सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार टोली अझै निरन्तर र दृढताका साथ खटिरहेको सन्देश श्रेष्ठको उद्धारले दिएको बताएका हुन्।

नुवाकोटको विदुर नगरपालिका–१०, बेत्रावतीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले श्रेष्ठको जीवितै उद्धार गरेको थियो। घटनापछि प्रधानमन्त्री शाहले राज्यका संयन्त्र खोज तथा उद्धारमा अहोरात्र खटिरहेको बताएका छन्। उनले यसअघि पनि प्रभावित क्षेत्रबाट सोही उमेर समूहका धेरै ज्येष्ठ नागरिकको सफल उद्धार गरिएको उल्लेख गरेका छन्।

बाढी तथा पहिरोको विपत्तिका बीच ज्येष्ठ नागरिकहरूले देखाएको साहसको स्मरण गर्दै प्रधानमन्त्री शाहले कठिन परिस्थितिमा आफ्ना नातिनातिनाको ज्यान जोगाउन वृद्धवृद्धाले देखाएको हिम्मतका घटना हृदयविदारक रहेको बताएका छन्।

उनले बाढीका कारण वृद्धाश्रममा आश्रय लिइरहेका ज्येष्ठ नागरिकसमेत विस्थापित हुनुपरेको उल्लेख गर्दै संकटको यस घडीमा ज्येष्ठ नागरिकलाई नआत्तिन आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले ज्येष्ठ नागरिकलाई राज्य र सरकार उनीहरूको साथमा रहेको आश्वासन दिँदै जीवनको कठिन अवस्थामा उनीहरूलाई कहिल्यै अलपत्र नछोड्ने बताएका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका