Thursday, June 18, 2026
Home Blog Page 30

मदन भण्डारी फाउन्डेसनमार्फत ओली नेतृत्वमाथि तीव्र प्रश्न

0

विराटनगर । नेकपा एमाले भित्र नेतृत्वको कार्यशैलीलाई लिएर असन्तुष्टि बढिरहेका बेला मदन भण्डारी फाउन्डेसन ले विराटनगरमा आयोजना गरेको कार्यशालामा अध्यक्ष केपी शर्मा ओली को कार्यशैलीमाथि खुला आलोचना भएको छ।

फाउन्डेसनका केन्द्रीय अध्यक्ष डोरमणि पौडेल ले उद्घाटन गरेको ‘सुशासन, समृद्धि र दिगो विकास’ विषयक कार्यशालामा विषयगत छलफलभन्दा पनि एमाले नेतृत्व र पार्टीभित्रको आन्तरिक लोकतन्त्रबारे बढी बहस भएको सहभागीहरूले बताएका छन्।

कार्यक्रममा प्रस्तुत राजनीतिक कार्यपत्रमा नेता सुबोधराज प्याकुरेल ले ‘आजको एमालेः चुनौती र समाधान’ शीर्षकमा पार्टीभित्र सामूहिक नेतृत्व कमजोर हुँदै गएको, खुला बहसको परम्परा समाप्त भएको तथा नेतृत्वमा व्यक्तिवाद हाबी भएको टिप्पणी गरेका थिए।

उनले पार्टी पुनर्जागरणका लागि दुई कार्यकालको सीमा, उम्मेदवार चयनमा प्राइमरी निर्वाचन, भ्रष्टाचारमा शून्य सहनशीलतालगायत आठ बुँदे सुधार प्रस्ताव पनि अघि सारे।

कार्यक्रममा सहभागी नेताहरूले नेतृत्व शैली नसुधारिए एमालेको अवस्था भारतको पश्चिम बंगालस्थित कम्युनिस्ट आन्दोलनजस्तै कमजोर हुन सक्ने चेतावनी दिएका थिए। फाउन्डेसनका प्रदेश उपाध्यक्ष तथा प्रदेशसभा सदस्य विजय राई ले व्यक्तिवादी नेतृत्वले पार्टीलाई संकटतर्फ धकेल्ने बताएका थिए।

सहभागीहरूले पार्टीको सुशासनको नारा व्यवहारमा लागू हुन नसकेको तथा नेतृत्वले जनवर्गीय संगठनहरूमा अत्यधिक हस्तक्षेप गरेको आरोप समेत लगाए।

फाउन्डेसनलाई अब केवल बौद्धिक बहसको थलोमा सीमित नराखी संगठनात्मक रूपमा वडा तहसम्म विस्तार गर्ने रणनीति बनाइएको पनि कार्यक्रममा सहभागी नेताहरूले बताएका छन्।

कार्यक्रममा घनश्याम खतिवडा, जीवन घिमिरे, ऋषिकेश पोखरेल लगायत नेताहरूको उपस्थिति रहेको थियो।

यसैबीच, विराटनगरमै सम्पन्न कार्यक्रममा गोपाल गुरागाईँको संयोजकत्वमा ३७ सदस्यीय तेस्रो प्रदेश अधिवेशन आयोजक समिति गठन गरिएको छ।

पोखरा बसपार्कका अवैध संरचना हटाउन १५ दिने अल्टिमेटम

0
Gemini AI created image

गण्डकी । पोखरा उपत्यका नगर विकास समिति ले पोखरा बसपार्क क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका पसल, कबल तथा अन्य भौतिक संरचना १५ दिनभित्र हटाउन कडा सार्वजनिक सूचना जारी गरेको छ।

समितिले पोखरा बसपार्क अन्तर्गत पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गको दक्षिण, विमानस्थलको उत्तर तथा पूर्वतर्फ सेती नदी क्षेत्रभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन व्यवसायी तथा सरोकारवालालाई निर्देशन दिएको हो।

समितिका अनुसार तोकिएको समयभित्र सम्बन्धित व्यक्तिले आफैं संरचना नहटाएमा समिति आफैंले डोजर प्रयोग गरी हटाउनेछ। त्यस क्रममा लाग्ने सम्पूर्ण प्राविधिक तथा प्रशासनिक खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गरिने चेतावनी सूचनामा उल्लेख गरिएको छ।

यसैबीच, बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका वास्तविक जग्गाधनीलाई आफ्नो हकदाबी पुष्टि गर्न सात दिनभित्र आवश्यक कागजात पेश गर्न पनि आग्रह गरिएको छ। नागरिकता, जग्गाधनी प्रमाणपुर्जा, चालु आर्थिक वर्षको कर तिरेको रसिदलगायत कागजात समितिको कार्यालयमा बुझाउनुपर्ने जनाइएको छ।

यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिका ले पनि ३५ दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन आग्रह गरेको थियो। उक्त समयसीमा समाप्त भएसँगै नगर विकास समितिले थप कडा कदम चाल्दै नयाँ अल्टिमेटम जारी गरेको हो।

दीर्घकालीन रूपमा आधुनिक र सुविधासम्पन्न केन्द्रीय बसपार्क निर्माण गर्ने उद्देश्यले सरकारले विसं २०३१/३२ तिर करिब २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर वर्षौंदेखिको अतिक्रमणका कारण अहिले उक्त क्षेत्र खुम्चिएर करिब ६० रोपनीमा सीमित भएको बताइएको छ।

महानगरपालिकाको तथ्यांकअनुसार बसपार्क क्षेत्रको जग्गामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवारले स्थायी तथा अस्थायी संरचना बनाएर बसोबास गरिरहेका छन्।

स्थानीय प्रशासनले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उचित व्यवस्थापनसहित अतिक्रमित जग्गा खाली गराएर आधुनिक बसपार्क निर्माण प्रक्रिया अगाडि बढाइने जनाएको छ।

काभा महिला भलिबलः सेमिफाइनल लक्ष्यसहित आज माल्दिभ्सविरुद्ध नेपाल

0

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह चरणको आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपाल ले आज माल्दिभ्स सँग प्रतिस्पर्धा गर्दैछ।

नेपाल र माल्दिभ्सबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहल मा साँझ ५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रसारण हिमालय स्पोर्ट्स टेलिभिजनमार्फत गरिनेछ।

नेपालले यसअघि खेलेका दुई खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ। नेपाल ४ अंकसहित समूहको दोस्रो स्थानमा रहेको छ भने लगातार दुई खेलमा पराजित माल्दिभ्स समूह चरणबाट बाहिरिसकेको छ।

तुलनात्मक रूपमा कमजोर मानिएको माल्दिभ्सलाई हराउँदै सेमिफाइनल यात्रा सुनिश्चित गर्ने लक्ष्य नेपाली टोलीको रहेको छ। यदि नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेमा नेपालको ७ अंक पुग्नेछ र अर्को खेलको नतिजा कुर्नुपर्ने अवस्था रहने छैन।

नेपाल पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी भारत सँग पाँच सेटसम्म पुगेको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो। तर दोस्रो खेलमा किर्गिस्तान लाई सोझो सेटमा हराउँदै नेपालले सेमिफाइनल सम्भावना बलियो बनाएको हो।

समूहमा भारत ५ अंकसहित शीर्ष स्थानमा छ भने किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा रहेको छ।

नयाँ कप्तान निरुता ठगुन्ना को नेतृत्वमा रहेको नेपाली टोलीमा यसपटक युवा खेलाडीहरूको बाहुल्य रहेको छ। टोलीमा समावेश ६ नयाँ खेलाडीमध्ये ५ जनाले राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छन्।

आजै समूह ‘बी’ अन्तर्गत मध्यान्ह १२ बजे इरानश्रीलंका बीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो २ः३० बजे काजाखस्तानबंगलादेश बीच खेल हुनेछ।

इरान–अमेरिका युद्धविराम सम्झौता अन्तिम चरणमा पुगेको ट्रम्पको दाबी

0

काठमाडौं । डोनाल्ड ट्रम्प ले इरान सँग युद्ध अन्त्य गर्ने उद्देश्यले तयार गरिएको प्रारम्भिक सम्झौता अन्तिम चरणमा पुगेको दाबी गरेका छन्।

ट्रम्पका अनुसार अमेरिका, इरान र मध्यस्थकर्ताको भूमिकामा रहेका विभिन्न राष्ट्रबीच अधिकांश विषयमा सहमति भइसकेको छ भने अब अन्तिम रूप दिन मात्र बाँकी रहेको छ।

इरान–अमेरिका तनाव गम्भीर मोडमा पुगेका बेला असिम मुनिर तेहरान पुगेर राजनीतिक तथा सैन्य नेतृत्वसँग छलफल गरेका थिए। त्यसपछि ट्रम्पले आइतबार सम्झौताका अधिकांश सर्तमा सहमति भएको घोषणा गरेका हुन्।

प्रस्तावित प्रारम्भिक ढाँचाअनुसार अमेरिका र इरानबीच ३० दिनको वार्ता अवधि रहनेछ। आवश्यक परे उक्त अवधि थप एक महिनासम्म लम्ब्याउन सकिने व्यवस्था पनि रहने बताइएको छ।

द वाल स्ट्रिट जर्नल का अनुसार सम्झौताको मुख्य उद्देश्य युद्ध रोक्नु, अस्थायी कूटनीतिक ढाँचा तयार गर्नु तथा विश्व तेल आपूर्तिको महत्वपूर्ण मार्ग स्ट्रेट अफ हर्मुज सञ्चालनमा ल्याउनु हो।

ट्रम्पले भनेका छन्, “अमेरिका, इरान र मध्यस्थ राष्ट्रहरूबीच अधिकांश सर्तमा सहमति भइसकेको छ, अन्तिम विवरण छिट्टै सार्वजनिक गरिनेछ।”

सम्झौताअन्तर्गत इरानले हर्मुज जलमार्ग अस्थायी रूपमा खुला राख्ने र युद्धविरामको वातावरण बनाउने चर्चा छ। त्यसको बदलामा अमेरिकाले इरानमाथिका केही प्रतिबन्ध खुकुलो बनाउने तथा वार्ता जारी रहँदा समुद्री मार्गमा अवरोध नहुने सुनिश्चितता दिने तयारी गरेको बताइएको छ।

यद्यपि, यो अझै प्रारम्भिक ढाँचा मात्र भएकाले दुवै पक्षबीच विस्तृत वार्ता जारी रहने जनाइएको छ।

द न्यूयोर्क टाइम्स का अनुसार प्रस्तावित सम्झौतामा इरानले आफ्नो उच्च प्रशोधित युरेनियम भण्डार त्याग्न प्रारम्भिक सहमति जनाएको छ।

अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै प्रकाशित रिपोर्टअनुसार इरानसँग ६० प्रतिशतसम्म प्रशोधित करिब ४०० किलो युरेनियम रहेको अनुमान गरिएको छ। उक्त युरेनियम भण्डारको व्यवस्थापन कसरी गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।

अमेरिकी अधिकारीहरूले यसलाई सम्झौताको सबैभन्दा संवेदनशील र निर्णायक विषयका रूपमा लिएका छन्।

यसबीच इसराइल मा भने प्रस्तावित सम्झौताप्रति चासो र असन्तुष्टि दुवै देखिएको छ। वार्ताको प्रत्यक्ष पक्ष नभएकाले अन्तिम चरणमा मात्र जानकारी पाएको भन्दै इसराइल असन्तुष्ट रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

नेपाल एयरलाइन्स सञ्चालक नियुक्ति विवादमा

0

काठमाडौं । नेपाल एयरलाइन्स को सञ्चालक समिति सदस्य पदमा गरिएको नियुक्ति विवादमा तानिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय ले वैशाख ३१ गते कास्कीका डा. दीपक प्रसाद बास्तोला, चितवनका प्रविन भट्टराई, ललितपुरका महेश्वर भक्त श्रेष्ठ, काठमाडौंकी रुपा लामिछाने र स्याङ्जाका लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गरेको थियो।

उक्त नियुक्तिपछि प्रक्रिया, योग्यता र चयन मापदण्डलाई लिएर विभिन्न तहमा प्रश्न उठ्न थालेका छन्।

एमाले सचिवालय बैठक आज पनि बस्दै, उठेका प्रश्नमा अध्यक्ष ओलीले जवाफ दिने

0

काठमाडौं । नेकपा एमाले को केन्द्रीय सचिवालय बैठक आज पनि बस्ने भएको छ। बैठक बिहान ११ः३० बजे अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा बस्ने तय भएको हो।

बैठकमा सचिवालय सदस्यहरूले उठाएका विभिन्न प्रश्न र धारणा सम्बन्धमा अध्यक्ष ओलीले आज जवाफ दिने कार्यक्रम रहेको बताइएको छ।

यसअघि शुक्रबार र शनिबार बसेको बैठकमा महासचिव, उपमहासचिव तथा सचिवहरूले समसामयिक राजनीतिक विषय र पार्टी गतिविधिबारे आफ्ना धारणा प्रस्तुत गरेका थिए।

चीनमा फेरि देखियो दुर्लभ जंगली सेतो पाण्डा, स्वस्थ र सक्रिय अवस्थामा भेटियो

0

एजेन्सी । चीन को दक्षिणपश्चिमी सिचुआन प्रान्त मा विश्वकै दुर्लभ जंगली सेतो पाण्डा फेरि देखिएको छ।

विशाल पाण्डा राष्ट्रिय निकुञ्जअन्तर्गत पर्ने वोलोङ क्षेत्रमा हिउँले ढाकिएको जंगल र बाँसका बगैंचाबीच उक्त सेतो पाण्डा घुमिरहेको अवस्थामा क्यामेरामा कैद गरिएको हो।

सन् २०१९ मा पहिलो पटक फेला परेको यो दुर्लभ अल्बिनो विशाल पाण्डा अहिले स्वस्थ, बलियो र जंगली वातावरणमा पूर्ण रूपमा अनुकूल भएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

अनुसन्धान टोलीका अनुसार सन् २०२४ देखि २०२६ बीच रेकर्ड गरिएको भिडियो फुटेजले यस दुर्लभ जनावरको वृद्धि, व्यवहार र बाँच्न सक्ने क्षमताबारे महत्वपूर्ण जानकारी दिएको छ। (सीसीटीभीप्लस)

लुम्बिनी प्रदेशसभा बैठक आज बस्दै, विनियोजन विधेयकमाथि मन्त्री कार्कीले जवाफ दिने

0

लुम्बिनी । लुम्बिनी प्रदेशसभा को आठौँ अधिवेशनअन्तर्गत पाँचौँ बैठक आज दिउँसो १ बजे बस्ने भएको छ।

प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन्।

त्यसपछि आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की ले विनियोजन विधेयक, २०८३ का सिद्धान्त र प्राथमिकतामाथि भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको सचिवालयले जनाएको छ।

युवामा बढ्दो हृदयघात जोखिमः समयमै परीक्षण नगर्दा बढ्दै असामयिक मृत्यु

0

काठमाडौं । नेपालमा पछिल्लो समय वृद्धवृद्धामात्र होइन, युवायुवतीमा समेत हृदयघात र मुटुरोगको समस्या तीव्र रूपमा बढ्न थालेको छ। जनचेतनाको कमी, अनियमित जीवनशैली तथा समयमै स्वास्थ्य परीक्षण नगर्ने प्रवृत्तिका कारण मुटुरोगबाट हुने असामयिक मृत्यु बढ्दो क्रममा रहेको चिकित्सकहरू बताउँछन्।

विश्वभरकै प्राणघातक रोगमध्ये मुटुरोग अग्रस्थानमा रहने गरेको छ भने नेपालमा पनि मृत्युका प्रमुख कारणमध्ये मुटुरोग एक बनेको छ। प्रारम्भिक लक्षणलाई बेवास्ता गर्ने, नियमित जाँच नगर्ने तथा उपचारमा ढिलाइ गर्ने कारण धेरै बिरामी जटिल अवस्था पुगेपछि मात्र अस्पताल पुग्ने गरेका छन्।

यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा मुटुरोग विशेषज्ञ डा. मिलन श्रेष्ठ ले मुटुमा ब्लक भएको शंका लागेमा सुरुमा ट्रेडमिल टेस्ट (TMT) गरिने बताए।

उनले भने, “सुरुमा मुटुमा ब्लक छ वा छैन भन्ने शंका लागेमा ट्रेडमिल टेस्ट गरिन्छ। यदि त्यसको रिपोर्टमा समस्या देखियो वा ब्लक भएको आशंका भयो भने एन्जियोग्राम गर्न सल्लाह दिइन्छ।”

उनका अनुसार मुटुको रक्तनलीमा अवरोध भएको पुष्टि गर्न एन्जियोग्राफी गरिन्छ। यो परीक्षण क्याथल्याबमा विशेष प्रविधिबाट गरिने उनले बताए।

डा. श्रेष्ठका अनुसार एन्जियोग्राम गर्दा हातबाट सानो तार छिराएर मुटुको रक्तनलीसम्म पुर्‍याइन्छ र विशेष औषधि प्रयोग गरी क्यामेरामार्फत रक्तनलीको अवस्था हेर्ने गरिन्छ। यसबाट ब्लक कहाँ र कति छ भन्ने स्पष्ट रूपमा पत्ता लगाउन सकिन्छ।

उनले भने, “मुटुमा ब्लक भएको संकेत देखिएमा त्यसलाई पोजेटिभ टेस्ट मानिन्छ। त्यसपछि एन्जियोग्राफी गरेर ब्लकको अवस्था हेर्छौं। यदि ब्लक देखिएमा सोही आधारमा उपचार गरिन्छ।”

उनका अनुसार मुटुको ब्लक जाँच गर्ने प्रक्रियालाई एन्जियोग्राम भनिन्छ भने ब्लक खोल्ने उपचारलाई एन्जियोप्लास्टी भनिन्छ। आवश्यक परेमा स्टेन्टसमेत राखिने उनले जानकारी दिए।

डा. श्रेष्ठले यो प्रक्रिया धेरै जटिल नभएको उल्लेख गर्दै बिरामीलाई धेरै पीडा नहुने र सामान्यतया १० देखि १५ मिनेटमै परीक्षण सम्पन्न गर्न सकिने बताए।

उनले भने, “विशेष ल्याबमा बिरामीलाई सुताएर क्यामेरा र विशेष उपकरणको सहायताले मुटु तथा रक्तनलीको अवस्था हेरिन्छ। स्क्रिनमा आएको इमेज विश्लेषण गरेर ब्लक छ वा छैन भन्ने पत्ता लगाइन्छ। यदि ब्लक भएमा यही प्रविधिबाट एन्जियोप्लास्टी गरी उपचार पनि गरिन्छ।”

पश्चिमी वायुको प्रभावः देशका विभिन्न क्षेत्रमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

0

काठमाडौं । नेपालमा अहिले पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कायम रहेको छ। यसको असरका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको मौसमविद्ले बताएका छन्।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने मधेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ। तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा एक–दुई स्थानमा वर्षासँगै हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यसैबीच, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने चेतावनी पनि दिइएको छ।

आज राति भने कोशी प्रदेशसहित अन्य हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।