Monday, May 4, 2026
Home Blog Page 29

पश्चिमका चार प्रदेशमा भारी वर्षाको चेतावनी, देशभर मौसम बदली

0

काठमाडौँ । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशमा पूर्णतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान गरिएको छ।

यी चार प्रदेशका धेरै स्थानहरूमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा पनि थोरै स्थानहरूमा वर्षा हुन सक्ने जनाइएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षा र हिमपातको समेत सम्भावना रहेको छ। त्यस्तै, मधेश, लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, मधेश, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा पहाडी र हिमाली भूभागका क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ भने तराईका थोरै स्थानहरूमा पनि वर्षा हुन सक्नेछ।

टेलिकम डाटा सेवा सुधार: प्याकेज सकिँदा अब स्वतः ब्यालेन्स कट्ने छैन

0

काठमाडौँ । नेपाल टेलिकमले डाटा प्याकेजसम्बन्धी सेवामा सुधार गर्दै प्याकेज सकिएपछि स्वतः मोबाइल ब्यालेन्स कट्ने व्यवस्था अन्त्य गरेको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार अब ग्राहकको डाटा प्याकेज ९० प्रतिशत खपत भएपछि एसएमएस तथा मोबाइल एपमार्फत पूर्वसूचना पठाइनेछ। त्यसपछि ग्राहकलाई आवश्यकताअनुसार प्याकेज पुनः नवीकरण गर्न अनुरोध गरिने व्यवस्था लागू गरिएको छ।

यसअघि डाटा प्याकेज सकिएलगत्तै स्वतः मुख्य ब्यालेन्सबाट रकम कट्ने गुनासो बढेपछि मन्त्रालयले उक्त व्यवस्था हटाउने निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार ग्राहकले चाहेमा मात्र ‘पे एज यू गो’ प्रणाली प्रयोग गर्न सक्नेछन्।

यो प्रणाली प्रयोग गर्न इच्छुक ग्राहकले *444# डायल गरी सेवा सक्रिय वा निष्क्रिय गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।

किरण पण्डित राष्ट्र बैंकका डेपुटी गभर्नर, पदभार सम्हाले

0

काठमाडौँ । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर किरण पण्डितले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरी आफ्नो कार्यभार सम्हालेका छन्।

गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष शपथ लिएलगत्तै पण्डितले आफ्नो कार्यकक्षमा पदबहाली गरेका हुन्। नेपाल सरकारको २०८२ चैत २४ गतेको निर्णयअनुसार उनी डेपुटी गभर्नरमा नियुक्त भएका हुन्।

शपथ ग्रहण समारोहमा गभर्नर पौडेलले पण्डितलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेका थिए। पण्डितसँग राष्ट्र बैंकमा दुई दशकभन्दा लामो अनुभव रहेको छ। उनले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा सेवा सुरु गरेका थिए।

आफ्नो कार्यदक्षताका आधारमा उनी २०६८ मा उपनिर्देशक, २०७४ मा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।

कार्यकारी निर्देशकका रूपमा रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागजस्ता महत्वपूर्ण विभागहरूको नेतृत्व गरेका थिए। साथै, उनले केन्द्रीय प्रवक्ताको जिम्मेवारीसमेत निर्वाह गरिसकेका छन्।

प्रतिनिधिसभामा तीन विधेयक टेबुल, अर्को बैठक बुधबार

0

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा तीन वटा विधेयक टेबुल गरिएको छ।

मंगलबार बसेको बैठकमा हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएका ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ टेबुल गरेका हुन्।

अब प्रतिनिधिसभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बस्नेछ।

पेट्रोलियममा ५०% कर छुट, उपभोक्तालाई राहत दिने सरकारको निर्णय

0

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनावका कारण कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले स्थानीय उपभोक्तालाई राहत दिन पेट्रोलियम पदार्थमा लाग्ने करमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको प्रस्तावमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो।

निर्णयअनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा लाग्दै आएको भन्सार शुल्कमा ५० प्रतिशत छुट दिइनेछ। यसले नेपाल आयल निगममाथिको राजस्व भार केही कम हुने अपेक्षा गरिएको छ।

निगमका अनुसार हाल पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ भन्सार शुल्क लाग्दै आएकोमा अब साढे १२ रुपैयाँमा झर्नेछ। त्यस्तै, डिजेलमा प्रतिलिटर १२ रुपैयाँ रहेको भन्सार शुल्क घटेर ६ रुपैयाँ कायम हुनेछ।

भन्सार शुल्कसँगै पूर्वाधार करमा पनि ५० प्रतिशत छुट दिने निर्णय गरिएको छ। हाल प्रतिलिटर १० रुपैयाँ रहेको पूर्वाधार कर अब घटाएर ५ रुपैयाँ कायम गरिनेछ।

निगमका अनुसार हाल डिजेलमा प्रतिलिटर १२० रुपैयाँ र पेट्रोलमा ३४ रुपैयाँ घाटा भइरहेको छ। पछिल्लो एक महिनामा मात्र निगमलाई करिब ११ अर्ब रुपैयाँ घाटा व्यहोर्नुपरेको अधिकारीहरूले बताएका छन्।

गौशाला–पिंगलास्थानमा प्रहरीको गोली प्रहार, दुई भारतीय लागूऔषध कारोबारी पक्राउ

0

काठमाडौं । काठमाडौंको गौशाला–पिंगलास्थान क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी दुई जना लागूऔषध कारोबारीलाई पक्राउ गरेको छ।

सोमबार राति लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले कारबाहीका क्रममा गोली चलाएर दुई भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिनिधिसभा बैठक आज बस्दै, तीन विधेयक पेश हुने

0

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे सिंहदरबारमा हुने तय भएको छ।

आजको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१’, ‘पर्यटन विधेयक, २०८१’ र ‘चलचित्र विधेयक, २०८१’ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ चैत २५ देखि, सांस्कृतिक र साहसिक गतिविधिमा आकर्षण

0

सुनसरी । कोशी प्रदेश भ्रमण वर्ष–२०८२ को अवसरमा सुनसरीको वराहक्षेत्रमा ‘कोशी पर्यटन महोत्सव’ आयोजना हुने भएको छ। कोशी प्रदेश सरकारको सहयोगमा सञ्चालन हुने उक्त महोत्सव यही चैत २५ गतेदेखि २७ गतेसम्म आयोजना गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

सप्तकोशी नदी किनारलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्नुका साथै स्थानीय धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचारप्रसार र लोपोन्मुख कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको अध्यक्ष अङ्गत राईले बताए।

महोत्सव अवधिभर मौलिक सांस्कृतिक नृत्य तथा झाँकी प्रदर्शन गरिनुका साथै कोशी टप्पु वन्यजन्तु आरक्षमा वन्यजन्तु तथा चरा अवलोकन, रामधुनी मन्दिर दर्शन तथा बोराबाँधमा सूर्यास्त अवलोकन गराउने कार्यक्रम तय गरिएको सहसंयोजक भविश श्रेष्ठले जानकारी दिए।

साँझको समयमा लाखे नाच र धान नाच प्रस्तुत गरिनेछ। महोत्सवको अन्तिम दिन चैत २७ गते आन्तरिक तथा बाह्य पर्यटकलाई वराहक्षेत्र मन्दिर दर्शन गराइनेछ। त्यसपछि बोराबाँधसम्म ¥याफ्टिङ, जेट बोट, एटिभी राइडिङ, नौका सयर तथा बगर खेलकुदजस्ता साहसिक गतिविधि सञ्चालन गरिने आयोजकले जनाएको छ।

महोत्सवमा नेपालका विभिन्न स्थान, भारतसहित अन्य मुलुकका पर्यटक तथा विशिष्ट अतिथिको सहभागिता रहने अपेक्षा गरिएको छ। आगन्तुकहरूका लागि स्थानीय अर्गानिक परिकारको व्यवस्था गरिनेछ।

पर्यटन कार्यालय धरानका अधिकृत केशव फुयाँलले यस्ता कार्यक्रमले कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै कोशी किनारको पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे।

मालिका धुरी तीनतर्फबाट सडक सञ्जालमा जोडियो, धार्मिक पर्यटनमा नयाँ गति

0

म्याग्दी । म्याग्दीको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य मालिका धुरी अब तीनतर्फबाट सडक सञ्जालमा जोडिएको छ। समुद्री सतहदेखि करिब तीन हजार ४०० मिटर उचाइमा अवस्थित मालिका धुरी मालिका र रघुगंगा गाउँपालिकाको सिमानामा पर्छ।

मङ्गला गाउँपालिका–२ हिदीदेखि मालिकाको फेदीस्थित जुगेदेउरालीसम्म सडक मार्ग खुलेसँगै भक्तजन तथा पर्यटकका लागि यहाँ पुग्ने तेस्रो विकल्प थपिएको हो। यसअघि मालिका गाउँपालिकाको दरवाङ–बिम–बाइन्दफाँट हुँदै २०८० सालमा र रघुगंगा गाउँपालिकाको ठाडाखानी हुँदै २०८१ सालमा सडक सञ्जाल पुगेको थियो।

हिदीदेखि सुर्ती चढाउने डाँडा, गिद्रे देउराली र धौलेखर्क हुँदै जोगी देउरालीसम्म करिब ४.५ किलोमिटर सडक निर्माण गरिएको निर्माण समितिका अध्यक्ष थमप्रसाद पुनले जानकारी दिए। चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ३० लाख रुपैयाँ बजेटबाट २.५ किलोमिटर सडक निर्माण गरिएको र बाँकी खण्ड स्थानीय तथा देश–विदेशमा रहेका व्यक्तिहरूको सहयोगबाट निर्माण भइरहेको उनले बताए।

हाल सडकको ग्रेड मिलाउने र घुम्ती सुधार गर्ने काम भइरहेको छ। सम्पूर्ण काम सम्पन्न भएपछि आम्दानी–खर्च विवरण सार्वजनिक गरिने जनाइएको छ।

सडक सञ्चालनमा आएपछि हिदीबाट करिब एक घण्टामै मालिका पुग्न सकिनेछ भने बेनीबाट हिदी हुँदै करिब चार घण्टामा मालिका पुग्न सकिने भएको छ। यसअघि पैदल यात्रा गर्दा हिदीदेखि मालिका पुग्न चारदेखि पाँच घण्टा लाग्ने गरेको थियो।

मालिका धुरीबाट धौलागिरि र अन्नपूर्ण हिमश्रृंखलाका दर्जनौं हिमालहरू, सूर्योदय–सूर्यास्त, पहाडी भू–दृश्य र वनजंगलको अवलोकन गर्न सकिन्छ। चण्डी, जेठी र कार्तिक पूर्णिमामा विशेष पूजाआजा हुने यस मन्दिरमा मनोकामना पूरा हुने जनविश्वास रहेको छ। विसं १९१० देखि पूजाआजा सुरु भएको इतिहास बोकेको यस स्थानमा कालिका, मालिका र जालपादेवीका मूर्तिहरू रहेका छन्।

आजको विदेशी मुद्रा विनिमयदर सार्वजनिक, अमेरिकी डलर १४९ रुपैयाँ नजिक

0

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६० पैसा र बिक्रीदर १४९ रुपैयाँ २० पैसा तोकिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ५३ पैसा र बिक्रीदर १७२ रुपैयाँ २२ पैसा रहेको छ भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर १९७ रुपैयाँ ४७ पैसा कायम गरिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ ११ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०३ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६८ पैसा र बिक्रीदर ११६ रुपैयाँ १५ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ५९ पैसा र बिक्रीदर २१ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७४ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ७५ पैसा र बिक्रीदर ४० रुपैयाँ ९१ पैसा निर्धारण गरिएको छ।

त्यस्तै, थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४ रुपैयाँ ५९ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर ४० रुपैयाँ ६२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा तोकिएको छ। साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५ रुपैयाँ १५ रुपैयाँ ८४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९५ पैसा र बिक्रीदर २३ रुपैयाँ ०५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ। कुवेती दिनार एकको खरिददर ४८४ रुपैयाँ १२ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ०७ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ १६ पैसा र बिक्रीदर ३९५ रुपैयाँ ७६ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ५३ पैसा तोकिएको छ।

त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले आवश्यकतानुसार विनिमयदर जुनसुकै समयमा संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकहरूले तोक्ने दर फरक हुन सक्ने र अद्यावधिक जानकारी केन्द्रीय बैंकको वेबसाइटमार्फत उपलब्ध हुने पनि जनाइएको छ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 148.60 149.20
EUR  (European Euro) 1 171.53 172.22
GBP  (UK Pound Sterling) 1 196.68 197.47
CHF  (Swiss Franc) 1 186.11 186.86
AUD  (Australian Dollar) 1 102.91 103.32
CAD  (Canadian Dollar) 1 106.76 107.19
SGD  (Singapore Dollar) 1 115.68 116.15
JPY  (Japanese Yen) 10 9.31 9.35
CNY  (Chinese Yuan) 1 21.59 21.68
SAR  (Saudi Arabian Riyal) 1 39.58 39.74
QAR  (Qatari Riyal) 1 40.75 40.91
THB  (Thai Baht) 1 4.57 4.59
AED  (UAE Dirham) 1 40.46 40.62
MYR  (Malaysian Ringgit) 1 36.90 37.05
KRW  (South Korean Won) 100 9.88 9.92
SEK  (Swedish Kroner) 1 15.78 15.84
DKK  (Danish Kroner) 1 22.95 23.05
HKD  (Hong Kong Dollar) 1 18.96 19.04
KWD  (Kuwaity Dinar) 1 484.12 486.07
BHD  (Bahrain Dinar) 1 394.16 395.76
OMR  (Omani Rial) 1 385.97 387.53