Thursday, June 18, 2026
Home Blog Page 28

काठमाडौं महानगरको छात्रवृत्तिमा २६ हजारभन्दा बढी विद्यार्थीको आवेदन

0

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका विद्यालयहरूमा कक्षा ११ र १२ को छात्रवृत्तिका लागि २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन दिएका छन्।

आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ जना छात्रा तथा ६ जना अन्य रहेका छन्।

शिक्षा अधिकृत तथा परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार हालसम्म २३ हजार ४९९ आवेदन स्वीकृत भइसकेका छन्। ३ हजार ३०२ आवेदकको विवरण त्रुटिपूर्ण देखिएकाले मोबाइल र इमेलमार्फत सच्याउन सूचना पठाइएको छ। सम्बन्धित आवेदकले भोलि दिउँसो १२ बजेसम्म विवरण सच्याएर पुनः पेश गर्नुपर्नेछ।

अनलाइन आवेदनमा समस्या हुने अभिभावक तथा विद्यार्थीलाई सहयोग गर्न शिक्षा विभागमा सहायता कक्ष स्थापना गरिएको छ।

हालसम्म ८४ आवेदन अस्वीकृत भएका छन्। एउटै कागजात विभिन्न ठाउँमा राखिएको, अनावश्यक कागजपत्र अपलोड गरिएको वा आवश्यक विवरण नदिएको कारण आवेदन रद्द गरिएको विभागले जनाएको छ।

जेठ १३ गतेसम्म आवेदन स्वीकृत गर्ने प्रक्रिया जारी रहनेछ। स्वीकृत भएका आवेदकले जेठ १४ गते बिहान १० बजेदेखि प्रवेशपत्र डाउनलोड गरी रंगीन प्रिन्ट गर्न सक्नेछन्। परीक्षा केन्द्र तथा परीक्षा सम्बन्धी जानकारी प्रवेशपत्रमै उल्लेख हुनेछ।

आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषय रोजेका छन्। विज्ञानतर्फ १८ हजार ९९६, व्यवस्थापनमा ७ हजार २७१, कानुनमा ४०७, शिक्षामा १३५ तथा मानविकीमा ७९ जनाले आवेदन दिएका छन्।

कक्षा १० सम्मको छात्रवृत्तिका लागि वडा स्तरीय समितिले सिफारिस गर्ने व्यवस्था छ भने कक्षा ११ र १२ को छात्रवृत्तिका लागि शिक्षा विभागले परीक्षा सञ्चालन गरी नतिजाका आधारमा विद्यार्थी छनोट गर्नेछ।

परीक्षापछि प्रकाशित योग्यता क्रम र म्याचिङ सूचीका आधारमा नाम सिफारिस गरिनेछ। सिफारिस भएका विद्यार्थीहरूले कक्षा ११ र १२ मा कुनै पनि शैक्षिक शुल्क तिर्नु पर्ने छैन।

युरोपेली संघका राजदूतसँग प्रधानमन्त्री बालेन शाहको आज सामूहिक भेटवार्ता

0

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले युरोपेली संघ (इयू) मा आबद्ध देशका गैरआवासीय राजदूत तथा मिसन प्रमुखसँग आज संयुक्त भेटवार्ता गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ः३० बजे सामूहिक भेट तथा संवाद कार्यक्रम तय गरिएको छ।

प्रधानमन्त्री शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका अनुसार भेटवार्तामा नेपालको वर्तमान प्राथमिकता, द्विपक्षीय सम्बन्ध सुदृढ गर्ने विषय तथा विभिन्न सहकार्यका सम्भावनाबारे छलफल हुनेछ।

यसअघि पनि गत चैत २५ गते प्रधानमन्त्री शाहले नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखसँग सामूहिक भेट तथा संवाद गरेका थिए।

रामेछापको रज गाउँमा भीमसेनको गदा रहेको जनविश्वास

0

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–४ रज गाउँस्थित भीमसेन मन्दिरमा महाभारतकालीन भीमसेनको गदा रहेको स्थानीय जनविश्वास छ।

मन्दिरमा रहेका गदाका अवशेषलाई दर्शनार्थीहरूले पूजा गर्ने तथा बोकेर मन्दिरको तीन फन्को लगाउने परम्परा रहेको छ। स्थानीय विश्वासअनुसार दम तथा पेटसम्बन्धी समस्या भएका व्यक्तिले सास नरोकिई तीन पटक मन्दिर परिक्रमा गर्दा रोग निको हुने मान्यता छ।

मन्दिरमा हाल दुई वटा गदाका अवशेष छन्। एउटा सानो गदा मन्दिरभित्र त्रिशूलसँगै गाडिएको अवस्थामा छ भने अर्को ठूलो गदा भाँचिएको अवस्थामा मन्दिरको कुनामा राखिएको छ। दर्शनार्थीहरूले सोही ठूलो गदालाई बोकेर परिक्रमा गर्ने गर्दछन्।

स्थानीय बुढापाकाका अनुसार मन्दिरमा पहिले अर्को ठूलो गदा पनि रहेको थियो। तर २०४१ सालतिर मानसिक सन्तुलन गुमाएका एक व्यक्तिले उक्त गदा तामाकोसी नदीमा फालेपछि हराएको बताइन्छ।

किंवदन्तीअनुसार रज गाउँमा प्राचीन समयमा राजा बसोबास गर्दथे। गाउँमा रहेका पुराना इँटा तथा पानी ल्याउन बनाइएको कुलोलाई ऐतिहासिक मानिन्छ। अनुसन्धानबाट त्यहाँ प्रयोग भएका इँटा लिच्छविकालीन भएको पुष्टि भइसकेको स्थानीयहरूको भनाइ छ।

रज गाउँको ठीक सामुन्ने मन्थली नगरपालिका–६ मा रहेको हातिटार गाउँलाई राजाका हात्ती बाँध्ने स्थानका रूपमा चिनिने गरिन्छ। स्थानीय कथनअनुसार गोल्मा राजाहरूले यस क्षेत्रमा शासन गरेका थिए।

तर क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे विस्तृत अध्ययन हुन सकेको छैन। मन्दिर र गदाको उचित संरक्षण नहुँदा बाँकी रहेका अवशेषसमेत हराउने खतरा बढ्दै गएको स्थानीयहरूले बताएका छन्।

प्रतिनिधिसभा बैठक आज बस्दै, पर्यटन विधेयकलगायत विभिन्न प्रस्ताव पेश हुने

0

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।

संसद् सचिवालयका अनुसार बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

यस्तै प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन्।

बैठकमा ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ तथा ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३’ माथिको दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गरिने संसद् सचिवालयले जनाएको छ।

इरान–अमेरिका शान्ति वार्ताको संकेतसँगै अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र गिरावट

0

न्युयोर्क। अमेरिका र इरानबीच शान्ति वार्ता अघि बढ्ने संकेत देखिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सोमबार करिब ५ प्रतिशतले घटेको छ।

मध्यपूर्वमा तनाव कम हुने र तेल आपूर्तिमा अवरोध घट्ने अपेक्षासँगै लगानीकर्ताहरूले बिक्री बढाउँदा बजारमा तीव्र गिरावट आएको हो।

जुलाई महिनाको आपूर्तिका लागि पश्चिम टेक्सास मध्यवर्ती कच्चा तेलको मूल्य एक समय प्रति ब्यारेल ५.३५ अमेरिकी डलरले घटेर ९१.२५ डलरमा पुगेको थियो। त्यस्तै ब्रेन्ट कच्चा तेल पनि ५.५७ डलरले घटेर ९७.९७ डलर प्रति ब्यारेलमा झरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँगको शान्ति सम्झौता धेरै हदसम्म टुंगिएको भए पनि अन्तिम सहमतिका लागि थप छलफल आवश्यक रहेको बताएका थिए।

प्रस्तावित योजनामा ६० दिनको युद्धविराम विस्तार, हर्मुज जलडमरूमध्य पुनः सञ्चालन, इरानलाई पुनः तेल बिक्रीको अनुमति तथा इरानको आणविक कार्यक्रमबारे वार्ता गर्ने विषय समावेश छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानले हर्मुज जलडमरूमध्य पुनः खोल्ने कदम अघि बढाए अमेरिका आणविक कार्यक्रमसम्बन्धी गम्भीर वार्ताका लागि तयार रहेको बताएका छन्।

यसबीच इरानको इस्लामिक क्रान्तिकारी गार्डले पछिल्लो २४ घण्टामा ३३ वटा जहाज हर्मुज जलडमरूमध्य पार गरेको जनाएको छ, जसले उक्त मार्ग आंशिक रूपमा सञ्चालनमा रहेको संकेत गरेको छ।

ऊर्जा विश्लेषकहरूले भने युद्धअघिको अवस्थामा तेल आपूर्ति चाँडै फर्कन कठिन हुने बताएका छन्। उत्पादन संरचनामा क्षति, केही क्षेत्रमा उत्पादन अवरोध तथा ढुवानी समस्या अझै पूर्ण रूपमा समाधान नभएकाले बजारमा आपूर्ति–माग असन्तुलन केही समय कायम रहने उनीहरूको भनाइ छ।

इरान–अमेरिका वार्तामा केही मुद्दामा सहमति, सम्झौता अझै अनिश्चित

0
काठमाडौं । बीबीसी फारसी सेवाका अनुसार इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बगाईले अमेरिका र इरानबीच जारी वार्तामा केही मुद्दामा सहमति भएको पुष्टि गरेका छन्।

तर उनले तत्काल सम्झौतामा हस्ताक्षर हुने अवस्था नरहेको बताएका छन्।

यसअघि आइतबार इरानी सरकारी सञ्चारमाध्यमले दुई देशबीचको मतभेद अब ‘एक वा दुई’ मुद्दामा मात्र सीमित रहेको दाबी गरेका थिए।

बगाईले अमेरिकी अधिकारीहरूको विरोधाभासी अभिव्यक्ति तथा वार्ताका क्रममा अमेरिकाको विगतको आक्रामक भूमिकाका कारण सम्झौता प्रक्रियामा ढिलाइ भएको बताएका छन्।

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले दिल्लीमा पत्रकारहरूसँग कुरा गर्दै इरान र अमेरिका सोमबार नै युद्ध अन्त्यसम्बन्धी सम्झौतामा पुग्न सक्ने बताएका थिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आइतबार सम्झौता नजिक पुगेको बताएका थिए। तर पछि उनले सम्झौतामा पुग्न कुनै हतार नभएको प्रतिक्रिया दिएका छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा मुकेश डंगोल नियुक्त

0
काठमाडौं। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ।

सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको नेतृत्व दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।

डंगोल हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत छन्। उनले यसअघि प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन्।

प्राविधिक तथा प्रशासनिक रूपमा अनुभवी मानिएका डंगोलले पर्यटन मन्त्रालयमा शाखा अधिकृतका रूपमा काम गर्दै खुला प्रतिस्पर्धाबाट सहसचिव पद हासिल गरेका थिए।

नयाँ जिम्मेवारीसँगै उड्डयन क्षेत्रको सुरक्षा, सुशासन तथा व्यवस्थापकीय सुधारलाई प्रभावकारी बनाउने चुनौती अब डंगोलसमक्ष रहेको छ।

देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको अन्तरिम आदेश

0

काठमाडौं। सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई तत्काल पक्राउ नगर्न अन्तरिम आदेश जारी गरेको छ।

न्यायाधीश महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले पक्राउ पुर्जीविरुद्ध दायर रिटमाथि सुनुवाइ गर्दै उक्त आदेश दिएको हो। आदेशसँगै हाल हङकङमा रहेका देउवा दम्पतीलाई तत्काल पक्राउ गर्ने प्रक्रिया रोकिएको छ।

यसअघि सरकारले उनीहरूलाई पक्राउ गर्न अन्तर्राष्ट्रिय अपराध नियन्त्रण संगठन इन्टरपोलमार्फत पहल गरे पनि उक्त प्रयास सफल भएको थिएन।

गत जेठ ५ गते न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले सरकारका नाममा १५ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिँदै कारण देखाऊ आदेश जारी गरेको थियो। त्यसपछि अन्तरिम आदेश आवश्यक छ वा छैन भन्ने विषयमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो।

देउवा पक्षले सर्वोच्चमा दायर रिटमा सरकारको पक्राउ प्रक्रिया गैरकानुनी र अधिकारक्षेत्रविपरीत रहेको दाबी गरेको थियो। रिटमा आफूहरू सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा सहयोग गर्न तयार रहेको, सम्पत्तिको वैध स्रोत देखाउन सकिने तथा फरार हुने अवस्था नरहेको उल्लेख गरिएको थियो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर अनुसन्धान अघि बढाउन खोजे पनि सर्वोच्च अदालतको आदेशपछि तत्कालका लागि उक्त प्रक्रिया रोकिएको छ।

सहकारी बेथिति छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

0

काठमाडौं। सरकारले सहकारी क्षेत्रमा देखिएको बेथितिसम्बन्धी जाँचबुझ आयोग २०८२ को प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

उनका अनुसार बैठकले नेपाल–चीन विद्युत् प्रसारण लाइन आयोजना चिलिमे–केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाइने प्रतिउत्तर पत्र पनि स्वीकृत गरेको छ।

यस्तै, सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गर्ने निर्णय समेत गरेको प्रवक्ता पोखरेलले बताए।

युरोपेली २३ देशका राजदूतसँग प्रधानमन्त्री बालेन शाहको संयुक्त भेट आज

0

काठमाडौं। प्रधानमन्त्री बालेन शाहले मंगलबार युरोपका २३ देशका राजदूत तथा कूटनीतिज्ञसँग संयुक्त भेटवार्ता गर्ने भएका छन्।

यसअघि विदेशी राजदूतहरूलाई अलग–अलग भेट्ने परम्परा तोड्दै शाहले सामूहिक भेटवार्ताको अभ्यास सुरु गरेका थिए। उनको उक्त शैलीले कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।

भेटवार्तामा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूत सहभागी हुने जनाइएको छ।