काठमाडौं। सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्त गरेको छ।
सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले डंगोललाई प्राधिकरणको नेतृत्व दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका हुन्।
डंगोल हाल संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सहसचिवका रूपमा कार्यरत छन्। उनले यसअघि प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
प्राविधिक तथा प्रशासनिक रूपमा अनुभवी मानिएका डंगोलले पर्यटन मन्त्रालयमा शाखा अधिकृतका रूपमा काम गर्दै खुला प्रतिस्पर्धाबाट सहसचिव पद हासिल गरेका थिए।
नयाँ जिम्मेवारीसँगै उड्डयन क्षेत्रको सुरक्षा, सुशासन तथा व्यवस्थापकीय सुधारलाई प्रभावकारी बनाउने चुनौती अब डंगोलसमक्ष रहेको छ।