Friday, July 24, 2026
Homeसामाचाररामेछापको रज गाउँमा भीमसेनको गदा रहेको जनविश्वास

रामेछापको रज गाउँमा भीमसेनको गदा रहेको जनविश्वास

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिका–४ रज गाउँस्थित भीमसेन मन्दिरमा महाभारतकालीन भीमसेनको गदा रहेको स्थानीय जनविश्वास छ।

मन्दिरमा रहेका गदाका अवशेषलाई दर्शनार्थीहरूले पूजा गर्ने तथा बोकेर मन्दिरको तीन फन्को लगाउने परम्परा रहेको छ। स्थानीय विश्वासअनुसार दम तथा पेटसम्बन्धी समस्या भएका व्यक्तिले सास नरोकिई तीन पटक मन्दिर परिक्रमा गर्दा रोग निको हुने मान्यता छ।

मन्दिरमा हाल दुई वटा गदाका अवशेष छन्। एउटा सानो गदा मन्दिरभित्र त्रिशूलसँगै गाडिएको अवस्थामा छ भने अर्को ठूलो गदा भाँचिएको अवस्थामा मन्दिरको कुनामा राखिएको छ। दर्शनार्थीहरूले सोही ठूलो गदालाई बोकेर परिक्रमा गर्ने गर्दछन्।

स्थानीय बुढापाकाका अनुसार मन्दिरमा पहिले अर्को ठूलो गदा पनि रहेको थियो। तर २०४१ सालतिर मानसिक सन्तुलन गुमाएका एक व्यक्तिले उक्त गदा तामाकोसी नदीमा फालेपछि हराएको बताइन्छ।

किंवदन्तीअनुसार रज गाउँमा प्राचीन समयमा राजा बसोबास गर्दथे। गाउँमा रहेका पुराना इँटा तथा पानी ल्याउन बनाइएको कुलोलाई ऐतिहासिक मानिन्छ। अनुसन्धानबाट त्यहाँ प्रयोग भएका इँटा लिच्छविकालीन भएको पुष्टि भइसकेको स्थानीयहरूको भनाइ छ।

रज गाउँको ठीक सामुन्ने मन्थली नगरपालिका–६ मा रहेको हातिटार गाउँलाई राजाका हात्ती बाँध्ने स्थानका रूपमा चिनिने गरिन्छ। स्थानीय कथनअनुसार गोल्मा राजाहरूले यस क्षेत्रमा शासन गरेका थिए।

तर क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्वबारे विस्तृत अध्ययन हुन सकेको छैन। मन्दिर र गदाको उचित संरक्षण नहुँदा बाँकी रहेका अवशेषसमेत हराउने खतरा बढ्दै गएको स्थानीयहरूले बताएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका