गण्डकी । पोखरा उपत्यका नगर विकास समिति ले पोखरा बसपार्क क्षेत्रमा अवैध रूपमा निर्माण गरिएका पसल, कबल तथा अन्य भौतिक संरचना १५ दिनभित्र हटाउन कडा सार्वजनिक सूचना जारी गरेको छ।
समितिले पोखरा बसपार्क अन्तर्गत पोखरा घरदेखि सेती पुलसम्म, पृथ्वी राजमार्गको दक्षिण, विमानस्थलको उत्तर तथा पूर्वतर्फ सेती नदी क्षेत्रभित्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन व्यवसायी तथा सरोकारवालालाई निर्देशन दिएको हो।
समितिका अनुसार तोकिएको समयभित्र सम्बन्धित व्यक्तिले आफैं संरचना नहटाएमा समिति आफैंले डोजर प्रयोग गरी हटाउनेछ। त्यस क्रममा लाग्ने सम्पूर्ण प्राविधिक तथा प्रशासनिक खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै असुल गरिने चेतावनी सूचनामा उल्लेख गरिएको छ।
यसैबीच, बसपार्क क्षेत्रभित्र लालपुर्जा भएका वास्तविक जग्गाधनीलाई आफ्नो हकदाबी पुष्टि गर्न सात दिनभित्र आवश्यक कागजात पेश गर्न पनि आग्रह गरिएको छ। नागरिकता, जग्गाधनी प्रमाणपुर्जा, चालु आर्थिक वर्षको कर तिरेको रसिदलगायत कागजात समितिको कार्यालयमा बुझाउनुपर्ने जनाइएको छ।
यसअघि गत वैशाख ४ गते पोखरा महानगरपालिका ले पनि ३५ दिने सूचना जारी गर्दै अतिक्रमित संरचना हटाउन आग्रह गरेको थियो। उक्त समयसीमा समाप्त भएसँगै नगर विकास समितिले थप कडा कदम चाल्दै नयाँ अल्टिमेटम जारी गरेको हो।
दीर्घकालीन रूपमा आधुनिक र सुविधासम्पन्न केन्द्रीय बसपार्क निर्माण गर्ने उद्देश्यले सरकारले विसं २०३१/३२ तिर करिब २०५ रोपनी जग्गा अधिग्रहण गरेको थियो। तर वर्षौंदेखिको अतिक्रमणका कारण अहिले उक्त क्षेत्र खुम्चिएर करिब ६० रोपनीमा सीमित भएको बताइएको छ।
महानगरपालिकाको तथ्यांकअनुसार बसपार्क क्षेत्रको जग्गामा भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोबासीका नाममा झण्डै ५०० परिवारले स्थायी तथा अस्थायी संरचना बनाएर बसोबास गरिरहेका छन्।
स्थानीय प्रशासनले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उचित व्यवस्थापनसहित अतिक्रमित जग्गा खाली गराएर आधुनिक बसपार्क निर्माण प्रक्रिया अगाडि बढाइने जनाएको छ।


