Wednesday, June 17, 2026
Home Blog Page 21

टर्किस एयरलाइन्सको उडानमा बेहोस भएका गोरखाका वृद्ध श्याम मरहट्टाको निधन

0

काठमाडौँ । अमेरिकाबाट नेपाल फर्कने क्रममा टर्किस एयरलाइन्सको उडानमा यात्रा गरिरहेका एक नेपाली वृद्ध यात्रीको विमानभित्रै निधन भएको छ।

निधन हुनेमा गोरखा स्थायी घर भएका ७३ वर्षीय श्याम मरहट्टा रहेका छन्। उनी संयुक्त राज्य अमेरिकाको भ्रमण पूरा गरी इस्तानबुल हुँदै काठमाडौँ आउँदै गरेको टर्किस एयरलाइन्सको उडान नम्बर TK–726 मा यात्रा गरिरहेका थिए।

विमान आकाशमै उडिरहेको अवस्थामा उनलाई अचानक स्वास्थ्य समस्या देखिएपछि बेहोस भएका थिए। चालक दलले विमानभित्रै प्राथमिक उपचारको प्रयास गरे पनि उनलाई बचाउन सकिएन।

विमान अवतरणपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।

घटनापछि मृतक मरहट्टाको शवलाई कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइएको छ। पारिवारिक स्रोतका अनुसार उनी लामो समयपछि नेपाल फर्किँदै थिए।

विमानस्थल सुरक्षा कार्यालय र सम्बन्धित निकायले घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

बजेटबारे आज पत्रकार सम्मेलन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले

0

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३–८४ को बजेटका विषयमा सञ्चारकर्मीसँग पत्रकार सम्मेलनमार्फत अन्तर्क्रिया गर्ने भएका छन्।

अर्थमन्त्रीका जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाका अनुसार आज दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयको सुवर्ण हलमा पत्रकार सम्मेलन आयोजना गरिएको छ।

गत शुक्रबार अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए।

सार्वजनिक बजेटमध्ये चालु खर्चतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ अर्थात् ५९.८ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ अर्थात् २०.३ प्रतिशत छुट्याइएको छ। यस्तै, वित्तीय व्यवस्थापनतर्फ ४ खर्ब २२ अर्ब २४ करोड रुपैयाँ अर्थात् १९.९ प्रतिशत बजेट विनियोजन गरिएको छ।

थाइल्यान्डबाट पक्राउ परिन् ‘टिकटकर तुलसा अधिकारी’, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दामा अदालत उपस्थित गराइने

0

काठमाडौं । ‘टिकटकर तुलसा अधिकारी’का नामले चिनिने तुलसी अधिकारीलाई प्रहरीले थाइल्यान्डबाट पक्राउ गरेर नेपाल ल्याएको छ । उनलाई शनिबार राति काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरका एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई थुनछेक प्रयोजनका लागि अदालतमा उपस्थित गराइने तयारी भइरहेको छ । उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा सम्पत्ति शुद्धीकरण, आपराधिक लाभ तथा ठगीसम्बन्धी मुद्दा दायर भइसकेको छ।

प्रहरीका अनुसार अधिकारीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत रेड नोटिस जारी गरिएको थियो । सोही आधारमा इन्टरपोलको समन्वयमा उनलाई पक्राउ गरिएको हो।

सरकारी वकिल कार्यालयले २०८२ चैतमा अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो । उक्त मुद्दामा अधिकारीसहित १० जना प्रतिवादी रहेका छन्।

अधिकारीविरुद्ध ललितपुरका एक व्यवसायीले जाहेरी दिएका थिए । जाहेरीअनुसार तुलसा कलेक्सन प्रालिकी सञ्चालक अधिकारीले बलात्कार मुद्दामा फसाउने धम्की दिँदै लगातार ब्ल्याकमेलिङ गरेको आरोप लगाइएको छ।

जाहेरीकर्ताले ब्ल्याकमेलिङमार्फत अधिकारीले आफूसँगबाट करिब ४ करोड ५० लाख रुपैयाँ बराबरको नगद तथा जिन्सी लिएको दाबी गरेका छन्।

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२ रुपैयाँ नाघ्यो, युरो र पाउण्ड पनि महँगिए

0

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आजको विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य १५२ रुपैयाँ नाघेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा रहेको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर २०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ । त्यसैगरी स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ८३ पैसा तथा बिक्रीदर १९४ रुपैयाँ ६० पैसा रहेको छ।

राष्ट्र बैंकका अनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ०७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११० रुपैयाँ २७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा कायम गरिएको छ।

त्यसैगरी जापानी येन १० को खरिददर नौ रुपैयाँ ५२ पैसा र बिक्रीदर नौ रुपैयाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा तोकिएको छ।

मध्यपूर्वी मुद्रातर्फ साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ५९ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा कायम गरिएको छ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ तथा बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

‘ऊर्जा नीतिमा सरकार उल्टो बाटोमा हिँड्यो’ — शंकर पोखरेलको आरोप, विद्युत्मा भ्याट निर्णयको विरोध

0

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ऊर्जा क्षेत्रको विकास र उपयोगसम्बन्धी विषयमा सरकार उल्टो दिशातर्फ अघि बढिरहेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमार्फत उनले सरकारका पछिल्ला निर्णयप्रति असन्तुष्टि जनाउँदै विद्युत् प्रयोगकर्तामाथि थप करको भार थोपर्ने कदमप्रति आपत्ति व्यक्त गरेका हुन्।

पोखरेलले पेट्रोलियम पदार्थको मूल्यवृद्धि र अभावबाट बच्न भन्दै विगतमा दुई दिन सार्वजनिक बिदा घोषणा गर्ने सरकारले अहिले ५० युनिटभन्दा माथि विद्युत् खपत गर्ने उपभोक्तामाथि समेत भ्याट लगाउने निर्णय गरेको भन्दै प्रश्न उठाएका छन्।

उनले लेखेका छन्, ‘आखिर यस्तो अविवेकी निर्णय कसको हितमा ?’

नेपाल जलस्रोतका हिसाबले विश्वकै धनी राष्ट्रमध्ये एक भएको उल्लेख गर्दै पोखरेलले स्वदेशी ऊर्जा उत्पादन र उपभोगलाई प्रोत्साहन गर्नुपर्ने समयमा विद्युत् प्रयोगकर्तामाथि थप कर लगाउनु आफ्नै प्राकृतिक स्रोतको उपयोगबाट जनतालाई निरुत्साहित गर्ने कदम भएको बताएका छन्।

उनले पेट्रोलियम पदार्थको अभाव र मूल्यवृद्धिको अवस्थामा हरित ऊर्जालाई प्रवर्द्धन गर्नुपर्नेमा बजेटमार्फत विद्युतीय सवारी साधनको प्रयोगलाई समेत निरुत्साहित गर्ने गरी करको भार थपिएको दाबी गरेका छन्।

‘यदि बजेटको आकार बढाउने नाममा आयस्रोत देखाउन यस्तो निर्णय गरिएको हो भने सरकारले तत्काल आफ्नो गल्ती सच्याउनु पर्दछ,’ पोखरेलले भनेका छन्, ‘सरकार आफैंले नाफा लिएर बिक्री गरेको विद्युत्को खपत बढ्दा भ्याट लगाएर जनताको ढाड सेक्ने होइन, आयात प्रतिस्थापन र उत्पादनशील क्षेत्रमा यसको अधिकतम उपयोग गर्न प्रेरित गर्नुपर्छ ।’

कालीमाटीले सार्वजनिक गर्‍यो आजको तरकारी–फलफूल मूल्यसूची, गोलभेँडादेखि स्याउसम्मको भाउ कति ?

0

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइतबार) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिले तरकारी, फलफूल तथा अन्य कृषि उत्पादनहरूको अद्यावधिक मूल्यसूची सार्वजनिक गर्दै विभिन्न वस्तुको मूल्य निर्धारण गरेको हो।

समितिका अनुसार ठूलो गोलभेँडा (भारतीय) प्रतिकिलो ६० रुपैयाँ, ठूलो गोलभेँडा (नेपाली) ५० रुपैयाँ, सानो गोलभेँडा (लोकल) १५ रुपैयाँ तथा सानो गोलभेँडा (तराई) २० रुपैयाँ कायम गरिएको छ । यस्तै, रातो आलु (लाम्चो) प्रतिकिलो ३० रुपैयाँ, भारतीय रातो आलु २७ रुपैयाँ तथा सुकेको भारतीय प्याज प्रतिकिलो ४० रुपैयाँ तोकिएको छ।

तरकारीतर्फ गाँजर (लोकल) प्रतिकिलो ७० रुपैयाँ, बन्दा ३० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, सेतो मूला (हाइब्रिड) १५ रुपैयाँ, लाम्चो भन्टा ४० रुपैयाँ तथा डल्लो भन्टा ५० रुपैयाँ कायम गरिएको छ।

मटरकोशा प्रतिकिलो ८० रुपैयाँ, लोकल घिउ सिमी ६० रुपैयाँ, हाइब्रिड घिउ सिमी ४० रुपैयाँ, राजमा घिउ सिमी ८० रुपैयाँ तथा तीते करेला ३० रुपैयाँ तोकिएको छ । त्यसैगरी लौका ४५ रुपैयाँ, लोकल परवर ५० रुपैयाँ तथा घिरौला ४० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ।

हरियो तथा पाकेको फर्सीको मूल्य प्रतिकिलो ३० देखि ५० रुपैयाँसम्म कायम गरिएको छ भने भिण्डी ४० रुपैयाँ, सखरखण्ड ७० रुपैयाँ, स्कुस ८० रुपैयाँ र पिँडालु ३० रुपैयाँ रहेको छ।

सागपाततर्फ रायो साग प्रतिकिलो ६० रुपैयाँ, पालुङ्गो ८० रुपैयाँ, चमसुर र मेथीको साग क्रमशः ८० र ५० रुपैयाँ कायम गरिएको छ । च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २५० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ तथा सिताके च्याउ ८०० रुपैयाँ निर्धारण गरिएको छ।

फलफूलतर्फ झोले स्याउ प्रतिकिलो २०० रुपैयाँ, फुजी स्याउ २८० रुपैयाँ, कागती २०० रुपैयाँ, अनार ३८० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन १६० रुपैयाँ तथा मालभोग केरा २०० रुपैयाँ कायम गरिएको छ । यस्तै हरियो अङ्गुर प्रतिकिलो २४० रुपैयाँ, कालो अङ्गुर ४०० रुपैयाँ, तरबुजा ३० रुपैयाँ तथा भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ तोकिएको छ।

त्यसैगरी काँक्रो (लोकल) प्रतिकिलो ५० रुपैयाँ, हाइब्रिड काँक्रो १५ रुपैयाँ तथा रुखकटहर प्रतिकिलो ३५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ।

कुशल भुर्तेलको ऐतिहासिक विस्फोट: चीनविरुद्ध एकै ओभरमा ६ छक्का, विश्व क्रिकेटमा नयाँ कीर्तिमान

0

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेलले एसियन गेम्स छनोटअन्तर्गत चीनविरुद्धको खेलमा एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान कायम गरेका छन्।

भुर्तेलले आफ्नो इनिङ्सको नवौं ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नेपालका लागि यस्तो उपलब्धि हासिल गर्ने दोस्रो खेलाडी बनेका छन् । साथै, उनी विश्व क्रिकेटमा एकै ओभरमा ६ छक्का प्रहार गर्ने छैटौं खेलाडीका रूपमा समेत दर्ज भएका छन्।

यसअघि नेपाली टोलीका अलराउन्डर दिपेन्द्र सिंह ऐरीले सन् २०२३ मा एसीसी प्रिमियर कपअन्तर्गत कतारविरुद्धको खेलमा २०औं ओभरमा लगातार ६ छक्का प्रहार गर्दै कीर्तिमान बनाएका थिए।

आक्रामक ब्याटिङमा देखिएका भुर्तेलले यो समाचार तयार पार्दासम्म ४२ बलमा अविजित १२९ रन बनाएका छन् । अर्का ब्याटर कुशल मल्लले २७ बलमा ४२ रन जोड्दै उनको साथ दिइरहेका छन्।

प्रतिनिधिसभा आज बस्दै, नियमावली पारितदेखि राष्ट्र बैंक संशोधन विधेयकसम्मका एजेन्डा

0

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ । बैठकमा प्रतिनिधिसभा नियमावली, राष्ट्र बैंकसम्बन्धी विधेयक तथा अन्तर्राष्ट्रिय श्रम महासन्धीसम्बन्धी विषयहरू मुख्य एजेन्डाका रूपमा रहेका छन्।

आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ माथि दफावार छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ । उक्त प्रतिवेदनमाथि दर्ता भएका संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ।

त्यसपछि सभापति पराजुलीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।

यसैबीच, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्नेछन् । अनुमति प्राप्त भएपछि उक्त विधेयक प्रतिनिधिसभामा पेश गरिने कार्यसूची रहेको छ।

त्यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१)’ तथा ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ प्रतिनिधिसभामा पेश गर्ने कार्यक्रम रहेको छ।

ट्रम्प–इरान वार्ता फेरि अन्योलमा: युद्धविराम र नयाँ सम्झौताबारे ‘सिचुएसन रुम’ बैठक निष्कर्षविहीन

0

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँगको युद्धविरामलाई निरन्तरता दिने तथा सम्भावित नयाँ सम्झौताबारे रणनीति तय गर्न बोलाएको उच्चस्तरीय बैठक कुनै ठोस निष्कर्षबिना समाप्त भएको छ।

इरान नीति र वासिङ्टनको आगामी रणनीति तय गर्न राष्ट्रपति ट्रम्पले शुक्रबार आफ्ना प्रमुख सल्लाहकार र निकट सहयोगीहरूसँग ह्वाइटहाउसको अत्यन्त संवेदनशील ‘सिचुएसन रुम’मा बैठक गरेका थिए। यो कक्ष सामान्यतया राष्ट्रिय सुरक्षा, युद्ध तथा अन्तर्राष्ट्रिय संकटसँग सम्बन्धित निर्णयका लागि प्रयोग गरिन्छ।

बैठकमा अमेरिकी पक्षले इरानसँग सम्भावित सम्झौताका लागि आफ्ना मुख्य सर्तहरू पुनः स्पष्ट गरेको छ। राष्ट्रपति ट्रम्पको अडानअनुसार इरानलाई भविष्यमा कुनै पनि प्रकारको परमाणु अस्त्र विकास वा स्वामित्वको अनुमति दिइने छैन।

अमेरिकाले रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलमार्गमा निर्बाध पारवहन पुनः सञ्चालन हुनुपर्ने र उक्त क्षेत्रमा रहेका सबै सैनिक खानी हटाउन इरान सहमत हुनुपर्ने सर्त पनि अघि सारेको छ।

यता, इरानले भने आफ्नो परमाणु कार्यक्रमबारे हाल कुनै औपचारिक वार्ता नभइरहेको दाबी गरेको छ। तेहरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण तथा नागरिक प्रयोजनका लागि मात्रै रहेको भन्दै पश्चिमी देशहरूको आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ।

यसअघि बिहीबार अमेरिकी अधिकारीहरूले दुवै पक्ष प्रारम्भिक सम्झौताको ढाँचामा सहमतिनजिक पुगेको दाबी गरेका थिए। तर अन्तिम सहमतिका लागि राष्ट्रपति ट्रम्प र इरानको शीर्ष नेतृत्वबाट औपचारिक स्वीकृति आवश्यक रहेको बताइएको थियो।

तर शुक्रबारको उच्चस्तरीय बैठक निष्कर्षविहीन बनेपछि सम्भावित सम्झौता, युद्धविरामको भविष्य र आगामी कूटनीतिक प्रक्रियाबारे पुनः अनिश्चितता बढेको देखिएको छ।

पर्यटन र उड्डयन क्षेत्रमा २० अर्ब ८१ करोड बजेट: भिजिट नेपाल २०८५, नयाँ ट्रेकिङ रुटदेखि विमानस्थल विस्तारसम्म महत्वाकांक्षी योजना

0

काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पर्यटन, संस्कृति र नागरिक उड्डयन क्षेत्रको एकीकृत विकासलाई प्राथमिकतामा राख्दै महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ। यस क्षेत्रको समग्र विकासका लागि कुल २० अर्ब ८१ करोड रुपैयाँ विनियोजन गरिएको छ।

संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटअनुसार संस्कृति तथा पर्यटन क्षेत्रका लागि ८ अर्ब ९५ करोड रुपैयाँ तथा नागरिक उड्डयन क्षेत्रका लागि ११ अर्ब ८६ करोड रुपैयाँ छुट्याइएको छ।

सांस्कृतिक सम्पदा संरक्षणतर्फ सरकारले लुम्बिनी प्रदेशका ऐतिहासिक क्षेत्र तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्रामको पूर्वाधार विकासका लागि १० करोड रुपैयाँ लागतमा ‘बृहत् लुम्बिनी विकास कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। साथै तिलौराकोट, जनकपुरधाम र गोकर्णेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन आवश्यक प्रक्रिया अघि बढाइनेछ।

उच्च हिमाली क्षेत्रमा रहेका २०० वर्षभन्दा पुराना बौद्ध गुम्बाको संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिने भएको छ भने कीर्तिपुरस्थित सङ्ग्रहालयको विस्तार गरिनेछ।

सामाजिक समावेशीकरणलाई प्राथमिकता दिँदै मधेश, कर्णाली र सुदूरपश्चिमका दलित बस्तीमा नमूना होमस्टे सञ्चालन गरी स्थानीय कला, सीप र मौलिक पेशाको प्रवर्द्धन गरिने सरकारको योजना छ।

पर्यटन प्रवर्द्धनतर्फ जनकपुरलाई ‘विवाह गन्तव्य’का रूपमा ब्रान्डिङ गरिने भएको छ भने धार्मिक तथा पर्यटकीय क्षेत्रलाई जोड्ने प्रादेशिक पर्यटन कोरिडोर निर्माण गरिनेछ। खप्तड–बडिमालिका–शुक्लाफाँटा देखि सखडा–धनुषाधाम–गढीमाई–हलेसी–चतरा–पाथिभरा क्षेत्रसम्म पर्यटन पूर्वाधार विस्तार गर्ने योजना बजेटमा समेटिएको छ।

सरकारले पदयात्रा पर्यटनलाई समेत प्राथमिकता दिएको छ। ग्रेट हिमालयन ट्रेललाई रणनीतिक पदमार्गका रूपमा विकास गर्दै ‘डाँफे रुट’ निर्माण गरिनेछ, जसले खप्तड, रामारोशन, बडिमालिका, रारा, स्वर्गद्वारी र मुक्तिनाथलाई जोड्नेछ। साथै नयाँ ट्रेकिङ र साइकल ट्रेल विकासका कार्यक्रम पनि अघि सारिएका छन्।

साहसिक तथा स्वास्थ्य पर्यटन प्रवर्द्धनका लागि ६ हजार मिटरभन्दा अग्ला तर नामकरण नभएका हिमाललाई नेपाली मौलिक नाम दिई अन्तर्राष्ट्रिय बजारमा प्रचार गरिनेछ। साथै आरोही सुरक्षाका लागि आकस्मिक उद्धार प्रणालीलाई थप प्रभावकारी बनाइने सरकारको योजना छ।

सरकारले भिजिट नेपाल वर्ष २०८५ र नेपाल आरोग्य वर्ष २०२७ लाई लक्षित गर्दै पर्यटन क्षेत्रलाई ‘आरोग्य पर्यटन’को अवधारणामा ब्रान्डिङ गर्ने नीति लिएको छ। उच्च मूल्यका पर्यटक आकर्षित गर्न होटल तथा रिसोर्ट निर्माणमा वित्तीय तथा भौतिक प्रोत्साहन उपलब्ध गराइनेछ।

नागरिक उड्डयनतर्फ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिका लागि १ अर्ब ६६ करोड रुपैयाँ विनियोजन गरिएको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी आगामी ६ महिनाभित्र टुङ्ग्याइने भएको छ भने गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा निजी क्षेत्रसँग सहकार्य गरिनेछ।

प्रादेशिक विमानस्थल सुधारअन्तर्गत भरतपुर विमानस्थलमा रात्रीकालीन उडान सुरु गरिने, सुर्खेत विमानस्थल विस्तार गरिने तथा मुगुको ताल्चा र दाङको टरिगाउँ विमानस्थल स्तरोन्नति गरिने भएको छ।

हवाई सुरक्षालाई थप मजबुत बनाउन सरकारले आगामी पुसभित्र नागरिक उड्डयन प्राधिकरणलाई पुनर्संरचना गर्दै नियामक र सेवा प्रदायकको भूमिकालाई अलग गर्ने घोषणा गरेको छ। सरकारको विश्वास छ कि यसले नेपाललाई युरोपेली संघको ‘एयर सेफ्टी लिस्ट’बाट बाहिर ल्याउन सहयोग पुग्नेछ।