Wednesday, June 17, 2026
Home Blog Page 22

राप्रपा विभाजनको संघारमा: धवलशम्शेर समूहको सामूहिक राजीनामाको तयारी, नयाँ दल गठनको संकेत

0

काठमाडौं । देशको प्रमुख राजावादी शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) गम्भीर आन्तरिक संकटमा फसेको छ। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै महामन्त्री डा. धवलशम्शेर राणा नेतृत्वको संस्थापन इतर समूह पार्टी विभाजनतर्फ निर्णायक कदम चाल्ने तयारीमा पुगेको स्रोतले जनाएको छ।

लामो समयदेखि पार्टीभित्र चलिरहेको आन्तरिक विवाद अन्त्य गर्ने संकेतस्वरूप राणा समूहले आगामी जेठ १८ गते काठमाडौंस्थित होटल यलो प्यागोडामा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामाको घोषणा गर्ने तयारी गरेको बताइएको छ। यसका लागि राजीनामापत्रको मस्यौदा समेत तयार भइसकेको स्रोतको दाबी छ।

राजीनामाको मस्यौदामा पार्टी नेतृत्वमाथि स्वेच्छाचारी शैली अपनाएको, पार्टीको मूल वैचारिक आधार कमजोर बनाएको तथा राजसंस्था पुनर्स्थापनाको एजेन्डालाई प्रभावकारी रूपमा अघि बढाउन नसकेको आरोप लगाइएको छ।

राणा समूहले संसदमा राजसंस्थाको पक्षमा कुनै ठोस प्रस्ताव दर्ता हुन नसकेको, नेतृत्वले वैचारिक लाइन विपरीत तत्कालीन सरकारका कार्यक्रमलाई समर्थन गरेको तथा चुनावी रणनीतिक कमजोरीका कारण प्रतिनिधिसभा निर्वाचन २०८२ मा अधिकांश उम्मेदवारको जमानत जफत भएको दाबी गरेको छ।

स्रोतका अनुसार ५० देखि ६० जना केन्द्रीय सदस्यहरू सामूहिक राजीनामाका लागि तयार छन्। राप्रपा छाड्न लागेका नेताहरूमा मुकुन्दश्याम गिरी, सगुन लावती र नारायण कोइरालालगायत रहेका छन्। महामन्त्री प्रल्हाद साह पनि विभाजनको पक्षमा रहेको राणा समूहको दाबी छ, यद्यपि संस्थापन पक्षले भने त्यसलाई अस्वीकार गरेको छ।

राप्रपा बाहिरिएपछि राणा समूह नयाँ राजनीतिक शक्ति निर्माणतर्फ अघि बढ्ने तयारीमा देखिएको छ। यस क्रममा डा. राणाले ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक तथा व्यवसायी दुर्गा प्रसाईँसँग निरन्तर संवाद गरिरहेको स्रोतको भनाइ छ। नयाँ राजनीतिक दल दर्ता गरी संयुक्त रूपमा अघि बढ्ने विषयमा दुवै पक्षबीच सकारात्मक समझदारी बनेको दाबी गरिएको छ।

यता, राप्रपाका पूर्वअध्यक्ष पशुपति शम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी भने पार्टीमै रहने भएका छन्। कमल थापा र रवीन्द्र मिश्र पनि तत्काल राणा समूहसँग जोडिने सम्भावना कम देखिएको छ।

संस्थापन पक्षले भने सीमित नेताहरू मात्र बाहिरिने निष्कर्ष निकाल्दै यसलाई ठूलो चुनौतीका रूपमा नलिएको संकेत दिएको छ। संस्थापन पक्षका एक पदाधिकारीले जिम्मेवार नेताहरू विभाजनको पक्षमा नरहेको दाबी गर्दै केही व्यक्तिहरू बाहिरिँदा पार्टीलाई ठूलो असर नपर्ने टिप्पणी गरेका छन्।

महाधिवेशनको तयारी भइरहेका बेला डा. राणा अध्यक्ष पदका सम्भावित दाबेदार मानिएका थिए। तर, महाधिवेशनअघि नै उनले पार्टी छाड्ने तयारी गरेसँगै राप्रपाको आगामी राजनीतिक दिशा थप अनिश्चित बनेको छ।

पृथ्वीचोकमा महानगरको डोजरपछि भग्नावशेष हटाउने काम तीव्र

0

पोखरा । पोखरा महानगरपालिकाले पृथ्वीचोक क्षेत्रमा अवैध तथा अतिक्रमित संरचनाहरू हटाएपछि अहिले भग्नावशेष सफा गर्ने कामलाई तीव्रता दिएको छ।

सार्वजनिक जग्गा तथा सडक अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानअन्तर्गत महानगरले पृथ्वीचोक क्षेत्रमा डोजर परिचालन गरेको हो।

विशेष चासोका साथ हेरिएको पृथ्वीचोकस्थित हङकङ बजार अगाडिका अतिक्रमित संरचनाहरू गत जेठ १४ गते डोजर प्रयोग गरी भत्काइएको थियो। महानगरपालिकाले सार्वजनिक जग्गा र बाटो अतिक्रमण गरेर सञ्चालन भइरहेका ती संरचनाहरू हटाउन यसअघि नै आग्रह गरेको जनाएको छ।

महानगरको आग्रहलाई बेवास्ता गरिएपछि स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा डोजर परिचालन गरी ती संरचनाहरू हटाइएको हो।

संरचना हटाइएपछि सडक तथा आसपासका क्षेत्रमा थुप्रिएका ढुङ्गा, इँटा, फलामे डन्डीलगायत भग्नावशेष हटाउन अहिले महानगरले डोजर र ट्रिपर परिचालन गरिरहेको छ।

महानगरपालिकाका अनुसार सडक किनारमा थुप्रिएका भग्नावशेषले सवारी आवागमन तथा पैदलयात्रुलाई समस्या भइरहेको भन्दै क्षेत्रलाई छिट्टै व्यवस्थित र सफा बनाउने काम भइरहेको छ।

बजेटमार्फत साना–मझौला उद्योगलाई राहत: कर, ब्याज र जरिवाना मिनाहाको व्यवस्था

0

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत साना तथा मझौला उद्योगी–व्यवसायीलाई लक्षित गर्दै कर सम्बन्धी विभिन्न राहत तथा सहुलियत घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटमा कर प्रशासनलाई सरल बनाउने र व्यवसायलाई औपचारिक अर्थतन्त्रमा ल्याउने उद्देश्यसहित नयाँ व्यवस्था गरिएको हो।

नयाँ व्यवस्थाअनुसार भ्याटमा दर्ता भएर पनि कर विवरण नबुझाएका व्यवसायीले २०८३ पुस मसान्तभित्र बाँकी कर रकम र त्यसको १ प्रतिशत अतिरिक्त रकम बुझाएमा ब्याज, जरिवाना तथा थप दस्तुर पूर्ण रूपमा मिनाहा हुने भएको छ। यही व्यवस्था अन्तःशुल्कतर्फ पनि लागू गरिएको छ।

यसअघि कर विवरण ढिला बुझाउँदा मासिक जरिवाना, ब्याज तथा अतिरिक्त शुल्कका कारण व्यवसायीहरू ठूलो आर्थिक भारमा पर्ने गरेका थिए। नयाँ व्यवस्थाले मुख्य कर रकम र न्यून अतिरिक्त शुल्क तिरेर पुराना दायित्व मिलाउन सकिने व्यवस्था गरेको छ।

बजेटमा नाफा नकमाउने संस्थाले प्राप्त गर्ने दान तथा चन्दामा लाग्ने कर तथा जरिवाना मिनाहा गर्ने व्यवस्था पनि गरिएको छ। सामाजिक क्षेत्रका संस्थाहरूलाई यसबाट राहत पुग्ने अपेक्षा गरिएको छ।

लामो समयदेखि कर विवादमा रहेका उद्योगी–व्यवसायीले विवादित कर रकम र १ प्रतिशत अतिरिक्त शुल्क बुझाएर मुद्दा फिर्ता लिएमा ब्याज तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ। यसले कर प्रशासन र व्यवसायीबीचका पुराना विवाद समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था तथा स्थायी लेखा नम्बर लिएका वा नलिएका केही संस्थालाई पनि विशेष छुट दिइएको छ। उनीहरूले २०८३ पुस मसान्तभित्र चालु आर्थिक वर्षको मात्र विवरण बुझाए अघिल्ला वर्षको कर, ब्याज र जरिवाना तिर्नु नपर्ने व्यवस्था गरिएको छ।

सरकारले कृषि तथा डेरी क्षेत्रलाई राहत दिन दूधबाट बन्ने पनिरमा विगतमा असुल हुन बाँकी भ्याट पनि मिनाहा गर्ने घोषणा गरेको छ।

व्यवसायीहरूका अनुसार नयाँ व्यवस्थाले जरिवाना र ब्याजको डरले निष्क्रिय बनेका हजारौँ व्यवसायलाई पुनः औपचारिक अर्थतन्त्रमा फर्किन प्रोत्साहन गर्नेछ। साथै, कर बक्यौता घट्ने, बैंक ऋणमा पहुँच सहज हुने र लगानी वातावरण सुधार हुने अपेक्षा गरिएको छ।

बजेटअन्तर्गत आर्थिक ऐनका विभिन्न व्यवस्थामार्फत कर प्रशासनलाई थप सरल, व्यवहारिक र व्यवसायमैत्री बनाउने संकेत गरिएको छ।

निमोनिया र संक्रमण पुष्टि भएपछि प्रचण्ड मेडिसिटी अस्पतालमा भर्ना

0

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य समस्याका कारण ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका छन्।

पछिल्ला तीन दिनदेखि सामान्य रुघाखोकी र ज्वरोको समस्या देखिएपछि उनी गणतन्त्र दिवसको कार्यक्रममा समेत सहभागी हुन सकेका थिएनन्।

स्वास्थ्य परीक्षणका क्रममा उनमा निमोनिया तथा रगतमा संक्रमण देखिएको बताइएको छ। चिकित्सकहरूको सुझावअनुसार अस्पतालमै राखेर उपचार गर्दा सुरक्षित हुने निष्कर्षपछि उनलाई भर्ना गरिएको उनका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिएका छन्।

स्वकीय सचिव आचार्यका अनुसार अस्पतालमा उपचार भइरहेको भए पनि प्रचण्डको स्वास्थ्य अवस्था हाल सामान्य रहेको छ।

अमेरिकी उपविदेशमन्त्री सारा रोजर्स आज नेपाल आउँदै, ‘एसेन्ट समिट २०२६’ मा सहभागी हुने

0

काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयकी सार्वजनिक कूटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्स तीन दिने भ्रमणका लागि आज साँझ नेपाल आउँदै छिन्।

भारत भ्रमणपछि नेपाल आउन लागेकी रोजर्सको भ्रमण वर्तमान सरकार गठनपछि अमेरिकाबाट हुन लागेको उच्चस्तरीय भ्रमणमध्ये एक मानिएको छ।

नेपालस्थित अमेरिकी दूतावासद्वारा आयोजना हुने ‘एसेन्ट समिट २०२६’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन उनी नेपाल आउन लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर क्षेत्रीका अनुसार नेपाल बसाइका क्रममा उपविदेशमन्त्री रोजर्सले परराष्ट्रमन्त्री शिशिर खनाल र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

नेपालस्थित अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले हालै सगरमाथाको सफल आरोहण गरेका थिए। उनकै सम्मानमा दूतावासले ‘सेभेन समिट ट्रेक्स’सँगको सहकार्यमा उक्त कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।

एकदिने विशेष कार्यक्रममा हिमाल, पर्वतारोहण, साहसिक पर्यटन, उच्च हिमाली अनुसन्धान तथा अभियान व्यवस्थापनसँग सम्बन्धित व्यक्तिहरूलाई एउटै मञ्चमा ल्याइने बताइएको छ।

स्रोतका अनुसार उपविदेशमन्त्री रोजर्सले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गर्ने सम्भावना रहेको छ। यद्यपि प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाटको कार्यक्रम नरहेको बताइएको छ।

यसअघि पनि अमेरिकी प्रशासनका दक्षिण तथा मध्य एसिया हेर्ने उच्च अधिकारीहरूले नेपाल भ्रमण गरेका थिए। उनीहरूसँग पनि प्रधानमन्त्रीले औपचारिक भेट गरेका थिएनन्।

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको ‘पार्टी जागरण अभियान’, केन्द्रीय सदस्यलाई पालिका–केन्द्रित जिम्मेवारी

0

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय तह तथा प्रदेश निर्वाचनलाई लक्षित गर्दै ‘पार्टी जागरण अभियान’ सुरु गर्ने घोषणा गरेको छ। अभियान प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारीबाहेक अधिकांश केन्द्रीय सदस्यहरूलाई पालिका–केन्द्रित जिम्मेवारी तोकिएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन (अपानि)–२ जारी गर्दै सचिवालय बैठकका निर्णय मातहतका कमिटीसम्म पुर्‍याउन र संगठन सुदृढीकरण गर्न अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।

एमालेले केन्द्रीय सदस्यहरूलाई जनसंगठन, विभाग तथा पालिकास्तरका जिम्मेवारीसमेत दिएको जनाएको छ। केन्द्रीय सदस्य मात्र पर्याप्त नहुने निष्कर्षसहित केन्द्रीय निकायका सदस्य तथा अग्रणी कार्यकर्तालाई पनि अभियानमा खटाइने भएको छ।

कार्य विभाजनअनुसार अध्यक्ष ओलीले समग्र अभियानको नेतृत्व गर्नेछन् भने महासचिवलाई संगठनात्मक काम र केन्द्रीय कार्यालय समन्वयको जिम्मेवारी दिइएको छ। उपाध्यक्ष तथा उपमहासचिवहरूलाई विभाग र विभिन्न फाँटको समन्वय जिम्मेवारी दिइएको छ।

पार्टीका सचिवहरूमध्ये अधिकांशलाई प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको छ। साथै, विभिन्न विभाग तथा प्रदेशस्तरीय नेतृत्वसमेत पुनः व्यवस्थित गरिएको एमालेले जनाएको छ।

एमालेका अनुसार केन्द्रीय सदस्यहरूलाई विशेषगरी आफूले प्रतिनिधित्व गर्ने जिल्लाका पालिकामा केन्द्रित गरिनेछ। आवश्यकताअनुसार एक जना केन्द्रीय सदस्यलाई बढीमा दुई वटा पालिकाको जिम्मेवारी दिइने व्यवस्था गरिएको छ।

पार्टी नेतृत्वले निर्वाचनपछि सुस्त बनेका कमिटी र संगठनात्मक गतिविधिलाई यो अभियानमार्फत पुनः सक्रिय बनाउने अपेक्षा गरेको छ।

यसैबीच, एमालेले प्रचार तथा प्रकाशन विभागको नेतृत्व र विभिन्न जनसंगठनको इन्चार्जसमेत तोकेको जनाएको छ।

आजको विदेशी मुद्रा विनिमयदर: अमेरिकी डलर १५२ रुपैयाँ नजिक, युरो १७७ रुपैयाँभन्दा माथि

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ६४ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा रहेको छ। त्यस्तै, बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०३ रुपैयाँ ५९ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ।

स्वीस फ्र्याङ्क एकको खरिददर १९३ रुपैयाँ ८३ पैसा तथा बिक्रीदर १९४ रुपैयाँ ३९ पैसा कायम गरिएको छ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ६४ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६० पैसा रहेको छ भने क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ११० रुपैयाँ २७ पैसा तोकिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ २३ पैसा रहेको छ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ५२ पैसा र बिक्रीदर ९ रुपैयाँ ५६ पैसा कायम गरिएको छ। त्यस्तै, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा रहेको छ।

राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४३ पैसा र बिक्रीदर ४० रुपैयाँ ६८ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर ४१ रुपैयाँ ८२ पैसा निर्धारण गरेको छ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ।

नवीन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्यापिड चेस प्रतियोगिता सुरु, २२६ खेलाडी प्रतिस्पर्धामा

0

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ को आयोजनामा नवीन्द्रराज जोशी स्मृति तेस्रो फिडे र्यापिड (१९०० मुनि) चेस प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ। प्रतियोगिता धर्मपथस्थित सांस्कृतिक द्यः छेँमा सञ्चालन भइरहेको छ।

प्रतियोगिताको उद्घाटन गर्दै वडा नं. २४ का अध्यक्ष विनोद कुमार राजभण्डारीले स्वर्गीय नवीन्द्रराज जोशीको योगदान स्मरण गर्दै उनको सम्झनालाई चिरस्थायी बनाउन प्रतियोगिता आयोजना गरिएको बताए।

वडा कार्यालयले विश्व बुद्धिचाल महासंघ, एशियन चेस फेडरेसन तथा नेपाल चेस फेडरेसनसँगको सहकार्यमा प्रतियोगिता आयोजना गरेको हो।

प्रतियोगिता स्विस प्रणालीमा सञ्चालन भइरहेको छ, जसअन्तर्गत प्रत्येक खेलाडीले नौ चरण खेल्नेछन् र सबैभन्दा बढी अंक ल्याउने खेलाडी विजेता बन्नेछन्। शुक्रबारसम्म पाँच चरणका खेल सम्पन्न भएका छन्।

प्रमुख निर्णायक तथा अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजुका अनुसार हालसम्म काठमाडौंका सीएम भगवती प्रसाद शर्मा र दीपक महर्जन, मोरङका उमेश राई तथा मकवानपुरका फुर्वा लामाले लगातार पाँच खेल जित्दै शीर्ष स्थानमा रहेका छन्।

प्रतियोगितामा जितका लागि एक अंक र बराबरीमा आधा अंक प्रदान गरिने व्यवस्था रहेको छ।

यस वर्षको प्रतियोगितामा नेपालसहित भारत, अमेरिका, बेलायत र फ्रान्सका गरी कुल २२६ खेलाडी सहभागी छन्। नेपालका ४८ जिल्लाबाट सहभागी खेलाडीमध्ये ९ वर्षीय सुवाङ्ग प्रधानदेखि ८० वर्षीय भेट्रान खेलाडी सीताराम अग्रवालसम्म प्रतिस्पर्धामा छन्। प्रतियोगितामा १५ जना महिला खेलाडीको पनि सहभागिता रहेको छ।

काठमाडौं बाहिरबाट आएका खेलाडीहरूका लागि वडा कार्यालयले दुई रातको आवासीय सुविधा उपलब्ध गराएको जनाएको छ।

पश्चिमी न्यूनचापीय प्रभाव: देशभर बदली, केही स्थानमा वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

0

काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय रहेको न्यून चापीय प्रणालीको प्रभाव कायम रहेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा पूर्ण बदली रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ। बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै केही उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

मौसमविद्हरूका अनुसार तराई तथा पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि रहेको छ।

आज राति सुदूरपश्चिमसहित देशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थान तथा कोशी, बागमती र लुम्बिनीका उच्च भूभागमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।

सगरमाथा चढ्ने पहिलो अफगान महिला बनिन् रिभर अहमद, विश्वलाई दिइन् स्वतन्त्रता र शिक्षाको सन्देश

0

काठमाडौँ । अफगान मूलकी पर्वतारोही रिभर अहमद (पूर्वनाम जकिया अहमद) विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो अफगान महिला बनेकी छन्। हाल अष्ट्रेलियामा निर्वासित जीवन बिताइरहेकी ३० वर्षीया उनले गत मे २१ मा ८,८४८.८६ मिटर अग्लो शिखरमा पुगेर इतिहास रचेकी हुन्।

आफ्नो सफलताबारे बोल्दै उनले विश्वको सर्वोच्च शिखरमा पुग्दा आफूलाई निकै शक्तिशाली महसुस भएको बताएकी छन्। उनका अनुसार यो उपलब्धि केवल व्यक्तिगत सफलता नभई अफगान महिलाहरूका लागि आशा, स्वतन्त्रता र शिक्षाको सन्देश पनि हो।

तालिवानको दोस्रो शासन सुरु भएपछि अफगानिस्तान छोडेर भारत हुँदै अष्ट्रेलिया पुगेकी रिभर त्यसअघि विश्वविद्यालय अध्ययनरत थिइन्। तालिवानी प्रतिबन्धपछि पढाइ रोकिएसँगै उनको जीवनले नयाँ मोड लिएको थियो।

अष्ट्रेलिया पुगेपछि भाइको आकस्मिक निधनले उनलाई गहिरो मानसिक पीडा दिएको थियो। कठिन समय पार गर्ने क्रममा नदीहरूको निरन्तर बहावबाट प्रेरित भएर उनले आफ्नो नाम जकियाबाट परिवर्तन गरी ‘रिभर’ राखेकी हुन्।

आरोहणअघि उनले आफू स्वतन्त्रता र शिक्षाका लागि सगरमाथा चढ्न लागेको बताएकी थिइन्। अफगानिस्तानमा महिला शिक्षामाथि लगाइएका प्रतिबन्धप्रति विश्वको ध्यानाकर्षण गराउने उद्देश्य पनि उनको अभियानको हिस्सा थियो।

सगरमाथा आरोहणका क्रममा उनले अत्यन्त कठिन परिस्थितिको सामना गरेकी थिइन्। शिखर नजिकै माइनस २५ डिग्रीभन्दा कम तापक्रममा उनी र उनका दुई शेर्पा सहयोगीले चार घण्टासम्म लामो लाइनमा कुर्नुपरेको थियो।

रिभरका अनुसार आरोहणको कठिन समयमा विगतका संघर्षपूर्ण अनुभवहरूले नै आफूलाई अघि बढ्ने ऊर्जा दिएको थियो। बाल्यकालदेखि नै युद्ध, असुरक्षा र सामाजिक प्रतिबन्धबीच हुर्किएकी उनले विद्यालय जान दैनिक घण्टौँ पैदल हिँड्नुपरेको अनुभव पनि सुनाएकी छन्।

सगरमाथा सफलतापूर्वक आरोहण गरेपछि विश्वभर रहेका अफगान समुदाय तथा विभिन्न व्यक्तित्वहरूले उनलाई बधाई दिएका छन्। अब उनले अफगान महिलाहरूको सहयोगका लागि कोष जुटाउने योजना बनाएकी छन्।

उनको सन्देश छ: “बलियो बन, आफूमाथि विश्वास गर। इतिहासको अन्धकारपूर्ण समय पनि पार गर्न सकिन्छ।”