Wednesday, June 17, 2026
Home Blog Page 20

संसद्‌मा अमर्यादित व्यवहार र क्षतिबारे छानबिन समिति गठन, ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन

0

काठमाडौं । प्रतिनिधिसभा बैठकका क्रममा अमर्यादित व्यवहार प्रदर्शन तथा भौतिक क्षति पुर्‍याउने सांसदहरूमाथि छानबिन गर्न समिति गठन गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले संसद् सचिवालयका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको जानकारी दिएका हुन्।

सभामुख अर्यालका अनुसार समितिलाई घटनाको सत्यतथ्य जाँचबुझ गरी सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ। प्राप्त प्रतिवेदनका आधारमा ‘प्रतिनिधि सभा नियमावली, २०८३’ अनुसार दोषी सांसदहरूमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने उनले बताएका छन्।

सभामुख अर्यालले संसद्‌मा जानकारी दिँदै जेठ १७ गतेको प्रतिनिधिसभा बैठकमा केही सांसदहरूले अव्यवस्था सिर्जना गर्दै अमर्यादित तथा आपत्तिजनक व्यवहार प्रदर्शन गरेको, साथै भौतिक क्षति पुर्‍याएको विषय नियमअनुसार जानकारीमा आएको बताए।

छानबिन समितिमा संसद् सचिवालयका सचिव प्रकाश अधिकारी संयोजक रहेका छन् भने संघीय संसद् सचिवालयका आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखा प्रमुख र प्रविधि व्यवस्थापन महाशाखा प्रमुख सदस्य रहेका छन्।

यसअघि सभामुखले घटनाबारे संसद् सचिवालयका कर्मचारीहरूसँग कानुनी तथा प्राविधिक परामर्श गरेका थिए भने संसद् भवनमा भएको क्षतिको विवरणसमेत संकलन गरिएको जनाइएको छ।

आइतबार प्रतिनिधिसभामा ‘प्रतिनिधि सभा नियमावली, २०८३’ पारित गर्ने प्रक्रिया चलिरहेका बेला विपक्षी दलहरूले नियमावलीमाथि परेका संशोधन थप छलफलका लागि संसदीय समितिमा पठाउन माग गरेका थिए।

तर सभामुखले दफावार छलफल सम्पन्न भइसकेको भन्दै संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरेपछि विपक्षी सांसदहरूले विरोध जनाएका थिए। त्यसक्रममा सांसदहरूले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए भने केही सांसदबीच घम्साघम्सी हुनुका साथै संसद्‌भित्र भौतिक क्षति समेत पुगेको थियो।

कानुनी रिक्तता टार्न संसद्‌मा हतार–हतार विधेयक पारित, राष्ट्रपतिबाट रातारात प्रमाणीकरण

0

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबार पटक–पटक स्थगित र सञ्चालन हुँदै चार पटक बसेको छ। विपक्षी दलहरूको अवरोध र सत्तारूढ दलका सांसदहरूको प्रतिवादबीच तनावपूर्ण बनेको बैठकबाट अन्ततः दुई महत्त्वपूर्ण विधेयक पारित गरिएको छ।

प्रतिनिधिसभाले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरेको हो। यसअघि प्रतिनिधिसभाबाट पारित भई राष्ट्रिय सभामा पुगेका यी विधेयक राष्ट्रिय सभाले संशोधनसहित फिर्ता पठाएको थियो। प्रतिनिधिसभाले राष्ट्रिय सभाका संशोधन स्वीकार गर्दै विधेयक पारित गरेको हो।

राति १० बजेपछि विधेयक पारित भएपछि सभामुख डोलप्रसाद अर्यालले प्रमाणित गरेका थिए। त्यसपछि संघीय संसद् सचिवालयले प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएको थियो। राष्ट्रपति कार्यालयले राति ११:२५ बजे राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भएको जानकारी सार्वजनिक गरेको थियो।

सरकारले यसलाई समयको चापसँग जोडेको छ। कानुनी व्यवस्थाअनुसार अध्यादेश संसद्को पहिलो बैठकमा पेस गर्नुपर्ने र पेस भएको ६० दिनभित्र दुवै सदनबाट पारित भई प्रमाणीकरण हुनुपर्ने प्रावधान छ। निर्धारित समयभित्र प्रक्रिया पूरा नभए कानुनी वैधता समाप्त हुने अवस्था आउने थियो।

यी दुवै विधेयकको कानुनी वैधता आइतबार राति १२ बजेसम्म मात्र कायम रहने भएकाले संसद्ले तीव्र प्रक्रियामार्फत विधेयक पारित गरेको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश शाक्यका अनुसार कानुनी रिक्तताको अवस्था सिर्जना हुन सक्ने जानकारीपछि राति नै प्रमाणीकरण प्रक्रिया अघि बढाइएको हो।

पूर्वसंसद् सचिव राजेन्द्र फुँयालका अनुसार अध्यादेश संसद्मा पेस भएपछि ६० दिनभित्र दुवै सदनबाट पारित, प्रमाणित र प्रमाणीकरण हुनैपर्ने कानुनी व्यवस्था भएकाले समयसीमाभित्र काम नसकिए कानुन स्वतः निष्क्रिय हुने अवस्था आउँछ।

मानव अधिकार आयोगको प्रतिवेदनविरुद्ध सर्वोच्च पुगे रास्वपा सांसद दीपक बोहोरा

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपक बोहोरा राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदनविरुद्ध कानुनी उपचार खोज्दै सोमबार सर्वोच्च अदालत पुगेका छन्।

गत वर्ष भदौमा भएको ‘जेनजी आन्दोलन’सँग सम्बन्धित घटनाको छानबिनपछि आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा बोहोरासहित रास्वपाका १५ सांसदलाई दोषी ठहर गर्दै कारबाही तथा थप अनुसन्धानका लागि सिफारिस गरेको थियो।

उक्त प्रतिवेदनले आफूहरूमाथि पूर्वाग्रही र अन्यायपूर्ण रूपमा दोषारोपण गरेको दाबी गर्दै सांसद बोहोराले प्रतिवेदन खारेजको मागसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गर्ने तयारी गरेका हुन्।

आयोगको प्रतिवेदन सार्वजनिक भएपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। रास्वपाले आयोगको निष्कर्षलाई राजनीतिक प्रतिशोध प्रेरित र आधारहीन भएको दाबी गर्दै आएको छ।

पूर्वगृहमन्त्री सुधन गुरुङबारे छानबिन समितिको प्रतिवेदन आज सरकारलाई बुझाइँदै

0

काठमाडौं । पूर्वगृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक रूपमा उठेका विषयमा अध्ययन तथा छानबिन गर्न गठित समितिले आज सरकारलाई राय–सुझावसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।

समितिका सदस्य अच्युतमणि नेउपानेका अनुसार गुरुङसँग बयान लिने, सम्पत्ति विवरण अध्ययन गर्ने लगायत कार्य सम्पन्न भइसकेकाले प्रतिवेदन बुझाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हो।

‘समितिलाई दिइएको कार्यादेशअनुसारको छानबिन प्रक्रिया पूरा भइसकेको छ, त्यसैले आजै प्रतिवेदन सरकारलाई बुझाउँछौँ,’ नेउपानेले बताएका छन्।

उनका अनुसार प्रतिवेदनमा प्रमाणका आधारमा निष्कर्षसहित राय प्रस्तुत गरिएको छ, जसमा दोषी वा निर्दोषबारे स्पष्ट धारणा समेटिएको जनाइएको छ।

मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य छन्।

समितिलाई प्रतिनिधिसभा सदस्यसमेत रहेका पूर्वगृहमन्त्री गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा सत्यतथ्य अध्ययन तथा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो।

व्यापारी दीपक भट्टसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। त्यसपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी २६ दिनमात्र उक्त पदमा रहेका थिए।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको हिरासतमा रहेका भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्सको सेयर खरिद प्रकरणपछि गुरुङमाथि थप प्रश्न उठेका थिए।

रकमको स्रोतबारे उठेका प्रश्नमा गुरुङले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको सेयर खरिद गरेको दाबी गर्दै आएका छन्।

रास्वपा सचिवालय बैठक आज बिहान बस्दै, संसद् बैठक लम्बिएपछि हिजोको बैठक स्थगित

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज (सोमबार) बिहान बस्ने भएको छ। हिजो आइतबार राति ८ बजेका लागि तय गरिएको भर्चुअल बैठक स्थगित भएपछि आज बिहान ८ बजेका लागि सारिएको हो।

पार्टीका अनुसार संसद् बैठक लम्बिएका कारण निर्धारित समयमा सचिवालय बैठक बस्न नसकेपछि बैठक आजका लागि सारिएको हो।

रास्वपाका प्रवक्ता मनिष झाले संसद् बैठक अपेक्षाभन्दा लामो समयसम्म चलेका कारण बैठक स्थगित गरेर सोमबार बिहानका लागि पुनः तय गरिएको जानकारी दिएका छन्।

रवि लामिछाने आज भारत भ्रमणमा, भाजपा नेतृत्वसँग उच्चस्तरीय भेटवार्ताको तयारी

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै छन्। भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष नितिन नवीनको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी भारत प्रस्थान गर्न लागेका हुन्।

रास्वपाका अनुसार लामिछाने दिउँसो १ बजे भारत जाने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा उनकी पत्नी निकिता, पार्टीका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहोरा तथा प्रदीप आचार्य सहभागी छन्।

रास्वपाले आइतबार राति जारी गरेको विज्ञप्तिअनुसार जेठ १८ देखि २२ गतेसम्म हुने भ्रमणका क्रममा सभापति लामिछानेले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको छ।

पार्टी प्रवक्ता मनीष झाले जारी गरेको विज्ञप्तिमा भाजपा नेतृत्वसँग छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय तथा पार्टी समर्थकहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ। भ्रमणका क्रममा व्यक्तिगत रूपमा अयोध्या जाने कार्यक्रम पनि तय भएको बताइएको छ।

नयाँदिल्लीस्थित नेपाली दूतावासले भ्रमणका विभिन्न कार्यक्रम समन्वय गरिरहेको जनाइएको छ।

रास्वपाले औपचारिक जानकारी सार्वजनिक गर्नुअघि नै भाजपाले पनि लामिछानेको भ्रमणबारे जानकारी सार्वजनिक गरेको थियो। भाजपाको विज्ञप्तिअनुसार प्रतिनिधिमण्डलले अध्यक्ष नितिन नवीनसहित पार्टीका वरिष्ठ नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ।

यद्यपि दुवै पक्षको विज्ञप्तिमा उल्लेख नगरिए पनि स्रोतका अनुसार भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री, विदेशमन्त्री तथा अन्य उच्च नेतृत्वसँग भेटवार्ताको प्रयास भइरहेको बताइएको छ। यद्यपि भेटघाटको अन्तिम समय भने तय भइसकेको छैन।

भारतीय विदेश सचिवको नेपाल भ्रमण स्थगित भएको र नेपालका नवनिर्वाचित प्रधानमन्त्रीको परम्परागत भारत भ्रमण अझै तय नभएको अवस्थामा सत्तारूढ दलका शीर्ष नेताको यो भ्रमणलाई राजनीतिक तथा कूटनीतिक रूपमा चासोका साथ हेरिएको छ।

भाजपाको वैदेशिक मामिला विभागका अनुसार भ्रमणको मुख्य उद्देश्य रास्वपा र भाजपाबीच पार्टी–टु–पार्टी सम्बन्ध विस्तार, संगठनात्मक अनुभव आदानप्रदान तथा लोकतान्त्रिक अभ्यासमा सहकार्य बढाउनु रहेको छ।

पश्चिमी वायु र न्यून चापीय रेखाको प्रभाव: आज पनि वर्षा, चट्याङ र हिमपातको सम्भावना

0

काठमाडौं । हाल देशमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पश्चिमदेखि पूर्वसम्म नेपाल नजिक सक्रिय न्यून चापीय रेखाको प्रभाव कायम रहेको छ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा आंशिक बदली रहेको मौसमविद्हरूले बताएका छन्।

मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ। कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा तथा कोशी र लुम्बिनीका तराई क्षेत्रमा एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको छ।

आज राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। सुदूरपश्चिम र कर्णालीका हिमाली तथा पहाडी भूभागसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दूध माग्दा ४ वर्षीय छोरामाथि बुबाको कुटपिट, बालकको मृत्यु

0

काठमाडौं । भारतको मुम्बईस्थित पवई क्षेत्रमा चार वर्षीय बालकको आफ्नै बाबुको कुटपिटबाट मृत्यु भएको छ। दूध मागेर रोएको निहुँमा आक्रोशित बनेका बाबुले छोरामाथि कुटपिट गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

पवईको गौतम नगर क्षेत्रमा बिहीबार बिहान भएको घटनामा ज्यान गुमाउने बालक ४ वर्षीय यश रहेको बताइएको छ। उनी परिवारका एक्ला छोरा थिए र शारीरिक रूपमा केही कमजोर रहेको जनाइएको छ।

प्रहरीका अनुसार घटनाका समयमा घरमा बालक र उनका बाबु राजेश सिंह मात्र थिए। बालककी आमा विगत दुई सातादेखि माइतीमा रहेकी थिइन्।

प्रारम्भिक अनुसन्धानअनुसार बिहीबार बिहान करिब ५ बजे बालकले दूध मागेका थिए। त्यसपछि बालक रोइरहेका बेला बाबु आक्रोशित बनेर कुटपिट गरेका थिए। कुटपिटका क्रममा बालकको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

घटनापछि अभियुक्तले आफ्नी दिदीलाई घटनाबारे जानकारी दिएका थिए। त्यसपछि घटनास्थल पुगेकी दिदीले बालकलाई मृत अवस्थामा देखेपछि प्रहरीमा उजुरी दिएकी थिइन्।

उजुरीपछि प्रहरीले राजेश सिंहलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ। पोस्टमार्टम रिपोर्टमा बालकको टाउकोमा गम्भीर चोट र अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको उल्लेख गरिएको छ।

प्रहरीले अभियुक्तलाई अदालतमा उपस्थित गराइसकेको छ भने अदालतले उनलाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राख्न अनुमति दिएको जनाएको छ।

बजेटमार्फत कर प्रणालीमा ठूलो पुनर्संरचना, पेट्रोलियमदेखि सुनसम्म विभिन्न करमा कटौती

0

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत नागरिक र व्यवसायीलाई राहत दिने उद्देश्यले विभिन्न कर तथा शुल्कहरू खारेज तथा कटौती गरेको छ। कर प्रणालीलाई व्यावहारिक बनाउने, आन्तरिक उत्पादन बढाउने र डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्ने लक्ष्यसहित नयाँ व्यवस्था ल्याइएको हो।

मुख्य कर कटौती तथा नयाँ व्यवस्था

  • पेट्रोलियम क्षेत्र:
    • प्रतिलिटर १० रुपैयाँ पूर्वाधार विकास कर खारेज
    • प्रतिलिटर ४ रुपैयाँ सडक मर्मत तथा सुधार दस्तुर खारेज
    • यी दुवैलाई समायोजन गरी ‘हरित कर’ (ग्रिन ट्याक्स) लागू, दर केही वृद्धि गरिएको
  • सुन तथा गहना:
    • २ प्रतिशत बिलासिता शुल्क पूर्ण रूपमा हटाइयो
    • सट्टामा ०.५ प्रतिशत ‘सीप प्रवर्द्धन शुल्क’ मात्र लाग्ने
  • सूचना प्रविधि (IT) क्षेत्र:
    • स्वेट इक्विटी सेयरलाई रोजगारी आयमा गणना नगर्ने
    • उक्त सेयरमा कर नलाग्ने व्यवस्था
  • संस्थागत सामाजिक उत्तरदायित्व (CSR):
    • CSR खर्चलाई करयोग्य आयको १ प्रतिशतको हदसम्म कर घटाउन मिल्ने
  • कृषि क्षेत्र:
    • फलफूल खेती, पशुपालन, पन्छीपालन, माछापालन र मौरीपालनमा संलग्न व्यक्ति/निकायलाई
    • करयोग्य आयको १२.५ प्रतिशत मात्र आयकर तिर्ने व्यवस्था

सरकारले यी व्यवस्थाबाट उत्पादनशील क्षेत्रलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरेको छ।

प्रधानमन्त्री बालेन शाहको नेतृत्व र ‘मौन कार्यशैली’बारे चर्चा, विकास र निर्णय प्रक्रियामा प्रभावको बहस

0

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहको नेतृत्व शैली र कार्यशैलीबारे पछिल्ला दिनमा विभिन्न तहमा चर्चा र बहस भइरहेको छ। उनका समर्थकहरूले उनको ‘मौन तर परिणाममुखी नेतृत्व’लाई सकारात्मक रूपमा व्याख्या गर्दै विकास र निर्णय प्रक्रियामा प्रभावकारी भएको दाबी गरेका छन्।

समर्थकहरूका अनुसार बालेन शाहले कम बोल्ने तर काममा बढी केन्द्रित हुने शैली अपनाउँदै आएको र यही कारणले सरकारको निर्णय प्रक्रिया तीव्र र परिणाममुखी बनेको दाबी गरिएको छ। उनीहरूले शान्त र संयमित नेतृत्वले दीर्घकालीन विकासमा योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गरेका छन्।

उनी निकट मानिने राजनीतिक वृत्तका केही व्यक्तिहरूले पनि प्रधानमन्त्रीको कार्यशैलीलाई ‘सुन्ने र विश्लेषण गर्ने क्षमता’मा आधारित रहेको भन्दै यसले निर्णयलाई बढी परिपक्व बनाउने तर्क गरेका छन्।

यसैबीच, विभिन्न राजनीतिक विश्लेषकहरूले भने यस्तो शैलीबारे मिश्रित धारणा राख्दै नेतृत्वमा पारदर्शिता, संवाद र सार्वजनिक जवाफदेहिताको आवश्यकता पनि उत्तिकै महत्वपूर्ण हुने बताएका छन्।

प्रधानमन्त्री शाहको नेतृत्वमा हाल सरकारद्वारा विभिन्न विकास तथा प्रशासनिक निर्णयहरू अघि बढिरहेको दाबी गरिए पनि ती कार्यहरूको प्रभाव र परिणामबारे विभिन्न कोणबाट मूल्यांकन भइरहेको छ।

राजनीतिक बहसमा उनको नेतृत्व शैलीलाई लिएर समर्थन र आलोचना दुवै जारी रहेका छन्।