Wednesday, June 17, 2026
Home Blog Page 16

‘प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा वार्ताको ढोका खोल्यो’ : अर्थमन्त्री वाग्ले

0

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रधानमन्त्रीको संसदमा आएको पछिल्लो अभिव्यक्तिपछि नेपाल–भारत सीमा विवादसम्बन्धी संवाद र वार्ताको वातावरण पुनः बनेको बताएका छन्।

राष्ट्रिय सभाका दलका नेताहरूसँग भएको छलफलमा अर्थमन्त्री वाग्लेले नेपालले नयाँ नक्सा जारी गरेपछि सीमा सम्बन्धी वार्ता प्रभावकारी रूपमा अघि बढ्न नसकेको भए पनि प्रधानमन्त्रीको अभिव्यक्तिले संवादको ढोका खोलेको बताएका हुन्।

स्रोतका अनुसार वाग्लेले बैठकमा भने, “सीमा विवादसम्बन्धी वार्ताको ढोका बन्दजस्तै भएको थियो, अहिले संवादको वातावरण बनेको छ। प्रधानमन्त्रीले सकारात्मक सन्देश दिन खोज्नुभएको हो।”

राष्ट्रिय सभा अवरुद्ध भइरहेका बेला वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई अघि बढाउने विषयमा छलफल गर्न अर्थमन्त्रीले दलका नेताहरूसँग परामर्श गरेका थिए। उक्त विधेयकमा राष्ट्रिय सभाले प्रतिनिधि सभामा तोकिएको समयभित्र सुझाव पठाउनुपर्ने व्यवस्था छ।

छलफलका क्रममा केही नेताहरूले प्रधानमन्त्रीले संसदमा आएर सीमा सम्बन्धी अभिव्यक्तिबारे स्पष्ट पार्नुपर्ने माग गरेका थिए। त्यसको जवाफमा अर्थमन्त्री वाग्लेले परराष्ट्र मन्त्रालयले जारी गरेको धारणा नै सरकारको आधिकारिक अडान भएको बताएका थिए।

दलका नेताहरूले प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर स्पष्टिकरण दिनुपर्ने अडान कायम राखेपछि छलफल निष्कर्षविहीन बनेको स्रोतको भनाइ छ।

यसैबीच, वैकल्पिक विकास वित्त परिचालन विधेयकलाई अर्थ विधेयकको श्रेणीमा राखिएकाले राष्ट्रिय सभाले यसमा सुझाव दिने अधिकार मात्रै राख्ने भएको छ। संविधानअनुसार अर्थ विधेयक प्रतिनिधि सभाबाट अघि बढ्ने व्यवस्था रहेकाले तोकिएको समयभित्र प्रक्रिया पूरा नभए राष्ट्रिय सभाको सुझावबिनै विधेयक प्रमाणीकरणका लागि अगाडि बढ्न सक्ने अवस्था देखिएको छ।

बुधबार राष्ट्रिय सभाको बैठकमा केही सांसदहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदमा आएर जवाफ दिनुपर्ने मागसमेत गरेका थिए।

विमान दुर्घटना गराएर सगरमाथा चढ्ने सनकी सपना : मोरिस विल्सनको अनौठो यात्राको दुःखद अन्त्य

0

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको इतिहासमा धेरै साहसी आरोहीहरूको नाम दर्ज भए पनि बेलायती नागरिक मोरिस विल्सनको प्रयास भने आज पनि सबैभन्दा अनौठो र रहस्यमय घटनामध्ये एक मानिन्छ। पर्वतारोहणको कुनै औपचारिक तालिम नलिएका विल्सनले सन् १९३४ मा सगरमाथा चढ्ने असामान्य योजना बनाएका थिए, जसको अन्त्य दुःखद रूपमा भयो।

प्रथम विश्वयुद्धमा घाइते भएका पूर्व सैनिक विल्सन आध्यात्मिक विश्वास र उपवासमार्फत मानव जीवनका समस्या समाधान गर्न सकिने धारणा राख्थे। आफ्ना विचारलाई विश्वभर चिनाउने उद्देश्यले उनले एक्लै सगरमाथा आरोहण गर्ने निर्णय गरेका थिए।

उनको योजना निकै असाधारण थियो। उनले एउटा सानो विमान खरिद गरेर बेलायतबाट तिब्बतसम्म उड्ने, सगरमाथा नजिकै विमान अवतरण वा दुर्घटना गराउने र त्यसपछि पैदल शिखरतर्फ जाने योजना बनाएका थिए। तर, पर्याप्त उडान अनुभव र पर्वतारोहण सीप बिना गरिएको यो प्रयास सुरुदेखि नै जोखिमपूर्ण थियो।

सरकारी प्रतिबन्धका बावजुद विल्सनले सन् १९३३ मा यात्रा सुरु गरे। विभिन्न देश पार गर्दै भारत पुगे पनि अन्ततः उनको विमान जफत भएपछि उनले स्थलमार्गबाट यात्रा जारी राखे। शेर्पा सहयोगीहरूको साथमा उनले तिब्बत हुँदै सगरमाथाको आधार क्षेत्रसम्म पुग्न सफलता हासिल गरे।

कडा मौसम, प्राविधिक सीपको अभाव र सीमित उपकरणका बाबजुद विल्सनले आरोहण प्रयास जारी राखे। उनी अन्ततः करिब ६,९०० मिटरभन्दा माथिको उचाइसम्म पुगेका थिए। तर, लगातार असफल प्रयासपछि उनले अन्तिमपटक एक्लै माथि जाने निर्णय गरे।

सन् १९३५ मा खोज टोलीले उनको शव सगरमाथाको उत्तरी क्षेत्रमा पालभित्र फेला पारेको थियो। उनको डायरीमा भेटिएको अन्तिम वाक्य थियो— “फेरि निस्किएँ, कस्तो सुन्दर दिन।”

मोरिस विल्सन सगरमाथा चढ्न सफल भएनन्। तर, सीमित साधन, अनुभवविना र केवल दृढ इच्छाशक्तिको भरमा उनले गरेको प्रयास आज पनि पर्वतारोहण इतिहासको सबैभन्दा अनौठो अध्यायका रूपमा सम्झिने गरिन्छ।

केरलमा १८ महिनाका बालकको क्रूर हत्या : शरीरमा ५१ चोट भेटिएपछि आमा र उनका साथी पक्राउ

0

तिरुवनन्तपुरम । दक्षिण भारतीय राज्य केरलमा १८ महिनाका एक बालकको क्रूर हत्या भएको घटनाले व्यापक आक्रोश र चिन्ता पैदा गरेको छ। प्रहरीले बालककी आमा र उनीसँग बस्दै आएका पुरुष साथीलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

प्रहरीका अनुसार बालकलाई अचेत अवस्थामा अस्पताल पुर्‍याइएको थियो। तर, चिकित्सकहरूले परीक्षणपछि उनलाई मृत घोषणा गरेका थिए। प्रारम्भिक रूपमा दुर्घटना वा अचानक स्वास्थ्य समस्या भएको दाबी गरिए पनि चिकित्सकहरूले बालकको शरीरमा देखिएका अस्वाभाविक चोटपटकपछि प्रहरीलाई जानकारी गराएका थिए।

फरेन्सिक पोस्टमार्टम रिपोर्टले बालकको शरीरमा ५१ वटा गम्भीर चोट रहेको पुष्टि गरेको छ। रिपोर्टअनुसार टाउको, छाती, पेट, हातखुट्टालगायत शरीरका विभिन्न भागमा पुराना र नयाँ चोटहरू भेटिएका छन्, जसले लामो समयदेखि हिंसा भइरहेको संकेत गरेको छ।

अनुसन्धानमा बालकमाथि निरन्तर शारीरिक यातना भएको आशंका गरिएको छ। प्रहरीका अनुसार पक्राउ परेका पुरुषले बालकमाथि कुटपिट गर्ने गरेको र आमाले त्यसलाई रोक्न नसकेको वा लुकाउन सहयोग गरेको विषयमा अनुसन्धान भइरहेको छ।

छिमेकीहरूको बयान तथा प्रारम्भिक प्रमाणअनुसार बालक सानो–साना कारणमा समेत हिंसाको शिकार हुने गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनाविरुद्ध हत्या, बाल हिंसा र क्रूरतासम्बन्धी कानुनी धाराअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको छ। घटनासँग सम्बन्धित थप प्रमाण, डिजिटल सामग्री तथा फरेन्सिक प्रतिवेदन संकलनको काम जारी रहेको प्रहरीले जनाएको छ।

यस घटनाले बाल सुरक्षा, घरेलु हिंसा र बालअधिकारको प्रभावकारी कार्यान्वयनबारे पुनः गम्भीर बहस सुरु गराएको छ।

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण, उडान प्रभावित

0

काठमाडौं । कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार इरानी ड्रोन तथा मिसाइल आक्रमण भएको कुवेतको सरकारी समाचार एजेन्सीले जनाएको छ। आक्रमणमा परी धेरै जना घाइते भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ।

प्रतिवेदनअनुसार आक्रमण विमानस्थलको टर्मिनल–१ (टी–१) क्षेत्रमा केन्द्रित भएको थियो। घटनापछि सुरक्षा अवस्थालाई मध्यनजर गर्दै विमानस्थलका उडानहरू अस्थायी रूपमा रोकिएका थिए भने केही उडानहरू अन्य विमानस्थलतर्फ डाइभर्ट गरिएको बताइएको छ।

कुवेत नागरिक उड्डयन प्राधिकरणलाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सीले विमानस्थल क्षेत्रको सुरक्षा अवस्था मूल्यांकन भइरहेको जनाएको छ।

यसैबीच, नागरिकहरूलाई क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीबाट खस्न सक्ने भग्नावशेषप्रति सतर्क रहन सरकारी निकायहरूले आग्रह गरेका छन्।

घटनापछि विमानस्थल क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने आक्रमणको थप विवरण आउन बाँकी रहेको जनाइएको छ।

दिल्लीको होटलमा भीषण आगलागी : २१ जनाको मृत्यु, सुरक्षा लापरबाहीमाथि अनुसन्धान सुरु

0

काठमाडौं । दक्षिण दिल्लीको मालवीय नगर क्षेत्रमा रहेको एक होटलमा बुधबार बिहान भएको भीषण आगलागीमा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ४० भन्दा बढी घाइते भएका छन्।

प्रहरीका अनुसार मालवीय नगरको हौज रानी क्षेत्रमा रहेको ‘फ्लरिस स्टे’ नामक बेड एन्ड ब्रेकफास्ट होटलमा बिहान करिब ८:५० बजे आगलागी भएको हो। प्रारम्भिक अनुमानअनुसार भवनको भुइँतलामा सञ्चालित रेस्टुरेन्टबाट आगो सुरु भएको हुनसक्ने बताइएको छ।

आगलागीपछि भवनभर बाक्लो धुवाँ फैलिएको थियो। ज्यान जोगाउन केही मानिसहरूले झ्यालबाट हाम फालेका थिए भने प्रहरी, दमकलकर्मी र स्थानीयको संयुक्त प्रयासमा ४० भन्दा बढी व्यक्तिको उद्धार गरिएको छ। घाइतेहरूलाई नजिकैका अस्पतालहरूमा उपचारका लागि पठाइएको छ। उद्धार कार्यमा खटिएका केही प्रहरीसमेत घाइते भएका छन्।

प्रहरीका अनुसार मृत्यु हुनेमध्ये अधिकांश विदेशी नागरिक रहेका छन्। उनीहरू भारतमा स्वास्थ्य उपचारका लागि आएका बिरामी तथा उनीहरूका आफन्त भएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ।

प्रारम्भिक अनुसन्धानले होटल सञ्चालनमा गम्भीर सुरक्षा कमजोरीहरू देखाएको छ। होटलसँग आवश्यक अग्नि सुरक्षा अनुमति (फायर एनओसी) नरहेको, सीमित अनुमति पाएर पनि अतिरिक्त कोठा सञ्चालन गरिएको तथा भवनभित्र पर्याप्त आपतकालीन निकास व्यवस्था नभएको पाइएको छ।

प्रहरीले होटल मालिक र सम्बन्धित पक्षविरुद्ध गैर–इरादतन हत्या लगायतका आरोपमा अनुसन्धान अघि बढाएको जनाएको छ। घटनापछि दिल्ली सरकारले उच्चस्तरीय छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको छ।

यस घटनाप्रति भारतका शीर्ष नेताहरूले दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् भने घाइते र प्रभावित परिवारका लागि राहत घोषणा गरिएको छ।

शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरण : पाँच युवा पक्राउ, ९ महिनापछि खुल्यो रहस्य

0

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरणमा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई दाह्राका टुक्रा तथा लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे–४ घर भई मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी–३ घर भई टोखा बस्ने २४ वर्षीय पुरन बोहरा तथा गोरखाको अजिरकोट–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाका अनुसार मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री–वितरण हुन लागेको विशेष सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो।

प्रहरीले सुरुमा राजिव, आयुष र टेकप्रसादलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनीहरूले हात्तीको दाह्रालाई टुक्रा–टुक्रा पारेर लुकाएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले राजिवको घर खानतलासी गर्दा हात्तीको दाह्राका दुई टुक्रा तथा लागूऔषध ट्रामाडोल १५० ट्याब्लेट बरामद गरेको थियो।

अनुसन्धानका क्रममा थप संलग्नता खुलेपछि प्रहरीले पुरन बोहरालाई नियन्त्रणमा लिएको थियो। पुरनको बयानका आधारमा मनमैजुस्थित सन्तबहादुर भुजेलको कोठाबाट थप दुई टुक्रा दाह्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपितहरूले चोरी गरिएको दाह्रा आपसमा बाँडफाँट गर्नका लागि टुक्रा–टुक्रा पारेका थिए। पक्राउ परेका पाँचै जनामाथि लागूऔषध तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा बरामद गरिएको दाह्रा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएको पुष्टि भएको प्रहरीले जनाएको छ। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा शीतल निवास परिसरमा तोडफोड र आगजनी भएको थियो। सोही क्रममा हराएका दुई थान हात्तीका दाह्रा करिब नौ महिनापछि फेला परेको प्रहरीले जनाएको छ।

राप्रपा विवाद उत्कर्षमा : धवलशम्शेर राणाले नयाँ दल गठन प्रक्रिया अघि बढाए

0

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेपछि नेता डा. धवलशम्शेर राणाले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक दल गठनको प्रक्रिया अघि बढाएका छन्।

राप्रपा छाडेर नयाँ राजनीतिक शक्ति निर्माणको तयारीमा रहेका राणाले अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई पार्टीमा फर्कन र महाधिवेशनमा सहभागी हुन गरेको सार्वजनिक आह्वानलाई अस्वीकार गर्दै त्यसलाई ‘भ्रमपूर्ण अभिव्यक्ति’ को संज्ञा दिएका छन्।

बुधबार जारी गरेको विज्ञप्तिमार्फत राणाले राप्रपाको केन्द्रीय समिति वैधानिक रूपमा निष्क्रिय भइसकेको दाबी गर्दै पार्टीभित्रको संगठनात्मक संकट गहिरिएको बताएका छन्।

उनले राप्रपाले २०७८ मा सम्पन्न गरेको एकता महाधिवेशनपछि पार्टी विधानअनुसार चार वर्षे कार्यकाल पूरा गरिसकेको र थप गरिएको समयावधिसमेत सकिएकाले अहिलेको नेतृत्व संरचनाले वैधानिक आधार गुमाइसकेको जिकिर गरेका छन्।

राणाका अनुसार महाधिवेशन समयमै सम्पन्न गर्नका लागि एक वर्षअघि नै सुझाव समिति गठन गरिएको थियो र उक्त समितिले समयमै महाधिवेशन गर्न लिखित सुझाव दिएको भए पनि नेतृत्वले त्यसलाई बेवास्ता गरेको आरोप लगाए।

अध्यक्ष लिङ्देनले महाधिवेशनको तालिका निर्माणको जिम्मेवारी आफूलाई दिइएको तर आफू उत्तरदायित्वबाट पन्छिएको आरोप लगाएको विषयमा राणाले आपत्ति जनाउँदै नेतृत्वले आफ्ना सुझाव र वैधानिक निर्णयहरू कार्यान्वयन नगरेको बताएका छन्।

उनले नेतृत्वको कार्यशैली, आत्मकेन्द्रित प्रवृत्ति र निर्णय प्रक्रियामाथि प्रश्न उठाउँदै त्यसकै कारण पार्टीले राजनीतिक प्रभाव, वैचारिक आधार र जनविश्वास गुमाउँदै गएको दाबी गरेका छन्।

राणाले राप्रपालाई अहिले ‘मक्किएको र अलपत्र परेको घर’ जस्तो अवस्था पुगेको टिप्पणी गर्दै पुराना राष्ट्रवादी शक्ति र समूहलाई नयाँ वैकल्पिक अभियानमा एकताबद्ध हुन आह्वान गरेका छन्।

नयाँ राष्ट्रवादी शक्ति निर्माणका लागि देशव्यापी रूपमा नयाँ मोर्चा र राजनीतिक दल गठनको अभियान अघि बढाउने संकेत गर्दै राणाले आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताएका छन्।

अध्ययन बिदा दुरुपयोग प्रकरण : ४१ त्रिवि प्राध्यापकले फिर्ता गरे १० करोडभन्दा बढी रकम

0

काठमाडौं । अध्ययन बिदाको नाममा लामो समयसम्म सेवामा नफर्किएर विश्वविद्यालयलाई आर्थिक नोक्सानी पुर्‍याएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्।

अध्ययन बिदाको दुरुपयोगबारे सरकारको चासो र सक्रियता बढेसँगै हालसम्म ४१ जना प्राध्यापकले नियमविपरीत बुझेको रकम फिर्ता गरिसकेको त्रिविले जनाएको छ। विश्वविद्यालयका अनुसार यसबाट १० करोड ४६ लाख ५६ हजार ८०४ रुपैयाँ त्रिविको पेन्सन कोषमा जम्मा भएको छ।

छानबिन समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार अध्ययन बिदामा गएर सेवामा नफर्किएका १९१ प्राध्यापकमध्ये ४१ जनाले रकम बुझाइसकेका छन्। साथै, थप ६२ जनाले रकम फिर्ता गर्न समितिसमक्ष निवेदन दिएका छन्, जसमध्ये ५४ जनालाई समितिले औपचारिक पत्राचार गरिसकेको छ।

त्रिविको नियमअनुसार शिक्षक तथा कर्मचारीले बढीमा पाँच वर्षसम्म अध्ययन बिदा पाउने व्यवस्था भए पनि अध्ययन बिदामा गएर सेवामा नफर्किने क्रम बढ्दा विश्वविद्यालयलाई दुई अर्ब रुपैयाँभन्दा बढी आर्थिक क्षति पुगेको अनुमान गरिएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको विशेष चासोपछि मन्त्रालयले कबुलियतनामाअनुसारको रकम फिर्ता प्रक्रिया तीव्र बनाउन निर्देशन दिएको थियो। त्यसपछि त्रिवि कार्यकारी परिषद्ले २०८१ पुस २५ गते डा. काफ्लेको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो।

समितिको अध्ययनअनुसार अध्ययन बिदा लिएर विदेश वा अन्यत्र गएर नफर्किएका १९१ जना तथा बिदा स्वीकृत गराएर पनि अध्ययन पूरा नगर्ने २०७ जना गरी कुल ३९८ प्राध्यापकबाट अध्ययन बिदाको दुरुपयोग भएको पाइएको छ।

समितिका अनुसार अध्ययन बिदाको दुरुपयोगका कारण विश्वविद्यालयले आर्थिक क्षतिमात्र होइन, शैक्षिक र नैतिक क्षति समेत व्यहोर्नुपरेको छ।

त्रिविका अनुसार बिदा दुरुपयोग गर्ने एक प्राध्यापकले न्यूनतम १० लाखदेखि अधिकतम ५० लाख रुपैयाँसम्म विश्वविद्यालयलाई फिर्ता गर्नुपर्ने देखिएको छ।

विश्वविद्यालय प्रशासनले अझै सम्पर्कमा नआएका प्राध्यापकहरूलाई तत्काल रकम फिर्ता गर्न आग्रह गरेको छ भने निर्धारित समयभित्र अटेर गर्नेहरूको नाम सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।

अन्नपूर्ण आरोहण दिवस : विश्व पर्वतारोहणको इतिहास बदल्ने हिमालको सम्झनामा विविध कार्यक्रम

0

गण्डकी । विश्व पर्वतारोहण इतिहासमा विशेष महत्त्व राख्ने अन्नपूर्ण हिमालको पहिलो सफल आरोहण भएको दिन जुन ३ लाई गण्डकी प्रदेशभर विभिन्न कार्यक्रमसहित मनाइँदै छ। अन्नपूर्ण हिमालले पोखरासहित समग्र गण्डकी प्रदेशलाई अन्तर्राष्ट्रिय पर्यटन नक्सामा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्‍याएको मानिन्छ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोग नेतृत्वको टोलीले म्याग्दीको नारच्याङ हुँदै उत्तरी मोहोडाबाट अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेको थियो। यही सफलतासँगै विश्व पर्वतारोहण क्षेत्रमा नयाँ अध्याय सुरु भएको मानिन्छ।

आठ हजार ९१ मिटर उचाइ रहेको अन्नपूर्ण प्रथम विश्वको पहिलो सफलतापूर्वक आरोहण गरिएको आठ हजार मिटरभन्दा अग्लो हिमाल हो। अन्नपूर्णको सफल आरोहणपछि मात्रै सन् १९५३ मा सर्वोच्च शिखर सगरमाथाको आरोहण सम्भव भएको इतिहासले देखाउँछ।

यस वर्ष पनि अन्नपूर्ण गाउँपालिका, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी, अन्नपूर्ण सेन्चुरी पर्यटन समिति लगायतका संघसंस्थाले विविध कार्यक्रम आयोजना गरेका छन्। अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण म्याराथनसमेत आयोजना गरेको जनाएको छ।

पर्यटन व्यवसायीहरूका अनुसार अन्नपूर्ण हिमालको सफल आरोहणपछि पोखरासहित गण्डकी प्रदेशमा विदेशी पर्यटक आगमन र पर्वतीय पर्यटनको विकासले गति लिएको हो। अन्नपूर्ण क्षेत्र अहिले विश्वप्रसिद्ध पदयात्रा गन्तव्यका रूपमा स्थापित छ।

गण्डकी प्रदेशमा अन्नपूर्ण, धवलागिरि, मनास्लुजस्ता प्रमुख हिमशृङ्खला रहे पनि पर्वतीय पर्यटनको सम्भावना अझै पूर्ण रूपमा उपयोग हुन नसकेको पर्यटन क्षेत्रका सरोकारवालाहरू बताउँछन्।

विशेषज्ञहरूका अनुसार अन्नपूर्ण संरक्षण क्षेत्र, पदयात्रा मार्ग, हिमाल आरोहण र साहसिक पर्यटनलाई एकीकृत रूपमा प्रवर्द्धन गर्न सके गण्डकी प्रदेशको पर्यटन क्षेत्रले अझ ठूलो लाभ लिन सक्नेछ।

अन्नपूर्ण क्षेत्र अहिले ‘अन्नपूर्ण सर्किट’, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक–मुल्डे–हिडन लेक लगायतका पदमार्गका कारण स्वदेशी तथा विदेशी पर्यटकको प्रमुख आकर्षणको केन्द्र बनेको छ।

समस्याग्रस्त सहकारीका सञ्चालकहरूको विवरण सार्वजनिक, सम्पत्ति लुकाएको सूचना दिन आग्रह

0

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषणा गरिएका विभिन्न सहकारी संस्थाका सञ्चालकहरूको विवरण सार्वजनिक गरेको छ।

समितिको २०८३ जेठ ८ गतेको निर्णयअनुसार बचतकर्ताको रकम फिर्ता, सम्पत्ति खोजी तथा दायित्व व्यवस्थापन प्रक्रियालाई थप प्रभावकारी र पारदर्शी बनाउने उद्देश्यले उक्त विवरण सार्वजनिक गरिएको जनाएको छ।

सार्वजनिक विवरणमा समस्याग्रस्त घोषित सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूको नाम, ठेगाना र पारिवारिक विवरणसमेत समावेश गरिएको छ।

कार्यालयका अनुसार हालसम्म हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो संसार बहुउद्देश्यीय सहकारी संस्था तथा नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था लगायतका संस्थाका पदाधिकारीहरूको नामावली सार्वजनिक सूचीमा समावेश गरिएको छ।

कार्यालयले प्रकाशित विवरणमा कुनै त्रुटि, फरक जानकारी वा अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित पक्षलाई तत्काल सम्पर्क गर्न आग्रह गरेको छ।

यसैबीच, सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा लुकाएर राखिएको जानकारी भए गोप्य रूपमा सूचना उपलब्ध गराउन आम नागरिकलाई पनि अनुरोध गरिएको छ।

समितिले समस्याग्रस्त सहकारीका सञ्चालकहरूलाई आफ्नो दायित्व फछ्र्योट गर्न, ऋण असुली प्रक्रियामा सहकार्य गर्न तथा सम्पत्ति पहिचान र व्यवस्थापनमा पूर्ण सहयोग गर्न निर्देशन दिएको छ।

तोकिएको समयभित्र सहयोग नगरे वा अटेर गरे प्रचलित कानुनअनुसार कडा कानुनी प्रक्रिया अघि बढाइने चेतावनीसमेत कार्यालयले दिएको छ।