Wednesday, June 3, 2026
Homeअपराध र घटनाशीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरण : पाँच युवा पक्राउ, ९...

शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरण : पाँच युवा पक्राउ, ९ महिनापछि खुल्यो रहस्य

काठमाडौं । राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रा प्रकरणमा प्रहरीले पाँच जना युवालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई दाह्राका टुक्रा तथा लागूऔषधसहित नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर–९ मनमैजुका २५ वर्षीय राजिव महर्जन, गोरखाको धार्चे–४ घर भई मनमैजु बस्ने २६ वर्षीय टेकप्रसाद गुरुङ, काठमाडौं महानगरपालिका–१७ का २७ वर्षीय आयुष महर्जन, बैतडीको डिलासैनी–३ घर भई टोखा बस्ने २४ वर्षीय पुरन बोहरा तथा गोरखाको अजिरकोट–४ घर भई मनमैजु बस्ने २० वर्षीय सन्तबहादुर भुजेल रहेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी शरद थापाका अनुसार मनमैजु क्षेत्रमा हात्तीको दाह्रा बिक्री–वितरण हुन लागेको विशेष सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो।

प्रहरीले सुरुमा राजिव, आयुष र टेकप्रसादलाई नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनीहरूले हात्तीको दाह्रालाई टुक्रा–टुक्रा पारेर लुकाएको खुलेको प्रहरीले जनाएको छ। प्रहरीले राजिवको घर खानतलासी गर्दा हात्तीको दाह्राका दुई टुक्रा तथा लागूऔषध ट्रामाडोल १५० ट्याब्लेट बरामद गरेको थियो।

अनुसन्धानका क्रममा थप संलग्नता खुलेपछि प्रहरीले पुरन बोहरालाई नियन्त्रणमा लिएको थियो। पुरनको बयानका आधारमा मनमैजुस्थित सन्तबहादुर भुजेलको कोठाबाट थप दुई टुक्रा दाह्रा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आरोपितहरूले चोरी गरिएको दाह्रा आपसमा बाँडफाँट गर्नका लागि टुक्रा–टुक्रा पारेका थिए। पक्राउ परेका पाँचै जनामाथि लागूऔषध तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा बरामद गरिएको दाह्रा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएको पुष्टि भएको प्रहरीले जनाएको छ। गत भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा शीतल निवास परिसरमा तोडफोड र आगजनी भएको थियो। सोही क्रममा हराएका दुई थान हात्तीका दाह्रा करिब नौ महिनापछि फेला परेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका