Wednesday, June 17, 2026
Home Blog Page 11

नेपाल र हङकङ आज एसियन गेम्स छनोटको उपाधिका लागि भिड्दै

0

काठमाडौं । एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताको फाइनल खेलमा आज (सोमबार) नेपाल र हङकङ आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार दिउँसो १२ः१५ बजे सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा सुरु हुनेछ।

नेपालले सेमिफाइनलमा ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो। जितका लागि ओमानले दिएको ९५ रनको सामान्य लक्ष्य नेपालले ९.२ ओभरमै २ विकेट गुमाएर पूरा गरेको थियो।

नेपालको जितमा लोकेश बमले सर्वाधिक ४४ रनको योगदान दिए। ओपनर कुशल भुर्तेलले २० रन बनाए भने कप्तान रोहित पौडेल २१ रनमा अविजित रहे।

बलिङतर्फ ओमानका समिर ओथामनले २ विकेट हात पारेका थिए।

यसअघि ब्याटिङ गरेको ओमानका लागि कप्तान सफियान मोहम्मदले सर्वाधिक ३८ रन बनाए। जुबिर अली अकबरले २२ तथा अब्दुल्जाली खानले १६ रन जोडे पनि टोलीलाई फाइनलमा पुर्‍याउन पर्याप्त भएन।

उत्कृष्ट लयमा रहेको नेपाल आज हङकङविरुद्ध जित निकाल्दै प्रतियोगिताको उपाधि आफ्नो नाममा पार्ने लक्ष्यसहित मैदान उत्रनेछ।

दुई संसदीय समितिको बैठक बस्दै

0

काठमाडौं । संघीय संसदअन्तर्गतका दुई संसदीय समितिको बैठक आज बस्दै छन्। आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिसंघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति को बैठक बिहान ११ बजेका लागि तय गरिएको छ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाको प्रगति, व्यवस्थापन तथा समग्र अवस्थाबारे सम्बन्धित विभाग र आयोजना पक्षसँग छलफल गरिने कार्यसूची रहेको छ।

त्यसैगरी, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा कर्णाली प्रदेश मा सम्पन्न स्थलगत अनुगमन तथा अन्तरक्रिया कार्यक्रमबाट तयार पारिएको प्रतिवेदनमाथि विस्तृत छलफल हुने जनाइएको छ।

दुवै समितिका बैठकबाट सम्बन्धित विषयमा आवश्यक सुझाव, निष्कर्ष तथा आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।

कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईमा तातो बढ्ने

0

काठमाडौं । नेपालमा हाल उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसका कारण देशका विभिन्न क्षेत्रमा मौसममा आंशिक बदलीको अवस्था देखिएको छ।

हाल पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहने सम्भावना छ। साथै अन्य हिमाली क्षेत्रमा पनि बादल लाग्ने अनुमान गरिएको छ। मधेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अधिकांश तराई क्षेत्रमा मौसम सफा रहनेछ।

मौसमविद्का अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।

यता, मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तापक्रम बढ्ने क्रम जारी रहने र केही स्थानमा तातो दिन (हिट डे) को अवस्था रहने सम्भावना रहेको छ।

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी भूभागमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बसपार्क क्षेत्रका अतिक्रमित संरचना स्थानीयले आफैं हटाउन थाले

0

पोखरा । पोखरा महानगरपालिका–स्थित बसपार्क क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका घर तथा अन्य भौतिक संरचनाहरू स्थानीयवासीले स्वेच्छिक रूपमा हटाउन थालेका छन्।

महानगरपालिकाले उक्त क्षेत्र खाली गर्न जारी गरेको १५ दिने सूचनाको समयसीमा आइतबार सकिन लागेसँगै स्थानीयले आफ्ना घरटहरा भत्काउने तथा सामान सुरक्षित स्थानमा सार्ने कार्य तीव्र बनाएका हुन्।

व्यवस्थित बसपार्क निर्माणको दीर्घकालीन योजनालाई सहयोग पुर्‍याउने उद्देश्यले जग्गाधनी तथा स्थानीय बासिन्दाले संरचना हटाउने अभियानमा साथ दिएका छन्। उनीहरूले क्षेत्रको विकास र सार्वजनिक पूर्वाधार निर्माणका लागि आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको बताएका छन्।

स्थानीयका अनुसार विगतमा १ लाख ५० हजार रुपैयाँ तिरेर लालपुर्जा प्राप्त गरिएको भए पनि बसपार्क निर्माणजस्तो महत्त्वपूर्ण परियोजनाका लागि सहज वातावरण सिर्जना गर्नु सबैको साझा दायित्व हो।

यसैबीच, बसपार्क निर्माणका लागि विसं २०३० मा अधिग्रहण गरिएको जग्गासम्बन्धी सट्टापट्टा, बिक्री–वितरण तथा क्षतिपूर्ति प्रक्रियामा उठेका गुनासा र विवादहरूको अध्ययन तथा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ।

पोखरा उपत्यका नगर विकास समिति ले पूर्वन्यायाधीश शंकरराज बराल को अध्यक्षतामा जेठ १३ गते समिति गठन गरेको हो। समितिलाई १५ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।

समितिको प्रतिवेदनपछि बसपार्क निर्माणसँग सम्बन्धित विवाद तथा प्रक्रियागत विषयमा थप स्पष्टता आउने अपेक्षा गरिएको छ।

विदेशी मुद्राको विनिमयदर सार्वजनिक: अमेरिकी डलर १५२ रुपैयाँ नजिक, युरो १७७ रुपैयाँभन्दा माथि

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। सार्वजनिक विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य स्थिर उच्च स्तरमा कायम रहेको छ। एक अमेरिकी डलरको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ।

राष्ट्र बैंकका अनुसार युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७७ रुपैयाँ १७ पैसा कायम गरिएको छ। त्यसैगरी, बेलायती पाउण्ड स्टर्लिङको खरिददर २०४ रुपैयाँ २५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०६ पैसा तोकिएको छ। स्वीस फ्रयाङ्क एकको खरिददर १९२ रुपैयाँ ५१ पैसा तथा बिक्रीदर १९३ रुपैयाँ २७ पैसा रहेको छ।

अष्ट्रेलियन डलरको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा निर्धारण गरिएको छ भने क्यानेडियन डलरको खरिददर १०९ रुपैयाँ २५ पैसा र बिक्रीदर १०९ रुपैयाँ ६८ पैसा कायम गरिएको छ। सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ १५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६२ पैसा रहेको छ।

एसियाली मुद्रातर्फ जापानी येन १० को खरिददर ९ रुपैयाँ ४८ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा तोकिएको छ। चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४१ पैसा र बिक्रीदर २२ रुपैयाँ ५० पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ।

मध्यपूर्वका मुद्रामध्ये साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ३८ पैसा र बिक्रीदर ४० रुपैयाँ ५४ पैसा, कतारी रियालको खरिददर ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७९ पैसा तथा युएई दिरामको खरिददर ४१ रुपैयाँ २८ पैसा र बिक्रीदर ४१ रुपैयाँ ४५ पैसा कायम गरिएको छ।

यता, नेपाली बजारमा व्यापक रूपमा कारोबार हुने भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

कानुन निर्माणमा सरोकारवालाको सहभागिता अनिवार्य : सभामुख अर्याल

0

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रभावकारी कानुन निर्माणका लागि सरोकारवाला पक्षहरूको सहभागिता अपरिहार्य रहेको बताएका छन्।

शनिबारदेखि टिकापुरमा सुरु भएको अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले कानुन बनेपछि मात्र प्रभावित पक्षले जानकारी पाउने परम्परागत अभ्यास परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याए। कृषक, व्यवसायी, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत सम्बन्धित पक्षसँग पूर्वपरामर्श गरेर मात्रै व्यवहारिक र प्रभावकारी कानुन निर्माण सम्भव हुने उनको भनाइ थियो।

उनले ई–पार्लियामेन्ट तथा प्रविधिमैत्री संसदीय अभ्यासको आवश्यकता औँल्याउँदै राज्य सञ्चालनमा आधुनिक प्रविधिको प्रयोग बढाउनुपर्ने बताए। नयाँ पुस्ताले उठाइरहेका सुशासन, पारदर्शिता, जवाफदेहिता र सुधारका विषयलाई गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने उनको धारणा थियो।

सभामुख अर्यालले सम्मेलनमा सहभागी सातै प्रदेशका सभामुख तथा संघीय संसदका प्रतिनिधिहरूले सुदूरपश्चिम प्रदेशका लागि ठोस सन्देश र परिणाममुखी निष्कर्ष निकाल्नुपर्नेमा जोड दिए। साथै, आगामी दिनमा प्रदेशस्तरीय सम्मेलन आयोजना गर्दा सम्बन्धित प्रदेश सभाको प्रत्यक्ष अवलोकन र सहभागितालाई प्राथमिकता दिनुपर्ने सुझाव पनि दिए।

उनले विगतका सम्मेलनबाट भएका निर्णयहरूको कार्यान्वयन अवस्थाको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै धेरै निर्णयभन्दा कार्यान्वयनयोग्य र परिणाममुखी निर्णयलाई प्राथमिकता दिनुपर्ने बताए।

सभामुख अर्यालले संघ, प्रदेश र स्थानीय तहबीचको सहकार्य, समन्वय र संवादलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। तीनै तहका सरकारबीच प्रतिस्पर्धा होइन, साझेदारी र सहकार्यको भावना बलियो हुनुपर्ने उनको भनाइ थियो।

टिकापुरको ऐतिहासिक, सामाजिक तथा विकासात्मक महत्त्वको चर्चा गर्दै उनले सम्मेलनले यस क्षेत्रका विकास र सम्भावनासँग जोडिएका विषयमा पनि ध्यान दिनुपर्ने बताए। सम्मेलनका क्रममा आफूले शुक्लाफाँटा क्षेत्रका पूर्वाधार तथा टिस्यु कल्चर केन्द्रको निरीक्षण गरेको जानकारी दिँदै निर्माण सम्पन्न भएका पूर्वाधारहरूको प्रभावकारी सञ्चालन र उपयोगमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

संघीयता कार्यान्वयनका क्रममा संघीय संसद र प्रदेश सभाबीच समन्वय, सहयोग, सहकार्य तथा सहअस्तित्वलाई सुदृढ बनाउने उद्देश्यका साथ अन्तर व्यवस्थापिका मञ्चद्वारा सम्मेलन आयोजना गरिएको हो। सम्मेलनको व्यवस्थापन सुदूरपश्चिम प्रदेश सभा सचिवालयले गरेको छ।

रास्वपाको जिल्ला अधिवेशन जारी, आज २९ जिल्लामा नेतृत्व चयन हुँदै

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन अभियान आज पनि जारी रहेको छ। पार्टीले आइतबार देशका विभिन्न २९ जिल्लामा जिल्ला अधिवेशन आयोजना गरेको जनाएको छ।

रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार आज कोशी प्रदेशका ४, मधेश प्रदेशका ४, बागमती प्रदेशका २, गण्डकी प्रदेशका ४, लुम्बिनी प्रदेशका ३, कर्णाली प्रदेशका ६ तथा सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा अधिवेशन हुँदैछ।

यसअघि शनिबार देशका ३६ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भएको थियो। संगठनात्मक विशेष परिस्थितिका कारण बारा जिल्लाको अधिवेशन भने जेठ २६ गतेका लागि सारिएको पार्टीले जनाएको छ।

रास्वपाले प्रथम राष्ट्रिय महाधिवेशनअघि ७७ जिल्लामध्ये ६७ जिल्लामा अधिवेशन सम्पन्न गर्ने लक्ष्य लिएको छ। सो लक्ष्यअनुसार अधिकांश जिल्लामा संगठन निर्माण तथा नेतृत्व चयनको प्रक्रिया सम्पन्न हुने अपेक्षा गरिएको छ।

पार्टीका अनुसार बाँकी १० जिल्लाको अधिवेशन भने राष्ट्रिय महाधिवेशनपछि आयोजना गरिनेछ। जिल्ला अधिवेशनमार्फत संगठन सुदृढीकरण तथा आगामी महाधिवेशनको तयारीलाई तीव्रता दिइएको रास्वपाले जनाएको छ।

नेपाल–भारतबीच डिजिटल भुक्तानी, पुनर्निर्माण र एआई सहकार्यमा तीन महत्वपूर्ण सहमति

0

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच सीमापार डिजिटल भुक्तानी सेवा विस्तार, भूकम्पपछिको पुनर्निर्माण सम्पन्न आयोजनाको हस्तान्तरण तथा कृत्रिम बौद्धिकता (एआई) प्रविधिमा सहकार्य गर्ने विषयमा तीन महत्वपूर्ण सहमति भएका छन्।

नयाँदिल्लीस्थित नेपाली दूतावासद्वारा जारी विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भएको द्विपक्षीय भेटवार्ताका क्रममा उक्त सहमतिहरू सार्वजनिक गरिएका हुन्।

सहमतिअनुसार नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) बीच सन् २०२३ मा भएको समझदारी कार्यान्वयन गर्दै व्यक्ति–व्यक्तिबीच (पीटूपी) सीमापार डिजिटल भुक्तानी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ। यस सेवामार्फत नेपाल र भारतका नागरिकले डिजिटल माध्यमबाट सहज रूपमा रकम पठाउन तथा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।

यसबाट दुवै देशका यात्रु, विद्यार्थी, श्रमिक तथा सीमापार व्यापार व्यवसायमा संलग्न नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास गरिएको छ। हालसम्म नेपालमा भारतीय पर्यटकले डिजिटल भुक्तानी सुविधा प्रयोग गर्दै आए पनि भारतमा नेपाली नागरिकले यस्तो सुविधा उपयोग गर्न पाएका थिएनन्।

त्यसैगरी, भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएका भूकम्पपछिका ८४ पुनर्निर्माण आयोजनाको औपचारिक हस्तान्तरणको घोषणा गरिएको छ। तीमध्ये ७२ वटा स्वास्थ्य पूर्वाधारसँग सम्बन्धित छन् भने १२ वटा आयोजना सांस्कृतिक सम्पदा संरक्षणसँग सम्बन्धित रहेका छन्।

भेटवार्ताका क्रममा काठमाडौं विश्वविद्यालय इन्जिनियरिङ विद्यालयअन्तर्गतको ‘इन्जिनियरिङ सेन्टर फर डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर एन्ड आर्टिफिसियल इन्टेलिजेन्स’ र भारतको ‘डिजिटल इन्डिया भाषिणी’ डिभिजनबीच ‘भ्वाइस–फर्स्ट’ भाषा अनुवाद प्लेटफर्मका लागि राष्ट्रिय डिजिटल पूर्वाधार विकाससम्बन्धी समझदारीपत्र पनि आदानप्रदान गरिएको छ। यस सहकार्यले एआईमा आधारित बहुभाषिक डिजिटल सेवाको विकास तथा प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यसैबीच, परराष्ट्रमन्त्री खनालले भारतीय सञ्चारमाध्यम एनडिटिभीसँगको अन्तर्वार्तामा नेपालको नयाँ सरकारले भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन चाहेको बताएका छन्। विगतका असहजता र मतभेदलाई पछाडि छोड्दै सहकार्यको नयाँ अध्याय सुरु गर्ने लक्ष्य रहेको उनको भनाइ थियो।

उनले कनेक्टिभिटी, ऊर्जा, व्यापार तथा प्रविधि साझेदारीलाई आगामी दिनमा नेपाल–भारत सम्बन्धका प्रमुख प्राथमिकताका रूपमा अघि बढाउने नीति सरकारले लिएको समेत स्पष्ट पारे।

देशभर आंशिक बदली, कोशीसहित केही क्षेत्रमा वर्षा र चट्याङको सम्भावना

0

काठमाडौं, असार ७ — नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ। यसको प्रभावका कारण देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, मधेश र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ। कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली–पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षाको सम्भावना रहेको छ। साथै, मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

यस्तै, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा गर्मी बढ्दै तातो दिनको अवस्था रहने सम्भावना छ।

आज राति पनि कोशी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईका अधिकांश क्षेत्रमा मौसम मुख्यतः सफा रहने पूर्वानुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ।

मौसमविद्हरूले मेघगर्जन, चट्याङ तथा वर्षाको सम्भावना रहेका क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन्।

सोनम वाङचुक जन्तर–मन्तर आन्दोलनमा सहभागी, शिक्षा प्रणालीमाथि उठ्यो प्रश्न

0

काठमाडौं। सामाजिक अभियन्ता तथा शिक्षाविद् सोनम वाङचुक शनिबार भारतको नयाँ दिल्लीस्थित जन्तर–मन्तरमा भइरहेको प्रदर्शनमा सहभागी भएका छन्। प्रारम्भिक जानकारीअनुसार उनी आन्दोलनकारीहरूसँगै उपस्थित भएर ऐक्यबद्धता जनाएका हुन्, यद्यपि उनले कार्यक्रमबारे विस्तृत धारणा सार्वजनिक गरेका छैनन्।

भारतमा मेडिकल प्रवेश परीक्षा नीट–यूजी २०२६ को प्रश्नपत्र चुहावट तथा सीबीएसईको अनलाइन मूल्यांकन प्रणाली (ओएसएम) मा भएको भनिएको अनियमितताको विरोधमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले उक्त प्रदर्शन आयोजना गरेको हो।

प्रदर्शनकारीहरूले शिक्षा प्रणालीमा पारदर्शिता र उत्तरदायित्वको माग गर्दै केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरेका छन्। कार्यक्रममा सरकारविरुद्ध नाराबाजीसमेत गरिएको थियो।

सीजेपीका संस्थापक अभिजित दिपके अमेरिकाको बोस्टनबाट दिल्ली पुगेर आन्दोलनको नेतृत्व गरिरहेका छन्। आन्दोलनका क्रममा शिक्षा प्रणालीमा देखिएको भनिएको अनियमितताप्रति असन्तुष्टि जनाउँदै सहभागीहरूले विभिन्न नाराबाजी गरेका थिए।

वाङचुकको उपस्थितिलाई लिएर सामाजिक सञ्जालमा समेत चर्चा भइरहेको छ। यद्यपि, उनको सहभागिताको उद्देश्य तथा भूमिकाबारे थप आधिकारिक जानकारी आउन बाँकी रहेको बताइएको छ।