Saturday, May 2, 2026
Home Blog Page 10

रुस–युक्रेन युद्ध चर्कियो: १३८ क्षेत्रमा रुसी प्रहार, तेल स्टेशनमा युक्रेनी ड्रोन आक्रमण

0

एजेन्सी। रुसले बिहीबार आफ्नो सेनाले पछिल्लो २४ घण्टामा १३८ क्षेत्रहरूमा युक्रेनी लक्ष्यहरूमाथि आक्रमण गरेको जनाएको छ। यता, युक्रेनी सेनाले पनि सोही दिन रुसको नोभगोरोड क्षेत्रमा रहेको एक तेल पम्पिङ स्टेशनमा ड्रोन आक्रमण गरेको दाबी गरेको छ।

रुसी रक्षा मन्त्रालयका अनुसार रुसी सेनाले ऊर्जा र यातायात पूर्वाधारका साथै युक्रेनी सेना र विदेशी भाडाका सैनिकहरूको अस्थायी तैनाथी स्थलहरूमा व्यापक प्रहार गरेको छ।

रुसी वायु रक्षा प्रणालीले १० वटा निर्देशित बम र ४१८ वटा फिक्स्ड-विङ ड्रोनहरू खसालेको दाबी गरिएको छ।

यसैबीच, युक्रेनको सशस्त्र बलको जनरल स्टाफले आफ्नो वायु सेना, मिसाइल तथा तोपखाना एकाइहरूले रुसी सेनाका उपकरण भेला हुने क्षेत्र र कमाण्ड पोस्टहरूमा आक्रमण गरेको जनाएको छ। साथै, १,९४१ वटा ड्रोनहरू खसालिएको पनि दाबी गरिएको छ।

युक्रेनी सञ्चार माध्यमहरूले सुरक्षा सेवाका एक स्रोतलाई उद्धृत गर्दै युक्रेनी ड्रोनहरूले रुसको निज्नी नोभगोरोड क्षेत्रस्थित गोर्की तेल पम्पिङ स्टेशनमा आक्रमण गर्दा आगलागी भएको बताएका छन्।

ठेक्का हेरफेर आरोपमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ

0

काठमाडौं। राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री विक्रम पाण्डे आज पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए।

प्रवक्ता श्रेष्ठका अनुसार सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनाधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्कासम्बन्धी विवरण हेरफेर गरेको आरोपमा पाण्डेलाई पक्राउ गरिएको हो।

यसै प्रकरणमा भीषण कन्ट्रक्सनका सञ्चालक टङ्ककुमार श्रेष्ठलाई पनि पक्राउ गरिएको सिआइबीले जनाएको छ। उनीहरूविरुद्ध ठेक्काको आर्थिक प्रस्ताव खोल्नुअघि नै उक्त प्रस्तावसम्बन्धी कागजात परिवर्तन गरेको उजुरीका आधारमा साइबर ब्यूरो, भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता भएको थियो।

उक्त कसुरमा पक्राउ परेकामाथि अहिले सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस प्रकरणमा हालसम्म ९ जना शङ्कास्पद व्यक्तिहरू पक्राउ परेका छन् र अनुसन्धान जारी रहेको प्रवक्ता श्रेष्ठले बताए।

प्रधानमन्त्री बालेन शाहको प्रतिबद्धता: देशभरका वास्तविक सुकुम्बासीलाई जग्गा वितरण हुन्छ

0

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले देशभरका वास्तविक सुकुम्बासीहरूको पहिचान गरी यथाशीघ्र जग्गा वितरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रधानमन्त्री शाहले वर्षौँदेखिको सुकुम्बासी समस्याको स्थायी समाधान गर्ने सरकारको तयारी रहेको स्पष्ट पारे ।

नदीकिनारमा बसोबास गर्नेहरूको सुरक्षा र उपत्यकाको ढल निकास प्रणाली सुधारका लागि उनीहरूको स्थानान्तरण आवश्यक रहेको उनले बताए। उनका अनुसार हरेक वर्षको बाढीका कारण काठमाडौँका नदीकिनारमा बसोबास गर्नेहरू ज्यान जोगाउन सामान छोडेर भाग्नुपर्ने अवस्था छ, त्यसैले उनीहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्नु नागरिकको अधिकार हो।

थापाथली, गैरीगाउँ र मनोहरा लगायतका क्षेत्रमा रहेका बस्तीहरूलाई मानवीय ढंगले, बल प्रयोग नगरी सुरक्षित रूपमा स्थानान्तरण गरिने उनले जानकारी दिए। ती बस्तीहरूका कारण ढल निकासमा अवरोध पुग्दा काठमाडौँ फोहोर बन्नुका साथै नदीहरू दुर्गन्धित भएको भन्दै उनले स्थानान्तरणलाई उपत्यकाको समग्र व्यवस्थापन र सौन्दर्यका लागि आवश्यक बताए।

प्रधानमन्त्री शाहले सुकुम्बासी समस्या समाधान आफ्नो चुनावी वाचा र सरकारको १०० दिने कार्ययोजनामा समेत समावेश रहेको स्मरण गराए। साथै, अतिक्रमणकारी र वास्तविक सुकुमबासीबीच स्पष्ट छुट्याएर मात्रै प्रक्रिया अघि बढाइने उनले बताए।

‘काठमाडौँका खोला किनार र देशका अन्य क्षेत्रका समस्या फरक छन्। हामी अतिक्रमणकारी र सुकुम्बासी छुट्याएर वास्तविक पीडितहरूलाई प्रक्रिया पुर्‍याएर जग्गा वितरण गर्छौँ,’ प्रधानमन्त्री शाहले भने।

स्थानीय तहका उम्मेदवार छान्ने खाका तयार पार्न रास्वपाले बनाएको समिति

0

काठमाडौं। स्थानीय तह निर्वाचन आउन अझै एक वर्ष बाँकी रहे पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तयारी सुरु गरेको छ ।पार्टीले केन्द्रमा जस्तै स्थानीय तहमा पनि व्यवस्थित रूपमा उम्मेदवार छनोट गर्ने रूपरेखा तयार पार्ने योजना अघि बढाएको
छ। यसअन्तर्गत ‘क्याण्डिडेट क्लब’ मार्फत उम्मेदवार छनोट गर्ने विधि तय गर्न लागिएको सहमहामन्त्री विपिनकुमार आचार्यले जानकारी दिएका छन् ।

संघीय निर्वाचनमा तयार पारिएको उम्मेदवार छनोट प्रणाली पूर्ण रूपमा लागू गर्न नसकेको रास्वपाले यसपटक भने स्थानीय तहमा पूर्ण कार्यान्वयन गर्ने लक्ष्य लिएको छ ।

यसका लागि वैशाख ७ गते बसेको केन्द्रीय समितिको बैठकले आचार्यकै नेतृत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको छ । समितिमा रामकुमार ढुंगाना सचिव छन् भने प्रतिनिधि सभा सदस्य समीक्षा बास्कोटा र केपी खनाल सदस्य रहेका छन् । त्यसैगरी कामिनी चौधरी, रामकृष्ण भट्टराई र डिल्लिश्वोर कमार्की (रोहन) पनि सदस्यका रूपमा रहेका छन् ।

समितिको पहिलो बैठकसमेत सम्पन्न भइसकेको छ । बिहीबार बसेको बैठकले पार्टीका सबै तहका संरचनाबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ ।

निर्णयअनुसार वैशाख १४ गते वडा तहमा छलफल गरी पालिकामा सुझाव पठाइनेछ । वैशाख १६ गते पालिका तहमा छलफलपछि जिल्लामा, वैशाख १७ गते जिल्लाबाट प्रदेशमा र वैशाख १८ गते प्रदेशबाट केन्द्रमा सुझाव पठाउने कार्यतालिका तय गरिएको छ ।

सुझाव संकलनका क्रममा सम्बन्धित समितिका सभापति अनुपस्थित भए उपसभापतिको नेतृत्वमा भौतिक वा भर्चुअल माध्यमबाट छलफल गरी सुझाव पठाउन निर्देशन दिइएको छ ।

तनाव कम गर्ने सजिलो उपाय: दैनिक संगीत सुन्नुहोस्

0

काठमाडौं । आजभोलि जीवनशैली अत्यन्तै व्यस्त र भागदौडपूर्ण बन्दै जाँदा मानिसहरूमा तनावको स्तर बढ्दै गएको छ । व्यावसायिक र व्यक्तिगत समस्याले धेरैलाई मानसिक दबाबमा राखेको छ, जसका कारण मानिसहरू तनाव घटाउने उपाय खोजिरहेका छन् ।

धेरैले तनाव कम गर्न चिया, चुरोट वा मदिराको सहारा लिन्छन् । तर बिना कुनै खर्च सजिलै अपनाउन सकिने प्रभावकारी उपाय भने संगीत हो । नियमित रूपमा संगीत सुन्ने बानीले मुड सुधार्नुका साथै शरीर र दिमागमा सकारात्मक असर पार्छ ।

स्वास्थ्यसम्बन्धी अध्ययनअनुसार, मनपर्ने संगीत सुन्दा मस्तिष्कमा ‘फिल गुड’ हर्मोन निस्किन्छ, जसले तनाव र चिन्ता कम गर्न मद्दत गर्छ । साथै, संगीतले शरीरमा कोर्टिसोल (तनाव हर्मोन) को स्तर घटाएर दिमागलाई शान्त बनाउँछ ।

यदि राति निदाउन समस्या हुन्छ भने सुत्नुअघि मन्द र शान्त संगीत सुन्नु लाभदायक हुन्छ । यसले शरीरलाई आराम दिई राम्रो निद्रामा सहयोग पुर्‍याउँछ ।

त्यसैगरी, हल्का इन्स्ट्रुमेन्टल संगीतले ध्यान र एकाग्रता बढाउन मद्दत गर्छ । अध्ययन वा कामका क्रममा यस्तो संगीत सुन्दा ध्यान भंग नहुने भएकाले धेरैले यसलाई उपयोग गर्ने गरेका छन् ।

संगीतले भावनात्मक रूपमा पनि ठूलो प्रभाव पार्छ । मन खिन्न भएको बेला मनपर्ने गीतले तुरुन्तै मुड सुधार्न सक्छ र सकारात्मक सोच विकास गर्न मद्दत गर्दछ ।

केही अनुसन्धानहरूले संगीतले मुटुको स्वास्थ्यमा समेत राम्रो प्रभाव पार्ने देखाएका छन् । शान्त संगीतले रक्तचाप नियन्त्रण गर्न र मुटुको धड्कन स्थिर राख्न सहयोग पुर्‍याउँछ ।

स्वास्थ्य विज्ञहरूका अनुसार, दैनिक केही समय संगीत सुन्नु सरल तर प्रभावकारी बानी हो । यसले मानसिक शान्ति दिनुका साथै शारीरिक स्वास्थ्यमा पनि सुधार ल्याउन मद्दत गर्छ । त्यसैले, आफ्नो दैनिक जीवनमा संगीतलाई समावेश गर्नु उपयोगी हुन सक्छ ।

कांग्रेस संसदीय दलको नेता चयन आज, तीन जनाबीच कडा प्रतिस्पर्धा

0

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ ।

पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीको संयोजकत्वमा गठन गरिएको निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार बिहीबार मतदाताको नामावली प्रकाशित गरिएको थियो । समितिमा केन्द्रीय सदस्य मुना भुसाल र अधिवक्ता राजु कटवाल सदस्य छन् ।

आजै उम्मेदवारी दर्ता र मतदान हुने कार्यक्रम छ । उम्मेदवारी दर्ता दिउँसो ३ बजेदेखि र मतदान अपराह्न ५ बजेदेखि सुरु हुने तय गरिएको छ ।

कांग्रेसबाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सांसद छन् । प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषद्को सदस्यसमेत हुने भएकाले यो पदका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ ।

हालसम्म भीष्मराज आङ्देम्बे, अर्जुननरसिंह केसी र मोहन आचार्यले दलको नेताका लागि दाबी प्रस्तुत गरेका छन् । तीनै जनाले आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास तीव्र बनाएका छन् ।

पार्टीभित्र विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधर गरी दुई धार देखिएको छ । केसी र आचार्य संस्थापन (विशेष महाधिवेशन पक्षधर) नजिक मानिन्छन् भने आङ्देम्बे नियमित महाधिवेशन पक्षधर हुन् ।

आचार्य रसुवाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने आङ्देम्बे र केसी समानुपातिक प्रणालीबाट संसद्मा आएका हुन् । केसी कांग्रेसका वरिष्ठ तथा अनुभवी सांसदका रूपमा चिनिन्छन् भने आङ्देम्बे दोस्रो संविधानसभा निर्वाचनबाट सभासद् बनेका थिए ।

पार्टीभित्र समर्थनको समीकरण पनि विभाजित देखिएको छ । आङ्देम्बेलाई उपसभापति विश्वप्रकाश शर्मा, पूर्वसभापति शेरबहादुर देउवा पक्ष र डा. शेखर कोइराला समूहको समर्थन रहेको बताइएको छ ।

उता सभापति गगन थापासहित केही पदाधिकारी भने केसीको पक्षमा देखिएका छन् । यद्यपि, पारिवारिक आरोप नलागोस् भन्ने चिन्ताले थापा स्वयं स्पष्ट रूपमा अघि नबढेको बताइन्छ ।

महामन्त्री प्रदीप पौडेलका अनुसार सर्वसम्मत रूपमा नेता चयन गर्ने प्रयास भए पनि सफल हुन सकेको छैन । सहमति नजुटेमा निर्वाचनमार्फत नै नेता चयन हुने निश्चित देखिएको छ ।

कांग्रेसको संसदीय इतिहासमा २०६४ पछि दलको नेता निर्वाचनबाटै चयन हुँदै आएको छ । यसपटक पनि आन्तरिक गुटबन्दीका कारण मतदानबाटै नेता चयन हुने सम्भावना प्रबल देखिएको छ ।

आजको विनिमयदर: डलर १५० रुपैयाँ नजिक, कुन मुद्रा कति?

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

आजका लागि अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ ।

यस्तै, युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा तथा बेलायती पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११० रुपैयाँ ३७ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११८ रुपैयाँ १४ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ९९ पैसा र बिक्रीदर २२ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । साउदी रियाल एकको खरिददर ४० रुपैयाँ ०७ पैसा र बिक्रीदर ४० रुपैयाँ २३ पैसा तथा कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ २२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ३९ पैसा तोकिएको छ ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४ रुपैयाँ ६५ पैसा, यूएई दिराम एकको खरिददर ४० रुपैयाँ ९२ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०८ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०७ पैसा कायम गरिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २६ पैसा र बिक्रीदर १६ रुपैयाँ ३२ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ४९ पैसा र बिक्रीदर २३ रुपैयाँ ५९ पैसा तोकिएको छ ।

हङकङ डलर एकको खरिददर १९ रुपैयाँ १९ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, कुवेती दिनार एकको खरिददर ४९० रुपैयाँ १५ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर ३९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३९९ रुपैयाँ ४२ पैसा तथा ओमानी रियाल एकको खरिददर ३९० रुपैयाँ ३३ पैसा र बिक्रीदर ३९१ रुपैयाँ ८९ पैसा कायम गरिएको छ ।

यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कस्ता रहला आज देशभरको मौसम ?

0

काठमाडौं । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज (शुक्रबार) मधेश प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्र तथा उपत्यका र खोँचहरूमा तातो दिन रहने सम्भावना छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहर चल्ने संकेत पनि देखिएको छ ।

आज कोशी प्रदेशलगायत अन्य हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहनेछ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, बागमती र गण्डकीका पहाडी तथा हिमाली क्षेत्र, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

आज राति कोशी प्रदेशका हिमाली र पहाडी भू–भाग तथा बागमती, गण्डकी र कर्णालीका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य स्थानमा मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

होर्मुज जलडमरूमध्य नखोल्ने इरानको अडान, क्षेत्रीय तनाव तीव्र

0

तेहरान । इरानले अमेरिकी नौसेनाको नाकाबन्दी जारी रहेसम्म स्ट्रेट अफ होर्मुज पुनः नखोल्ने स्पष्ट अडान लिएको छ।

युद्धविराम लम्ब्याइए पनि व्यवहारमा उल्लङ्घन भइरहेको आरोप लगाउँदै इरानले उक्त रणनीतिक जलमार्गमा नियन्त्रण कडा बनाएको छ र दुई विदेशी जहाज नियन्त्रणमा लिएको जनाएको छ।

यसैबीच क्षेत्रीय तनाव बढ्दै जाँदा डोनाल्ड ट्रम्पले युद्धविराम केही समय कायम राख्ने घोषणा गर्दै पाकिस्तानको मध्यस्थतामा शान्ति वार्तालाई अवसर दिन चाहेको बताएका छन्। इरानले पाकिस्तानको पहललाई स्वागत गरे पनि अमेरिकी घोषणाबारे थप प्रतिक्रिया दिएको छैन।

इस्लामाबादमा भएको प्रारम्भिक वार्तामा इरानी टोलीका प्रमुख मोहम्मद बाघेर घालीबाफले नाकाबन्दी जारी रहँदा युद्धविरामको अर्थ नरहने बताएका छन्।

फेब्रुअरी २८ मा इजरायलसंयुक्त राज्य अमेरिकाले इरानमाथि आक्रमण गरेपछि तेल बजारमा अस्थिरता बढेको छ। युद्ध पुनः भड्किने आशंकाले मूल्य उकालो लागिरहेको छ।

इरानले इस्लामिक रिभोलुसनरी गार्ड कर्प्समार्फत होर्मुज हुँदै जाने दुई जहाज नियन्त्रणमा लिएको जनाएको छ। समुद्री निगरानी संस्थाहरूले पनि उक्त क्षेत्रमा सैन्य गतिविधि बढेको पुष्टि गरेका छन्।

यसैबीच पेन्टागनले अमेरिकी नौसेनाका सचिव जोन फेलानले पद छोड्ने घोषणा गरेको जनाएको छ, यद्यपि कारण खुलाइएको छैन।

इरानले अब होर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूले अनुमति लिनुपर्ने व्यवस्था लागू गरेको छ। दुवै पक्षले एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप लगाइरहेका छन्।

उता, इजरायल–लेबनान सीमा क्षेत्रमा पनि तनाव जारी छ। आक्रमणमा थप जनधन क्षति भएको जनाइएको छ। इमानुएल म्याक्रोनले संयुक्त राष्ट्रसंघका शान्तिरक्षकहरूमाथि भएको आक्रमणमा एक फ्रान्सेली सैनिकको मृत्यु भएको जानकारी दिएका छन्।

क्षेत्रीय तनाव बढिरहेकाले कूटनीतिक प्रयास जारी रहे पनि स्थिति अझै संवेदनशील बनेको छ।