Friday, June 26, 2026
Homeअन्तराष्ट्रियसैनिक पोसाकमा युद्ध चलिरहेको क्षेत्रमा पुगे रूसी राष्ट्रपति पुटिन

सैनिक पोसाकमा युद्ध चलिरहेको क्षेत्रमा पुगे रूसी राष्ट्रपति पुटिन

काठमाडौं: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनको सीमामा रहेको कुर्स्क प्रान्तको भ्रमण गरेका छन्। सेनाको पोशाकमा देखिएका पुटिनले मोर्चामा रहेका कमाण्ड पोस्टको निरीक्षण गर्दै युक्रेनी सेना धेरै क्षेत्रबाट फिर्ता भएकोमा सन्तोष व्यक्त गरे।

क्रेमलिनले सार्वजनिक गरेका तस्बिरहरूमा पुटिन हरियो पोशाकमा डेस्कमा बसेका देखिन्छन्, जहाँ अगाडि विभिन्न सैन्य नक्साहरू राखिएका थिए। सोही अवसरमा रूसका उच्च सैन्य अधिकारी जनरल भ्यालेरी गेरासिमोभ पनि उपस्थित थिए।

गत वर्ष अगस्टमा युक्रेनले कुर्स्कमा आक्रमण गरेको थियो। यद्यपि, त्यहाँका केही क्षेत्रहरू अझै पनि युक्रेनी सेनाको नियन्त्रणमा छन्। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले ती भूभागलाई रूससँग शान्तिवार्ता र युद्धविराम सम्झौतामा साट्न चाहेको बताइएको छ।

राष्ट्रपति पुटिनको यो भ्रमण साउदी अरेबियामा अमेरिकी र युक्रेनी प्रतिनिधिहरूबीच भएको बैठकपछि भएको हो। सो बैठकमा युक्रेनले ३० दिनको युद्धविराम प्रस्तावमा सहमति जनाएको थियो, जुन अमेरिका रूससमक्ष प्रस्तुत गर्न चाहन्छ। तर, रूसले यसअघि नै अस्थायी युद्धविरामको सम्भावनालाई अस्वीकार गरिसकेको छ।

पुटिनले अस्थायी युद्धविराम युक्रेनी सेनाको पक्षमा मात्र रहने दाबी गर्दै भने, “यसले युद्धभूमिमा पछि परेको युक्रेनी सेनालाई पुनः संगठित हुन र सैन्य तयारी गर्न मद्दत गर्छ।”

रूसले पश्चिमी देशहरूसँग बृहत् सुरक्षा सम्झौताका लागि आग्रह गरिरहेको छ, जसमा युक्रेनलाई नेटोमा समावेश नगर्ने ग्यारेन्टी मागिएको छ। पुटिनले डिसेम्बरमा नै बताएका थिए, “हामीलाई युद्धविराम होइन, शान्ति चाहिन्छ। रुस र यसको नागरिकका लागि सुरक्षा ग्यारेन्टीसहितको शान्ति आवश्यक छ।”

कुर्स्क भ्रमणका क्रममा पुटिनले पक्राउ परेका युक्रेनी सैनिकहरूलाई आतंककारीका रूपमा व्यवहार गर्न निर्देशन दिए। जनरल गेरासिमोभका अनुसार कारबाहीमा ४०० भन्दा बढी युक्रेनी सैनिकहरू पक्राउ परिसकेका छन्।

पुटिनले विदेशी भाडाका सैनिकहरू जेनेभा कन्भेन्सन अन्तर्गत नपर्ने दाबी गर्दै भने, “रूसविरुद्धको युद्धमा विदेशी सैनिकहरू पनि युक्रेनी पक्षमा लडिरहेका छन्।” यसै सन्दर्भमा, रूसले कुर्स्क नजिकै युक्रेनको लागि लडिरहेका २२ वर्षीय बेलायती नागरिकलाई पक्राउ गरी आतंकवादको आरोपमा १९ वर्षको जेल सजाय सुनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका