काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सुकुमबासी बस्ती हटाउने क्रममा प्रभावित विद्यार्थीहरूको सुरक्षा र शैक्षिक सहजीकरण सुनिश्चित गर्न ६ बुँदे सर्कुलर जारी गरेको छ।
मन्त्री सस्मित पोखरेलको निर्देशनपछि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अव्यवस्थित बस्ती हटाउँदा विद्यार्थीहरूको परीक्षा व्यवस्थापन, प्रभावित क्षेत्रमा रहेका विद्यालयहरूको समायोजन तथा समन्वय प्रभावकारी बनाउन विभिन्न निर्देशन तथा अनुरोध जारी गरेको हो।
केन्द्रले सुकुमबासी बस्ती हटाउँदा प्रभावित विद्यार्थीहरूलाई नजिकको विद्यालयमा स्थानान्तरण गर्न स्थानीय तहहरूलाई सहजीकरण गर्न अनुरोध गरेको छ।
विशेषगरी सोमबारदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूलाई परीक्षा केन्द्रसम्म पुग्न आवश्यक सहयोग पुर्याउन तथा विद्यालय नै प्रभावित भएको स्थानमा वैकल्पिक व्यवस्था मिलाउन आग्रह गरिएको छ।



