Friday, July 17, 2026
Homeअन्तराष्ट्रियसाउदीको सुरक्षाका लागि पाकिस्तानले पठायो सैनिक र लडाकु विमान

साउदीको सुरक्षाका लागि पाकिस्तानले पठायो सैनिक र लडाकु विमान

इस्लामावाद । इरानबाट सम्भावित आक्रमणको जोखिम बढेपछि पाकिस्तानले साउदी अरेबियाको सुरक्षाका लागि ठूलो संख्यामा सैनिक, लडाकु विमान र आधुनिक हवाई रक्षा प्रणाली पठाएको छ।

अमेरिका र इरानबीच जारी तनाव अन्त्यका लागि मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले साउदीसँगको आपसी रक्षा सम्झौताअनुसार सैन्य सहयोग बढाएको हो।

सुरक्षा स्रोतहरूका अनुसार साउदीमाथि थप आक्रमण भएमा त्यहाँको सेनालाई सहयोग गर्न पाकिस्तानले युद्ध–सक्षम सैन्य बल खटाएको छ। यसअन्तर्गत चीनसँग संयुक्त रूपमा निर्माण गरिएको जेएफ–१७ लडाकु विमानसहित करिब १६ वटा विमानको एक स्क्वाड्रन साउदी पठाइएको बताइएको छ।

यसका साथै पाकिस्तानले ड्रोनका दुई स्क्वाड्रन र चीनमा निर्मित एचक्यु–९ हवाई रक्षा प्रणाली पनि साउदीमा तैनाथ गरेको जनाएको छ।

यो सैन्य बन्दोबस्तमा करिब आठ हजार सैनिक समावेश रहेका छन्। आवश्यक परे थप सैनिक पठाउन सकिने संकेत पनि पाकिस्तानले दिएको छ। सैन्य उपकरण सञ्चालनका लागि पाकिस्तानी प्राविधिक र सुरक्षाकर्मी नै खटिनेछन् भने सम्पूर्ण खर्च साउदी अरेबियाले व्यहोर्ने बताइएको छ।

साउदी अरेबियाले लामो समयदेखि पाकिस्तानलाई आर्थिक सहयोग गर्दै आएको छ। गत वर्ष दुई देशबीच भएको रक्षा सम्झौतामा कुनै एक देशमाथिको आक्रमणलाई दुवैमाथिको आक्रमण मानिने व्यवस्था गरिएको थियो।

साउदीमा यसअघि नै करिब १० हजार पाकिस्तानी सैनिक तैनाथ रहेका छन्। अमेरिका र इसराइलको आक्रमणपछि इरानले खाडी क्षेत्रका विभिन्न देशतर्फ आक्रमण तीव्र बनाएपछि साउदीको सुरक्षा थप संवेदनशील बनेको बताइएको छ।

पाकिस्तानले हाल आफू रक्षात्मक सहयोगमा मात्र सीमित रहेको जनाएको छ। तर, साउदी अरेबिया प्रत्यक्ष युद्धमा सहभागी भएमा रक्षा सम्झौताका कारण पाकिस्तानमाथि पनि युद्धमा सामेल हुन दबाब बढ्न सक्ने विश्लेषण गरिएको छ।

यही जोखिमलाई ध्यानमा राख्दै पाकिस्तानले एकातर्फ साउदीलाई सुरक्षा सहयोग गरिरहेको छ भने अर्कोतर्फ अमेरिका र इरानबीच युद्ध अन्त्य गराउन कूटनीतिक प्रयासलाई पनि निरन्तरता दिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका