काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा देखिएका धेरै समस्याहरू समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
शनिबार ललितपुरमा आयोजित बृहत्त शैक्षिक सम्मान कार्यक्रममा अध्यक्ष दाहालले पञ्चायतकालीन ऐनको प्रभावका कारण परिवर्तित सन्दर्भका समस्या समाधान गर्न नसकिएको उल्लेख गर्दै विद्यालय शिक्षा विधेयक पारित भएपछि शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार आउने धारणा व्यक्त गरे ।
उनले नागरिकका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक कानुनहरू अझै बन्न नसकेको स्वीकार्दै संघीय संसदको चालू अधिवेशनबाट महत्वपूर्ण विधेयकहरू पारित हुने विश्वास व्यक्त गरे ।
शिक्षाले मुलुकको समग्र विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उनले विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न उपयुक्त वातावरण निर्माण गर्नु सबैको साझा जिम्मेवारी भएको बताए ।
अध्यक्ष दाहालले मुलुकमा राजनीतिक व्यवस्था परिवर्तन भए पनि जनताको जीवनस्तरमा उल्लेखनीय सुधार नआएको स्वीकार्दै शिक्षा, स्वास्थ्य, रोजगारी र आर्थिक समृद्धिलाई प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गरे ।
साथै, उनले जनतामा बढ्दै गएको निराशालाई उपयोग गर्दै परिवर्तनविरोधी शक्तिहरू सक्रिय हुन सक्ने चेतावनी दिंदै संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामाथि हुनसक्ने षड्यन्त्रप्रति सबै सचेत रहनुपर्ने बताए ।


