Sunday, April 26, 2026
Homeअन्तराष्ट्रिय"युक्रेनमा पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो"- पुटिन

“युक्रेनमा पहिले नै पूर्ण क्षमताका साथ हमला गर्नुपर्थ्यो”- पुटिन

मस्को: रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो वार्षिक पत्रकार सम्मेलनमा रुसले पहिले नै पूर्ण क्षमताका साथ युक्रेनमाथि आक्रमण गर्नुपर्ने बताएका छन्। उनले युद्धको तयारीमा केही रणनीतिक चुक भएको स्वीकार गर्दै, रुसले २०२२ मा युक्रेनमाथि आक्रमण गर्ने विस्तृत योजना बनाउने जरुरी रहेको बताए।

चार घण्टाभन्दा बढी समय चलेको यो पत्रकार सम्मेलनमा पुटिनले युद्ध, सिरियाको अवस्था, रुसको आणविक कार्यक्रम, मुद्रास्फीति, र अमेरिकी राजनीति लगायतका विषयमा खुलेर आफ्ना विचार राखे।

युक्रेन युद्ध: पुटिनले भने, “रुसले युद्धको लागि अझ राम्रोसँग तयारी गर्नुपर्थ्यो। हामीले हाम्रो क्षमताको उपयोग गरिरहेको भए अहिले परिस्थिति फरक हुने थियो।”
सिरिया र बसर अल-असद: सिरियाको संकटबारे बोल्दै उनले त्यहाँको अवस्था अत्यन्तै जटिल रहेको बताए। तर, सिरियामा रुसको भूमिका हार नभएको पनि उनले स्पष्ट पारे। “सिरियाका पूर्व राष्ट्रपति बसर अल-असदलाई रुसले निरन्तर समर्थन गर्दै आएको छ,” पुटिनले भने।
डोनाल्ड ट्रम्प: अमेरिका र रुसबीचको सम्बन्धबारे पुटिनले भने, “हामीले चार वर्षदेखि भेट गरेका छैनौं। तर, डोनाल्ड ट्रम्पले चाहेमा म उनलाई भेट्न तयार छु।”

बीबीसी रसियाका सम्पादक रोजेनबर्गले पुटिनलाई सोधे, “बोरिस येल्तसिनको कार्यकालको तुलनामा अहिले रुस कस्तो अवस्थामा छ?”
जवाफमा पुटिनले भने, “रुसले आफ्नो सार्वभौमसत्ता पुनः प्राप्त गरेको छ। यस अर्थमा हामी थप मजबुत भएका छौं।”

पुटिनले बढ्दो मुद्रास्फीतिबारे चिन्ता व्यक्त गर्दै, यसलाई नियन्त्रण गर्न सरकारले तत्काल कदम चाल्ने बताए। आणविक कार्यक्रमबारे भने, “रुसको आणविक क्षमता सुरक्षित छ, र यो हाम्रो रणनीतिक शक्ति हो,” उनले भने।

पुटिनको यो वार्षिक पत्रकार सम्मेलनले रुसको हालको रणनीतिक, आर्थिक, र कूटनीतिक अवस्थाबारे जानकारी दिन सफल भएको छ। पत्रकार सम्मेलनले युक्रेन युद्ध र सिरियाको अवस्थालाई विशेष प्राथमिकता दिएको थियो। साथै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्भावित भेटघाट र रुस-अमेरिका सम्बन्धले आगामी वर्ष कस्तो मोड लिन्छ भन्ने चासो बढाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका