लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष डा. हेमराज शर्माले नेपालमा शिक्षामन्त्रीसँगको भेटमा विदेश अध्ययनमा जाने विद्यार्थीका लागि प्रस्थानपूर्व सूचना, गन्तव्य देशमा सहयोग प्रणाली र स्वदेश फर्किएपछि रोजगारीमा प्रवेश सहज बनाउने विषयमा छलफल भएको बताएका छन्।
एनआरएनए युकेले नेपाली दूतावास लन्डनसँगको सहकार्यमा शुक्रबार आयोजना गरेको ‘द प्लग’ कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले आफू शैक्षिक क्षेत्रबाट आएकाले विद्यार्थीका समस्या नजिकबाट बुझेको उल्लेख गरे। उनले स्वास्थ्य बिमा नभएका देशमा जाने विद्यार्थीका लागि बिमा अनिवार्यजस्तै बनाउन सुझाव दिए।
उनले एनआरएनए केन्द्रीय कार्यालयमार्फत विदेश जानुअघि काउन्सिलिङ सुरु गर्ने तयारी भइरहेको र शैक्षिक परामर्शदातृ संस्था (इकान) सँग सहकार्यबारे छलफल भइरहेको जानकारी दिए। १८३ दिनभन्दा बढी विदेशमा बसेका विद्यार्थीलाई एनआरएनए सदस्यता दिनुपर्नेमा उनले जोड दिए। दूतावास र विभिन्न संस्थासँग मिलेर करियर फेयर, कानुनी सल्लाह लगायत सहयोग कार्यक्रम सञ्चालन गर्न सकिने पनि उनले बताए। साथै, उपाध्यक्षको संयोजकत्वमा पहिलो पटक ‘विद्यार्थी कल्याण समिति’ गठन गरिएको जानकारी दिए।
चेस्टर विश्वविद्यालयका ग्लोबल इम्प्याक्ट तथा अनुसन्धान डीन प्रा. पदम सिम्खडाले अन्तर्राष्ट्रिय विद्यार्थीले बेलायती अर्थतन्त्र र उच्च शिक्षामा पुर्याएको योगदान उल्लेख गरे। उनका अनुसार बेलायतमा करिब २.८६ मिलियन विद्यार्थी अध्ययनरत छन्, जसमध्ये करिब ७ लाख अन्तर्राष्ट्रिय विद्यार्थी हुन्।
उनले सन् २०२१/२२ मा अन्तर्राष्ट्रिय विद्यार्थीबाट बेलायतको अर्थतन्त्रमा ४१.९ अर्ब पाउन्ड योगदान पुगेको र शुद्ध लाभ ३७.४ अर्ब पाउन्ड रहेको बताए। नेपाल अहिले बेलायतमा अन्तर्राष्ट्रिय विद्यार्थी पठाउने पाँचौँ ठूलो देश बनेको उल्लेख गर्दै सन् २०२५ डिसेम्बरसम्म १९,५५३ नेपाली विद्यार्थीले अध्ययन भिसा पाएको जानकारी दिए।
यद्यपि नेपाली विद्यार्थीले आर्थिक दबाब, शैक्षिक अनुकूलन र व्यावसायिक सञ्जालको अभावजस्ता चुनौती भोगिरहेको उनले बताए। “नेपाली विद्यार्थी सक्षम छन्, तर आफूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप विकास गर्न आवश्यक छ,” उनले भने।
भर्चुअल माध्यमबाट सहभागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता शिवकुमार सापकोटाले सरकारले विद्यार्थीको हित संरक्षणमा प्रतिबद्ध रहेको बताए। विदेश अध्ययन प्रक्रियामा हुने ठगीविरुद्ध कडा कारबाही गरिने चेतावनी दिँदै उनले अध्ययनपछि स्वदेश फर्केर राष्ट्र निर्माणमा योगदान दिन आग्रह गरे।
विद्यार्थी प्रतिनिधि प्रेष्टा खनालका अनुसार बेलायतमा हाल २० हजारभन्दा बढी नेपाली विद्यार्थी छन्। आवास, रोजगारी र सांस्कृतिक अनुकूलन मुख्य समस्या रहेको उल्लेख गर्दै उनले वार्षिक १५–२० हजार पाउन्डसम्म शुल्क र मासिक करिब ९०० पाउन्ड खर्चका कारण विद्यार्थी आर्थिक दबाबमा पर्ने गरेको बताइन्।


