लन्डन । बेलायतअन्तर्गत इङ्ग्ल्याण्ड, स्कटल्यान्ड र वेल्समा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली मूलका उम्मेदवारहरूको उल्लेख्य सहभागिता देखिएको छ।
१३६ स्थानीय काउन्सिलका ५ हजार १४ सिटका लागि भएको निर्वाचनमा लेबर, कन्जरभेटिभ, लिबरल डेमोक्र्याट, ग्रिन तथा जेरेमी कोर्बिन नेतृत्वको ‘योर पार्टी’बाट समेत नेपाली मूलका उम्मेदवार मैदानमा उत्रिएका छन्।
लन्डनको रोयल बरो अफ ग्रिनिचमा पूर्व मेयर जीत रानाभाट प्लमस्टिड एण्ड ग्लिन्डन वार्डबाट उम्मेदवार बनेका छन् भने उनकी पत्नी गौमाया गुरुङ एबिउड वार्डबाट प्रतिस्पर्धामा छन्। उनीहरू दुवै लेबर पार्टीका उम्मेदवार हुन्।
त्यस्तै, प्लमस्टिड एण्ड ग्लिन्डन वार्डमै ‘योर पार्टी’को समर्थनमा नरेन्द्र कंडेल पनि चुनावी मैदानमा छन्।
अल्डरसटको वेलिङटन वार्डमा डा. विशाल गुरुङ कन्जरभेटिभ पार्टीबाट तथा उत्तरबहादुर गुरुङ लेबर पार्टीबाट उम्मेदवार बनेका छन्। तीन–तीन जना काउन्सिलर निर्वाचित हुने भएकाले दुवै उम्मेदवार विजयी हुने सम्भावना रहेको विश्लेषण गरिएको छ।
यसैगरी, पूर्व डीएसपी शिवजी श्रेष्ठ लेबर पार्टीबाट बेजिङस्टकको ब्राइटनहिल वार्डमा उम्मेदवार छन् भने ज्ञानप्रसाद गुरुङ कन्जरभेटिभ पार्टीबाट स्विन्डनको पार्क साउथमा प्रतिस्पर्धामा छन्।
प्रतीक्षा गुरुङ लेबर पार्टीबाट रिडिङको ब्याटल वार्डमा उम्मेदवार बनेकी छन् भने इन्द्राहाङ लिम्बु फेल्थाममा कन्जरभेटिभ उम्मेदवारका रूपमा चुनावी मैदानमा छन्।
पूर्व काउन्सिलर तथा ग्रेटर रसमोर नेपाली कम्युनिटीका पूर्व अध्यक्ष जीव नारायण बेल्वासे पनि दोस्रोपटक काउन्सिलर पदका लागि उम्मेदवार बनेका छन्। उनी नेपाली समुदायको उल्लेख्य बसोबास रहेको रसमोर बरोअन्तर्गत म्यानोर पार्क वार्डबाट कन्जरभेटिभ पार्टीका उम्मेदवार हुन्।
स्थानीय निर्वाचनको प्रारम्भिक नतिजाले बेलायती राजनीतिमा नयाँ बहस सुरु गराएको छ। प्रारम्भिक परिणामअनुसार रिफर्म यूकेले उल्लेख्य अग्रता बनाएको छ।
हालसम्म प्राप्त नतिजाअनुसार रिफर्म यूकेले ३९४ सिट जितेको छ भने सत्तारुढ लेबर पार्टी २५५ सिटसहित दोस्रो स्थानमा रहेको छ। कन्जरभेटिभ पार्टीले २५३ र लिबरल डेमोक्र्याटले २४४ सिट प्राप्त गरेका छन्।
प्रारम्भिक नतिजाले प्रधानमन्त्री केयर स्टार्मर नेतृत्वको लेबर पार्टीलाई दबाबमा पारेको देखिएको छ। स्टार्मरले सुरुवाती हारको जिम्मेवारी स्वीकार गरेका छन्।
उता, रिफर्म यूकेका नेता नाइजेल फराजले प्रारम्भिक नतिजाले बेलायती राजनीतिमा ऐतिहासिक परिवर्तनको संकेत गरेको बताएका छन्।
स्कटल्यान्ड र वेल्समा भने मतगणना स्थानीय समयअनुसार बिहानबाट सुरु भएको छ। त्यहाँका मतदाताले राष्ट्रिय संसदका प्रतिनिधि चयन गर्नेछन् भने इङ्ग्ल्याण्डका विभिन्न क्षेत्रमा काउन्सिलर तथा मेयर चयन हुनेछन्।


