काठमाडौँ । प्रेस काउन्सिल नेपालले बारामा तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा पक्राउ परेका आरोपितको बयान भन्दै प्रसारित भिडियो सामग्रीमा गम्भीर आचारसंहिता उल्लङ्घन भएको जनाएको छ ।
काउन्सिलले घटनासम्बन्धी प्रकाशित तथा प्रसारित सामग्रीको अनुगमनका क्रममा ३८ वटा सामग्री परीक्षण गरेको थियो । तीमध्ये २१ वटा सामग्री पत्रकार आचारसंहिताविपरीत रहेको पाइएको काउन्सिलले जनाएको छ ।
अनुगमनका क्रममा आरोपितको बयान भन्दै प्रसारित भिडियो सामग्रीमा पीडित बालिकाको गोपनीयता, संवेदनशीलता तथा घटनाको मर्यादामा प्रतिकूल असर पार्ने विवरण तथा दृश्य समावेश भएको पाइएको थियो । त्यसपछि काउन्सिलले सम्बन्धित सञ्चारमाध्यमलाई तत्काल उक्त सामग्री हटाउन टेलिफोनमार्फत निर्देशन दिएको थियो ।
काउन्सिलको निर्देशनपछि सम्बन्धित सञ्चारमाध्यमले भिडियो सामग्री हटाएको जनाइएको छ ।
बालबालिका तथा यौन हिंसासम्बन्धी घटनामा पीडितको पहिचान, गोपनीयता र सम्मानमा प्रतिकूल असर पर्ने विवरण, दृश्य वा सामग्री सार्वजनिक नगर्न सञ्चारमाध्यमलाई काउन्सिलले पटक–पटक सचेत गराउँदै आएको छ ।
काउन्सिलले यस्ता संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता तथा पीडितको गोपनीयता र सम्मानको अधिकारलाई विशेष ध्यान दिन सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।


