१० माघ, काठमाडौं। पूजा महतोले अविजित अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा पहिलो जित हासिल गरेको छ।
शनिबार त्रिवि क्रिकेट मैदानमा भएको तेस्रो खेलमा नेपालले जिम्बाबेलाई ६ विकेटले पराजित गरेको हो।
जिम्बाबेले दिएको १३० रनको लक्ष्य नेपालले ३ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्यो। पूजा महतोले ५० बलमा ४ चौका र २ छक्कासहित अविजित ५२ रन बनाइन्। कप्तान इन्दु बर्माले २२ रनको योगदान दिइन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले २० ओभरमा ६ विकेटको क्षतिमा १२९ रन बनाएको थियो। जिम्बाबेका लागि केलिस धलोभुले अविजित ५२ रन बनाइन् भने बिलभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिवाले १४ रन जोडिन्।
नेपालका तर्फबाट रिया शर्माले २ विकेट लिइन्। कविता कुँवर, पूजा महतो, सीता रानामगर र रुबिना क्षेत्रीले समान १–१ विकेट हात पारे।
नेपालले अब अन्तिम खेलमा सोमबार स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगितामा अघि बढ्न उक्त खेल जित्नैपर्ने दबाब नेपालमाथि रहनेछ।


