काठमाडौं । काठमाडौं महानगरपालिका ले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीहरूका लागि अनलाइन आवेदन खुला गरेको छ। महानगरअन्तर्गतका संस्थागत विद्यालयहरूमा परीक्षा प्रणालीमार्फत छात्रवृत्ति प्रदान गरिने जनाएको छ।
महानगरपालिकाले जारी गरेको सूचनाअनुसार छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन फाराम जेठ १ गते बिहान १० बजेदेखि भर्न सकिनेछ। आवेदन दिने अन्तिम समय जेठ १० गते राति ११ः५९ बजेसम्म तोकिएको छ।
विद्यार्थीहरूले महानगरपालिकाको आधिकारिक वेबसाइट तथा अनलाइन पोर्टलमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
महानगरपालिकाका अनुसार छात्रवृत्ति परीक्षा जेठ १७ गते बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ। परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १०० वटा वस्तुगत बहुवैकल्पिक प्रश्न सोधिने जनाइएको छ।
यसैबीच, विषयगत अङ्कभार, विद्यालयअनुसारको छात्रवृत्ति कोटा तथा परीक्षा केन्द्रसम्बन्धी विस्तृत विवरण महानगरपालिकाको वेबसाइटमा उपलब्ध रहेको जनाएको छ।


