काठमाडौँ । विभिन्न आठ विश्वविद्यालयका रिक्त उपकुलपति पदका लागि परेका २१८ उम्मेदवारको आवेदनमाथि छनोट तथा सिफारिस समितिले अध्ययन सुरु गरेको छ।
शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत रहेको छनोट तथा सिफारिस समितिले इच्छुक तथा योग्य उम्मेदवारलाई १० दिनभित्र दरखास्त दिन गत वैशाख २५ गते आह्वान गरेको थियो। उक्त सूचनाअनुसार सबैभन्दा बढी त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ५० जनाले आवेदन दिएका छन्।
त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयका लागि ३८/३८ जनाले आवेदन दिएका छन्। सुदूरपश्चिम विश्वविद्यालयका लागि १९, मध्यपश्चिम विश्वविद्यालयका लागि २०, लुम्बिनी बौद्ध विश्वविद्यालयका लागि ११, कृषि तथा वन विज्ञान विश्वविद्यालयका लागि १५ र राजर्षि जनक विश्वविद्यालयका लागि २७ जनाले आवेदन दिएको मन्त्रालयले जनाएको छ।
आवेदकहरूको कागजात अध्ययन तथा छानबिन गरी स्वीकृत उम्मेदवारको सूची प्रकाशित गरेर छनोट प्रक्रिया अघि बढाउने तयारी समितिले गरेको छ।
गत वैशाख २४ गते स्वीकृत ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार छनोट प्रक्रिया अघि बढाइएको हो। नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएको सार्वजनिक निकायका पदाधिकारी पदमुक्तसम्बन्धी विशेष अध्यादेशपछि विभिन्न विश्वविद्यालयका पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया सुरु गरिएको हो।
छनोट समितिमा शिक्षामन्त्री सस्मित पोखरेल, शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल तथा सम्बन्धित विश्वविद्यालयका विज्ञहरू रहेका छन्।


