काठमाडौं । अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा सोमबार दोस्रो जित हात पारेको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा अन्नपूर्णले मधेस वारियर्सलाई ३–१ को सेटमा पराजित गरेको हो। अन्नपूर्णले मधेसमाथि २५–१६, ३१–२९, २५–२२ र २५–२१ को जित निकाल्यो।
अन्नपूर्णका उरनबायर ‘म्यान अफ द म्याच’ घोषित भए। उनी लगातार दोस्रो खेलमा उक्त अवार्ड जित्न सफल भएका हुन्। यसअघि काठमाडौं रेड्सविरुद्धको खेलमा पनि उरनबायर ‘म्यान अफ द म्याच’ बनेका थिए।
तीन खेलबाट अन्नपूर्णको यो दोस्रो जित हो। अन्नपूर्णले दोस्रो खेलमा काठमाडौं रेड्सलाई ३–० को सोझो सेटमा हराएको थियो भने पहिलो खेलमा कर्णाली शिवराजसँग ३–१ ले पराजित भएको थियो।
तीन खेल खेलेको मधेस वारियर्स भने प्रतियोगितामा जितविहीन छ। मधेस पहिलो खेलमा सगरमाथा स्म्यासर्ससँग ३–१ र दोस्रो खेलमा काठमाडौं रेड्ससँग ३–२ ले पराजित भएको थियो।
सोमबारै भएको अर्को खेलमा कर्णाली शिवराजले सगरमाथा स्म्यासर्सलाई ३–२ को सेटमा पराजित गर्दै लगातार तेस्रो जित निकालेको छ।
निकै प्रतिस्पर्धात्मक खेलमा कर्णालीले २५–१६, २३–२५, २५–२३, १९–२५ र १५–९ को सेटमा जित हासिल गर्यो। कर्णालीका मार्की खेलाडी पहल गहतराज ‘म्यान अफ द म्याच’ घोषित भए।
कर्णालीसँगको खेलअघि सगरमाथा पनि अपराजित थियो। दुवै टोलीले तीन–तीन खेल खेलिसकेका छन्।
नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित तथा एक्सट्रिम इनर्जी ड्रिंकको मुख्य प्रायोजन रहेको प्रतियोगितामा ६ पुरुष टोली सहभागी छन्। सहभागी टोलीले सिङ्गल राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन्।
लिग चरणपछि शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्नेछ। दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्।
प्रतियोगिताको कुल पुरस्कार राशि ३२ लाख रुपैयाँ रहेको छ, जुन नेपाली भलिबलको इतिहासमा हालसम्मकै सर्वाधिक पुरस्कार राशि हो। विजेताले २० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ।
प्रतियोगिताको फाइनल भदौ २७ गते हुनेछ।


