Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियकिसानको एक वर्षभन्दा लामो आन्दोलनपछि अन्ततः भारत सरकारले फिर्ता लियो तीन वटा...

किसानको एक वर्षभन्दा लामो आन्दोलनपछि अन्ततः भारत सरकारले फिर्ता लियो तीन वटा कृषि कानुन

 किसानहरुको एक वर्षभन्दा लामो आन्दोलनपछि अन्ततः भारत सरकारले तीन वटाकृषि कानुन फिर्ता

लिएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार राष्ट्रलाई सम्बोधन गर्दै तीन वटै कृषि कानुन फिर्ता लिने घोषणा गरेका हुन् ।

ती कानुन फिर्ता लिन माग गर्दै किसानहरुले विगत एक वर्षदेखि आन्दोलन गर्दै आएका थिए । मोदीले ती कानुन फिर्ता लिने घोषणा गर्दै भने, ‘आज म तपाईहरुलाई यो भन्न चाहन्छु कि सरकारले तीन वटै कृषि कानुनलाई फिर्ता लिने निर्णय गरेको छ । यसै महिनाको अन्त्यमा सुरु हुने संसद सत्रमा हामी तीनै कृषि कानुनलाई रद्द गर्ने संवैधानिक प्रक्रियालाई पूरा गर्नेछौं ।’

यसका बाबजुद संयुक्त किसान मोर्चाले तत्काल आन्दोलन अन्त्य नहुने बताएको छ । सो मोर्चाका तर्फबाट जारी विज्ञप्तिमा मोदीको उक्त घोषणा कार्यान्वयनमा नजाउन्जेलसम्म आफूहरुले आन्दोलन अन्त्य नगर्ने उल्लेख छ ।

भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतले पनि तत्काल आन्दोलन फिर्ता नलिने बताएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘हामी संसदबाट कृषि कानुन रद्द हुने दिनको प्रतिक्षामा छौं ।’

प्रतिपक्षी दल काँग्रेसका नेता राहुल गान्धीले किसानलाई बधाई दिएका छन् । उनले अन्नदाताको सत्याग्रहले अहंकारको शिर झुकाइदिएको टिप्पणी गरेका छन् ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले भारतीय जनता पार्टीको क्रुरताका सामु नझुक्ने प्रत्येक किसानलाई बधाई दिएकी छन् । उनले यो आन्दोलनमा आफ्ना प्रियजन गुमाएकाप्रति समवेदना पनि प्रकट गरेकी छन् ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले कृषि सम्बन्धी कानुन फिर्ता हुनुलाई खुसीको दिन भनेर टिप्पणी गरेका छन् ।

समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले पनि जनसमर्थनका कारण डराएर सरकारले तीन वटै कानुन फिर्ता लिने घोषणा गरेको बताएका छन् ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीले बहादुर र निडर किसानका कारण नै यो कानुन फिर्ता भएको जनाएका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका