डि क्लर्क दक्षिण अफ्रिकाको रंगभेदी शासनकालका अन्तिम श्वेत राष्ट्रपति हुन् ।
सन् १९८९ देखि १९९४ सम्म राष्ट्र प्रमुख बनेका डि क्लर्क दक्षिण अफ्रिकाको लोकतान्त्रिक संक्रमणमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिज्ञ समेत हुन् । उनले १९९० मा नेल्सन मन्डेलालाई रिहा गर्ने र राजनीतिक दलमाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेका थिए ।
उनकै कार्यकालमा दक्षिण अफ्रिकामा बहुदलीय लोकतन्त्र स्थापना भएको थियो । सन् १९९४ भएको चुनावपछि मन्डेला राष्ट्रपति भएका थिए । डि क्लर्क र मन्डेलालाई १९९३ मा संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।
तर लोकतन्त्रतर्फको संक्रमणमा डि क्लर्कले खेलेको भूमिका निकै विवादित बनेको थियो । गत वर्ष रंगभेदी शासनको गम्भीरतालाई नजरअन्दाज गरेको आरोप लागेपछि उनी विवादमा तानिएका थिए । पछि रंगभेदबारे हल्का टिप्पणी गरेको भन्दै उनले माफी मागेका थिए ।


