Tuesday, September 22, 2026
Homeअर्थ र ब्यापारबाढी–पहिरोबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको प्रारम्भिक क्षति

बाढी–पहिरोबाट पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोडको प्रारम्भिक क्षति

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा त्यसपछि गएको पहिरोका कारण नेपालको पर्यटन क्षेत्रमा ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० रुपैयाँ बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन सार्वजनिक गरिएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमबार आयोजित पर्यटन क्षेत्रमा परेको प्रभाव तथा पुनरुत्थानसम्बन्धी प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा नेपाल पर्यटन बोर्डको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) का संयोजक तथा बोर्डका कार्यकारी सदस्य सहदेव धमलाले प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।

कार्यक्रम संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेल ‘गनेस’को उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा मन्त्रालयका सचिव मुकुन्द निरौला, सहसचिव तथा शाखा प्रमुख, नेपाल पर्यटन बोर्डका प्रतिनिधि तथा निजी क्षेत्रका प्रतिनिधिको सहभागिता थियो।

प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट विशेषगरी रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका जिल्लामा पर्यटन पूर्वाधार, होटल तथा पर्यटन व्यवसाय, यातायात पहुँच, पदमार्ग र पर्यटक व्यवस्थापनमा ठूलो क्षति पुगेको छ।

क्षेत्रगत रूपमा सबैभन्दा बढी क्षति होटल व्यवसायमा भएको प्रारम्भिक आकलन गरिएको छ। होटल क्षेत्रमा १९ अर्ब ५६ करोड ४ लाख ४८ हजार रुपैयाँ, वैदेशिक पर्यटन आम्दानीतर्फ १४ अर्ब ६० करोड २४ लाख ६४ हजार रुपैयाँ तथा मानवबल एवं पर्यटक व्यवस्थापनतर्फ १२ अर्ब २६ करोड ८४ लाख २४ हजार ५०० रुपैयाँ बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, सम्पदा तथा पर्यटन पूर्वाधारतर्फ १ अर्ब ६६ करोड ४० लाख रुपैयाँ, सवारीसाधनतर्फ १ अर्ब ५१ करोड ४० लाख ८० हजार रुपैयाँ, रेस्टुरेन्टतर्फ १ अर्ब ३८ करोड ५० लाख २० हजार रुपैयाँ तथा लाङटाङ क्षेत्रमा व्यावसायिक कारोबारतर्फ १ अर्ब २७ करोड ६४ लाख ४० हजार रुपैयाँ बराबरको क्षति भएको आकलन गरिएको छ।

आन्तरिक पर्यटन राजस्वतर्फ १९ करोड ८७ लाख रुपैयाँ, राफ्टिङ तथा क्याम्पिङ साइटमा १५ करोड ५० लाख रुपैयाँ र ट्रेकिङ ट्रेलमा ५ करोड रुपैयाँ बराबरको प्रारम्भिक क्षति भएको प्रतिवेदनमा उल्लेख छ।

बाढी तथा पहिरोका कारण १ हजार ११७ जना नेपाली तथा विदेशी नागरिक प्रभावित तथा सम्पर्कविहीन भएको जनाइएको छ। तीमध्ये ३१० जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना सम्पर्कमा आएका छन्। हालसम्म ७९४ जना सम्पर्कविहीन रहेकोमा ६०६ जना विदेशी र १८८ जना नेपाली रहेको प्रतिवेदनमा उल्लेख छ। उद्धार गरिएकामध्ये २५८ पुरुष र ५२ महिला छन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरका अनुसार घटना भएको करिब एक घण्टाभित्रै पर्यटक प्रहरी, ट्राभल तथा ट्रेकिङ कम्पनी र कैलाश–मानसरोवर टुर अपरेटरसँग समन्वय गरी खोज तथा उद्धार कार्य सुरु गरिएको थियो।

प्रतिवेदनमा विपद्पछिको पर्यटन पुनरुत्थानलाई क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र सीमित नगरी भविष्यमा आउन सक्ने जलवायुजन्य जोखिमलाई समेत ध्यानमा राख्दै सुरक्षित र दिगो पर्यटन प्रणाली विकास गर्नुपर्नेमा जोड दिइएको छ।

वरिष्ठ निर्देशक ऐरले रसुवा क्षेत्रलाई दीर्घकालीन रूपमा ‘क्लाइमेट हेरिटेज’ का रूपमा विकास गर्ने अवधारणा अघि सारिएको बताए। उनले संकटका समयमा प्रभावकारी समन्वय र शीघ्र प्रतिकार्यका लागि नेपाल पर्यटन बोर्डमा २४ सै घण्टा सञ्चालन हुने क्राइसिस सेल तथा द्रुत प्रतिक्रिया टोली (क्यूआरटी) लाई निरन्तरता दिनुपर्ने सुझाव दिए।

यसका लागि वार्षिक १ देखि ५ करोड रुपैयाँसम्म बजेट व्यवस्था गर्नुपर्ने सुझावसमेत प्रतिवेदनमा समेटिएको छ।

यसैगरी, क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपद्का लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनरुत्थानको मस्यौदा तयार गर्ने जिम्मेवारी सम्बन्धित समितिलाई दिइएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका