Monday, August 24, 2026
Homeसूचना प्रविधिबडीमालिकामा पुग्यो फोर–जी सेवा, चार हजार दुई सय मिटर उचाइमा टावर स्थापना

बडीमालिकामा पुग्यो फोर–जी सेवा, चार हजार दुई सय मिटर उचाइमा टावर स्थापना

काठमाडौँ । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बाजुराको बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालनमा आएको छ । नेपाल टेलिकमले बडीमालिका क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि मोबाइल तथा इन्टरनेट सेवा सञ्चालनमा आएको हो ।

समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा रहेको बडीमालिका क्षेत्रमा जनैपूर्णिमाका अवसरमा लाग्ने धार्मिक मेलाको पूर्वसन्ध्यामा सञ्चार सेवा पुगेको हो । सेवा सञ्चालनसँगै स्थानीयवासी, तीर्थयात्री, पर्यटक तथा विभिन्न सरकारी तथा गैरसरकारी निकायलाई सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।

सोमबार दिउँसो करिब १ बजे टावर जडानको काम सम्पन्न भएपछि फोर–जी सेवा सञ्चालनमा ल्याइएको हो । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भर्चुअल माध्यमबाट सेवाको उद्घाटन गर्दै दुर्गम भूगोलमा रहेका नागरिकलाई सञ्चारको आधारभूत अधिकारबाट वञ्चित हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए ।

उनले बडीमालिका क्षेत्रमा सञ्चार सेवा विस्तारका लागि निरन्तर खटिएका नेपाल टेलिकमका कर्मचारी, हेलिकप्टरमार्फत उपकरण तथा सामग्री ढुवानीमा सहयोग गर्ने नेपाली सेना तथा स्थानीय जनप्रतिनिधिलाई धन्यवाद दिए ।

मन्त्री तिमिल्सिनाले यस वर्षलाई सरकारले दूरसञ्चार क्षेत्रको सुधार र डिजिटल रूपान्तरणको वर्षका रूपमा अघि बढाउन लागेको उल्लेख गर्दै भौगोलिक विकटताका कारण कुनै पनि नागरिक सञ्चार सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गरिने बताए । देशका दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म गुणस्तरीय टेलिफोन र इन्टरनेट सेवा विस्तारलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

सेवा सञ्चालनपछि मन्त्री तिमिल्सिनाले बडीमालिका क्षेत्रमा टावर स्थापनाका लागि खटिएका नेपाल टेलिकमका प्राविधिकसँग भिडियो कलमार्फत प्रत्यक्ष संवाद गरे । उनले टावर स्थापना र सेवा सञ्चालनको अवस्था तथा प्राविधिक टोलीले सामना गरेका कठिनाइबारे जानकारी लिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगीता पहाडीले दुर्गम क्षेत्रमा सञ्चार सुविधा पुर्‍याउने विषय टेलिकमको प्राथमिकतामा रहेको बताइन् । व्यावसायिक लाभलाई मात्र आधार नबनाई सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा सेवा विस्तारलाई प्राथमिकता दिइएको उनले बताइन् ।

बडीमालिका क्षेत्रमा सेवा सञ्चालनका लागि सरकार र नेपाल टेलिकमले करिब एक महिनादेखि तयारी गरिरहेका थिए । सञ्चारमन्त्री तिमिल्सिनाले गत साउन ८ गते तत्काल सेवा विस्तार गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका थिए ।

सडकमार्फत उपकरण तथा निर्माण सामग्री ढुवानी गर्न कठिन भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत टावर निर्माणका लागि आवश्यक उपकरण तथा सामग्री बडीमालिका पुर्‍याइएको थियो ।

नेपाल टेलिकमका अनुसार बडीमालिका मन्दिर क्षेत्र समुद्री सतहबाट करिब चार हजार दुई सय मिटरको उचाइमा छ भने टावर करिब चार हजार दुई सय ३० मिटर उचाइमा रहेको लौरी विनायक क्षेत्रमा स्थापना गरिएको हो । उच्च हिमाली भूगोल र प्रतिकूल मौसमका कारण टावर स्थापना चुनौतीपूर्ण रहेको प्राविधिक टोलीले जनाएको छ ।

बडीमालिका क्षेत्रमा स्थायी बस्ती कम भए पनि धार्मिक, पर्यटकीय तथा पदयात्राका दृष्टिले यो क्षेत्र महत्वपूर्ण मानिन्छ । बडीमालिका मन्दिर, विभिन्न पाटन, पदमार्ग तथा त्रिवेणी क्षेत्रमा पुग्ने तीर्थयात्री र पर्यटकका लागि मोबाइल तथा इन्टरनेट सेवा उपयोगी हुने अपेक्षा गरिएको छ ।

यसअघि नेपाल टेलिकमले साउन महिनाभित्रै सेवा सञ्चालन गर्ने लक्ष्य लिए पनि प्रतिकूल मौसम, उच्च हिमाली भूगोल र सामग्री ढुवानीमा देखिएको कठिनाइका कारण केही ढिला सेवा सञ्चालनमा आएको हो ।

नेपाल टेलिकमले दुर्गम तथा पर्यटकीय क्षेत्रसम्म फोर–जी सेवा विस्तारलाई निरन्तरता दिएको जनाएको छ । यसैक्रममा नेपाली भाषाको उद्गमस्थल मानिने जुम्लाको हाट सिँजा क्षेत्रमा पनि भदौ ५ गतेदेखि फोर–जी सेवा सञ्चालनमा आएको छ ।

त्यस्तै, सगरमाथा आधार शिविर क्षेत्रमा फोर–जी सेवा विस्तारका लागि अध्ययन अघि बढाइएको छ । डोल्पाको ल्हान तथा दुनै क्षेत्रमा करिब तीन हजार नौ सय मिटर उचाइमा र ताप्लेजुङको ओलाङचुङगोलामा करिब तीन हजार चार सय मिटर उचाइमा यसअघि नै फोर–जी सेवा सञ्चालनमा आइसकेको टेलिकमले जनाएको छ ।

दुर्गम तथा उच्च हिमाली क्षेत्रमा सञ्चार सेवा विस्तारसँगै स्थानीय बासिन्दा, पर्यटक, तीर्थयात्री तथा सुरक्षा र उद्धारमा खटिने निकायलाई सञ्चार सम्पर्क सहज हुने अपेक्षा गरिएको छ ।

नेपाल टेलिकमका अनुसार देशभर दूरसञ्चार सेवाको पहुँच र गुणस्तर विस्तारका लागि करिब एक हजार छ सय नयाँ मोबाइल टावर तथा सम्बन्धित साइट निर्माणको प्रक्रिया अघि बढाइएको छ । नयाँ टावर निर्माण तथा विद्यमान पूर्वाधारको क्षमता विस्तारमार्फत ग्रामीण र दुर्गम क्षेत्रका नागरिकलाई भरपर्दो मोबाइल तथा इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका