काठमाडौं । एक मुठ्ठी बादल: माई सेयर अफ स्काई जेठ १ गतेदेखि प्रदर्शनमा आउने भएको छ। निर्माण कम्पनी गौंथली इन्टरटेनमेन्टले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर फिल्मको प्रदर्शन मिति तय गरेको हो।
अभिनेत्री आँचल शर्मा अभिनित उक्त फिल्म पारिवारिक कथामा आधारित ‘फ्यामिली ड्रामा’ हो। नेपाल न्यूज बैंकसँगको कुराकानीमा शर्माले फिल्मले विशेषगरी महिलाको आन्तरिक संघर्षलाई केन्द्रमा राखेको बताइन्।
उनका अनुसार फिल्मले विवाहअघि एक महिलाले भोग्ने मानसिक द्वन्द्व, सामाजिक अपेक्षा र व्यक्तिगत आकांक्षाबीचको संघर्षलाई संवेदनशील रूपमा प्रस्तुत गरेको छ। साथै एउटै परिवारभित्रका विभिन्न सदस्य—आमाबुबा, दिदीबहिनी लगायतका पात्रहरूको जीवनका फरक–फरक पाटा पनि देखाइएको छ।
शर्माले परिवारभित्र लुकेका पीडा, नबोलिएका भावनाहरू र समाजले महिलालाई हेर्ने दृष्टिकोणलाई फिल्मको मुख्य विषय बनाइएको बताइन्। फिल्मको कथा तीन पुस्ताका महिलाहरूको अनुभवमा आधारित रहेको छ, जसले पारिवारिक संस्कार र त्यसको प्रभाव नयाँ पुस्तामा कसरी सर्छ भन्ने देखाउने प्रयास गरेको छ।
फिल्मको अर्को विशेषता यसको यथार्थपरक प्रस्तुती रहेको उनले बताइन्। दर्शकहरूले पात्रहरूसँग भावनात्मक रूपमा जोडिन सक्ने विश्वास पनि उनले व्यक्त गरिन्।
निर्देशनदेखि लेखन, छायांकन र सम्पादनसम्म महिला टिमको उल्लेखनीय सहभागिता रहेको फिल्ममा काम गर्दा आफूलाई फरक र सहज अनुभव भएको शर्माले बताइन्। पोखरामा करिब २८ दिनमा छायांकन गरिएको फिल्म मुख्यतः एउटै घर वरिपरि केन्द्रित छ।
फिल्ममा निशा शर्मा, आँचल शर्मा र उषा रजक लगायतको अभिनय रहेको छ। सहारा शर्माद्वारा लिखित तथा निर्देशित फिल्मका मुख्य निर्माता अभिमन्यु दीक्षित हुन् भने अन्य निर्मातामा सारा फाजिलात, सामीप्यराज तिमल्सेना र अनुप पौडेल रहेका छन्। कार्यकारी निर्माता निकुन श्रेष्ठ हुन्।
गौंथली इन्टरटेनमेन्ट, मन प्रोडक्सन, थर्ड कल्चर किड्स र क्रोमोजोम फिल्मको सह–निर्माणमा बनेको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ।


