काठमाडौं । क्युबामा राष्ट्रिय विद्युतीय ग्रिड एक हप्ताभित्र दोस्रो पटक ध्वस्त हुँदा एक करोडभन्दा बढी मानिसहरू प्रभावित भएका छन्। देशभर घर, व्यवसाय र सार्वजनिक सेवा अवरुद्ध भएका छन्।
क्युबाको ऊर्जा मन्त्रालयले राष्ट्रिय विद्युतीय प्रणाली पूर्ण रूपमा अवरुद्ध भएको जानकारी दिँदै पुनःस्थापनाको काम सुरु गरिएको जनाएको छ। ग्रिड अपरेटरले अस्पताल र खानेपानी जस्ता अत्यावश्यक सेवाहरूलाई प्राथमिकतामा राखेर क्रमशः विद्युत् आपूर्ति पुनः सुरु गरिरहेको छ।
अमेरिकी इन्धन प्रतिबन्धका कारण विद्युत् उत्पादनका लागि आवश्यक विदेशी तेल आयातमा समस्या उत्पन्न भएको छ। यही कारण यस महिनामात्र क्युबाले तीनपटक ठूला ब्ल्याकआउटको सामना गर्नुपरेको छ।
पुरानो विद्युत् पूर्वाधार र इन्धन अभावले समस्या झन् जटिल बनेको छ। पछिल्लो विद्युत् संकटपछि सर्वसाधारणमा असन्तोष बढ्दै गएको छ।
राजधानी हवानामा प्रदर्शनकारीहरूले भाँडाकुँडा ठोकेर विरोध जनाएका छन् भने मोरोन शहरमा केही प्रदर्शनकारीहरूले कम्युनिष्ट पार्टीको कार्यालयमा आक्रमण तथा आगजनी गरेका छन्। क्युबामा अनुमति बिना विरोध प्रदर्शन गर्न भने कानूनी रूपमा प्रतिबन्ध छ।


