काठमाडौं। अमेरिका–इजरायल र इरानबीचको द्वन्द्व तेस्रो हप्तामा प्रवेश गरेसँगै पश्चिम एसिया र खाडी क्षेत्रमा तनाव चरम बिन्दुमा पुगेको छ। यसै क्रममा शुक्रबार कुवेत पेट्रोलियम कर्पोरेसन (केपीसी) को ‘मिना अल अहमदी’ तेल रिफाइनरीमा ड्रोन आक्रमण भएको छ।
केपीसीले सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार बिहानै भएको आक्रमणपछि रिफाइनरीका केही इकाईहरूमा आगलागी भएको छ। सावधानीका लागि केन्द्रका केही भागहरू बन्द गरिएको छ भने मानवीय क्षति नभएको कम्पनीले जनाएको छ। आपतकालीन टोलीले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
पछिल्लो समय पश्चिम एसियाका ऊर्जा पूर्वाधार लक्षित आक्रमणहरू बढ्दै गएका छन्। बुधबार राति इजरायलले इरानको ‘साउथ पार्स’ ग्यास क्षेत्रमा आक्रमण गरेको बताइएको छ।
त्यसको प्रतिशोधस्वरूप इरानले कतारको ‘रास लाफान’ औद्योगिक सहरमा आक्रमण गरेको छ। कतारको रक्षा मन्त्रालयका अनुसार उक्त आक्रमणबाट औद्योगिक क्षेत्रमा ठूलो क्षति पुगेको छ।
यस्तै, इरानले प्रहार गरेको ब्यालिस्टिक मिसाइलले इजरायलको उत्तरी सहर हाइफामा रहेको प्रमुख तेल प्रशोधन केन्द्रमा क्षति पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। सुरक्षा अवस्था बिग्रिँदै गएपछि साउदी अरबले आफ्नो आकाशमा चारवटा ड्रोन नष्ट गरेको जनाएको छ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले इजरायललाई कडा चेतावनी दिँदै इरानले हालसम्म आफ्नो सैन्य शक्तिको सानो अंश मात्र प्रयोग गरेको बताएका छन्। उनले पूर्वाधारमा थप आक्रमण भए ‘शून्य सहनशीलता’को नीति अपनाइने स्पष्ट पारेका छन्।
उनले युद्ध अन्त्यका लागि नागरिक पूर्वाधारमा भएको क्षतिको उचित सम्बोधन आवश्यक रहेको पनि उल्लेख गरेका छन्। इजरायल र इरानबीच जारी मिसाइल आक्रमण र सैन्य कारबाहीले विश्वव्यापी ऊर्जा आपूर्ति र क्षेत्रीय सुरक्षामा गम्भीर चुनौती उत्पन्न गरेको छ।


