Monday, August 24, 2026
Homeराजनीतिएमालेका सिफारिस उम्मेदवार नन्दकिशोर बस्नेत रास्वपामा प्रवेश, दैलेख–१ बाट चुनाव लड्ने संकेत

एमालेका सिफारिस उम्मेदवार नन्दकिशोर बस्नेत रास्वपामा प्रवेश, दैलेख–१ बाट चुनाव लड्ने संकेत

सुर्खेत । नेकपा एमालेबाट दैलेख क्षेत्र नम्बर १ का लागि प्रतिनिधि सभा सदस्य उम्मेदवारका रूपमा सिफारिस गरिएका नन्दकिशोर बस्नेत (एनके) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन्।

शनिबार रास्वपाको केन्द्रीय कार्यालयमा पुगेर बस्नेतले औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन्। एमाले दैलेखमा परिचित नेता बस्नेतलाई यसअघि नै सम्भावित उम्मेदवारका रूपमा चर्चा गरिँदै आएको थियो। यही कारण एमाले दैलेखले यसपटक प्रत्यक्षतर्फ क्षेत्र नम्बर १ बाट बस्नेतसहित पाँच जनाको नाम सिफारिस गरेको थियो।

पछि रत्नबहादुर खड्का र तेजबहादुर चन्दले आफ्नो नाम फिर्ता लिए पनि बस्नेत, रविन्द्रराज शर्मा र लिला विसीको नाम पार्टी केन्द्रमा सिफारिसमै रहेको थियो। बस्नेतको अचानक पार्टी परिवर्तनपछि एमालेका स्थानीय कार्यकर्ताहरू अचम्मित भएका छन्।

एमालेका एक नेताका अनुसार टिकट नपाउने लगभग निश्चित भएपछि बस्नेतले रास्वपामा प्रवेश गर्ने निर्णय गरेका हुन्। रास्वपाबाट दैलेख–१ मा उनी प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्ने सम्भावना देखिएको छ।

बस्नेतसँगै शनिबार अनेरास्ववियुका पूर्वकेन्द्रीय सदस्य शमशेर खड्का, राष्ट्रिय युवा संघ सहकारी विभागका केन्द्रीय सदस्य प्रकाश ढुङ्गाना तथा नेपाल विद्युत् उत्पादन कम्पनीका पूर्वकार्यकारी अधिकृत बखतबहादुर शाहीसहित अन्य नेताहरू पनि रास्वपामा प्रवेश गरेका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका