काठमाडौँ । च्याटजीपीटी निर्माता ओपनएआईले गुगल क्रोमजस्ता प्रतिस्पर्धीलाई चुनौती दिन नयाँ कृत्रिम बौद्धिकता (एआई) आधारित वेब ब्राउजर ‘च्याटजीपीटी एटलस’ सार्वजनिक गरेको छ।
मंगलबार एप्पलको म्याकओएस प्रणालीका लागि यो ब्राउजर उपलब्ध गराइएको ओपनएआईका प्रमुख साम अल्टम्यानले जनाएका छन्। उनका अनुसार, एटलस “च्याटजीपीटीलाई केन्द्रमा राखेर” निर्माण गरिएको नवीन ब्राउजर हो, जसले प्रयोगकर्तालाई संवादमुखी र स्मार्ट वेब अनुभव दिनेछ।
एटलसको आगमन ओपनएआईको एआई प्रविधि व्यवसायीकरण गर्ने रणनीतिक प्रयासको रूपमा आएको हो। कम्पनीले एटलसमा ‘एजेन्ट मोड’ नामक सशुल्क सुविधा पनि उपलब्ध गराउने बताएको छ, जसले प्रयोगकर्ताको तर्फबाट स्वतः खोज र विश्लेषण गर्न सक्नेछ।
यसअघि ओपनएआईले एट्सी र सोपीफाइ जस्ता ई-कमर्स प्लेटफर्महरू, साथै एक्सपीडिया र बुकिङ डट कमजस्ता यात्रा सेवाहरूसँग साझेदारी गर्दै आफ्नो एआई सेवा विस्तार गरिरहेको छ।
हाल विश्वभरका इन्टरनेट प्रयोगकर्ताहरू जानकारी र सिफारिसका लागि च्याटजीपीटीजस्ता ठूला भाषा मोडेल (एलएलएम) प्रयोग गर्न तीव्र गतिमा बढिरहेका छन्। तथ्यांक अनुसार, हाल डेस्कटप ब्राउजरहरूमा हुने करिब ५.९९ प्रतिशत खोजहरू एलएलएममा गरिन्छ, जुन एक वर्षअघिको तुलनामा दोब्बरभन्दा बढी हो।


