लुम्बिनी, १७ भदौ । लुम्बिनी र गण्डकी प्रदेशको दोस्रो मुख्यमन्त्रीस्तरीय संयुक्त बैठक सोमबार स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा खाँडामा सम्पन्न भएको छ । बैठकले साझा विकास र सहकार्यलाई प्रभावकारी बनाउन नौबुँदे निर्णय गरेको छ ।
लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्य र गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्णयपत्रमा हस्ताक्षर गर्नुभयो । बैठकले संविधानले प्रदेशलाई दिएका अधिकारको पूर्ण कार्यान्वयन गराउन संघीय सरकारसँग समन्वय गर्ने, पूर्वाधार समस्यामा प्राथमिकता दिने र साझा हितका कार्यक्रम संयुक्त रूपमा अघि बढाउने सहमति गरेको छ ।
बैठकले तीन महिनाभित्र कार्ययोजना तयार गर्ने, कालीगण्डकी तटीय क्षेत्र र लुम्बिनी मुक्तिमार्गको विकासका लागि अवधारणापत्र ल्याउने, रुपान्तरणकारी कार्यक्रमलाई साझेदारीमा अघि बढाउने र कात्तिकमा हुने उत्तरबाहिनी महास्नान तथा दामोदर धर्मोत्सवलाई भव्य बनाउन सहजीकरण गर्ने निर्णय गरेको छ ।
यस्तै, प्रमुख सचिवस्तरीय संयन्त्रमार्फत सिकाइ आदानप्रदान गर्ने, कानुनी तथा नीतिगत एकरुपता कायम गर्ने र दुबै प्रदेशका तीर्थ–पर्यटनस्थललाई जोड्ने पदमार्गको डीपीआर संयुक्त रूपमा तयार गर्ने निर्णय पनि गरिएको छ ।
बैठकमा दुवै प्रदेशका मन्त्री, प्रमुख सचिव तथा सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए ।


