Friday, July 31, 2026
Homeअन्तराष्ट्रियटि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित

टि– ट्वान्टी आई सिरिजमा पाकिस्तानको सान्त्वना जित

काठमाडौं । टि–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा पाकिस्तानले घरेलु टोली बंगलादेशलाई ७४ रनले पराजित गर्दै सान्त्वना जित हासिल गरेको छ।

बिहीबार ढाकास्थित शेरे बंग्ला क्रिकेट स्टेडियममा सम्पन्न खेलमा पाकिस्तानले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेटको क्षतिमा १७८ रन बनायो। जवाफी लक्ष्य पछ्याउन उत्रिएको बंगलादेशको टोली १६.४ ओभरमै १०४ रनमा समेटियो।

पाकिस्तानको आक्रामक ब्याटिङ

पाकिस्तानका ओपनर साहिबजाद फर्हानले उत्कृष्ट प्रदर्शन गर्दै ४१ बलमा ६ चौका र ५ छक्काको मद्दतले ६३ रनको अर्धशतकीय इनिङ खेले। हसन नवाजले १७ बलमा १ चौका र ३ छक्कासहित ३३ रन बनाए। सइम अयुब २१, मोहम्मद नवाज २७ रनमा आउट भए भने कप्तान सलमान आगा १२ रनमा अविजित रहे।

बंगलादेशका तास्किन अहमदले ३ विकेट लिँदा, नसुम अहमदले २ विकेट लिए। मोहम्मद सैफुद्दिन र सरिफुल इस्लामले समान १–१ विकेट लिए।

बंगलादेशको कमजोर जवाफ

१७९ रनको लक्ष्य पछ्याएको बंगलादेशको सुरुवात नै खराब रह्यो। ओपनर मोहम्मद नइम १० रनमै पेभेलियन फर्किए भने अन्य ब्याटरहरू दोहोरो अंकमा रन बनाउन असफल रहे।

केवल मोहम्मद सैफुद्दिनले प्रतिरोध गर्ने प्रयास गरे। उनले ३४ बलमा २ चौका र २ छक्काको मद्दतले सर्वाधिक ३५ रन बनाए।

पाकिस्तानका बलरहरूले सशक्त प्रदर्शन गरे। सलमान मिर्जाले ३ विकेट लिए भने मोहम्मद नवाज र फहिम असरफले समान २ विकेट हात पारे। हुसेन तलत, सलमान आगा र अहमद दानियालले समान १–१ विकेट लिए।

यो जितसँगै पाकिस्तानले श्रृंखला गुमाइसकेको अवस्थामा प्रतिष्ठाका लागि महत्त्वपूर्ण जित दर्ता गर्‍यो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका