काठमाडौँ: त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक र सामुदायिक क्याम्पसहरूमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने भएको छ। विश्वविद्यालय क्याम्पसमा भने चुनाव चैत ८ गते हुनेछ। विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचित हुनेछन्, जसमा ११ जना प्रत्यक्ष र १० जना समानुपातिक सदस्यको निर्वाचन हुनेछ। क्याम्पसमा कुल छ हजार एक सय ४६ मतदाता रहेको जनाइएको छ, जो मतदान गरेर नेतृत्व चयन गर्नेछन्।
अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा प्रत्यक्ष चुनाव हुनेछ। उपाध्यक्ष र उपसचिवसहित २१ सदस्य निर्वाचित भएपछिको चयन प्रक्रियामा कुनै सङ्घको बहुमत प्राप्त भएमा उपाध्यक्ष र उपसचिव त्यस सङ्गठनका सदस्यहरूबाट चयन गरिनेछ। यदि बहुमत प्राप्त भएन भने सहमतिबाट चयन गर्ने व्यवस्था रहेको छ। सहमति भएन भने २१ जनाको मतदानबाट उपाध्यक्ष र उपसचिव चयन गरिनेछ।
क्याम्पसमा इलेक्ट्रोनिक भोटिङ मेसिनको प्रयोग गरेर मतदान गरिनेछ र निर्वाचन समितिले २० वटा यन्त्र प्रयोग गर्ने जानकारी दिएको छ।
स्ववियु निर्वाचनको तयारी भइरहेको बीच सोमबार राति रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले तालाबन्दी गरेको छ। क्याम्पस प्रशासनले फर्जी परिचयपत्र (नक्कली कार्ड) जारी गरेको आरोपमा अनेरास्ववियुले तालाबन्दी गरेको हो र यसको निष्पक्ष छानबिनको माग गरेको छ।
यसैबीच, सुरक्षासम्बन्धी कारणले आजको स्ववियु निर्वाचन अमृत साइन्स क्याम्पसमा स्थगित गरिएको छ। क्याम्पस प्रमुख होमबहादुर बानियाँले सूचना टाँस गरेर निर्वाचन स्थगित भएको जानकारी दिनुभयो। सोमबारको बैठकमा केही विद्यार्थी सङ्गठन अनुपस्थित रहेकाले निर्वाचन स्थगित गरिएको सूचनामा उल्लेख गरिएको छ। राष्ट्रिय मानव अधिकार आयोगले आज हुने स्ववियु निर्वाचनको अनुगमन गर्ने भएको छ।


