घोराही (दाङ): लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा एपिएफ क्लबले मधेश प्रदेशलाई दुई विकेटले पराजित गरेको छ।
आजको खेलमा कमलसिंह ऐरीको उत्कृष्ट अलराउण्डर प्रदर्शन एपिएफको जितको मुख्य आधार बन्यो। मधेश प्रदेशले दिएको १६९ रनको लक्ष्य एपिएफले ३६.५ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्यो। ऐरीले ३ छक्का प्रहार गर्दै अविजित २८ रन बनाएर टोलीलाई जित दिलाए।
सामान्य लक्ष्य पछ्याउने क्रममा सुमित महर्जन ३५ रनमै आउट भएपछि दबाबमा परेको एपिएफलाई ऐरीले उत्कृष्ट खेल प्रदर्शन गर्दै जिततर्फ अघि बढाए।
मधेश प्रदेशका बलरहरूको प्रदर्शन
मधेश प्रदेशका बलरहरू प्रभावशाली रहे।
कमल गुप्ता: १० ओभरमा १ मेडनसहित ४० रन खर्चेर ४ विकेट लिए।
प्रदीप पासवान: १ मेडनसहित २८ रन दिएर २ विकेट लिए।
रुपेश सिंह र हरिशंकर शाह: १–१ विकेट लिए।
मधेश प्रदेशको ब्याटिङ प्रदर्शन
टस जितेर पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ४०.४ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन बनायो।
कप्तान अनिलकुमार साह र मयन यादवले ३१ रनको साझेदारी गरेका थिए।
भुवन कार्कीको बलिङमा यादव बोल्ड आउट भएपछि मधेशको विकेट पतन सुरु भयो।
प्रतियोगिताबारे थप जानकारी
नेपाल क्रिकेट संघ (क्यान)को आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा प्रतियोगिता जारी छ।
तीन विभागीय टोलीसहित सातवटा प्रदेशका टिमहरू सहभागी छन्।
खेल राउण्ड रोबिन प्रारूपमा हुँदैछन्।
रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा पनि खेल जारी छन्।
प्रतियोगिता चैत १६ गतेसम्म चल्नेछ, जसअन्तर्गत दाङमा १४ खेल हुने तालिका छ।


