खेलको अन्तिममा जुलेन लोबेटले निर्णायक गोल गरेपछि रियल सोसिडाड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा १० खेलाडीमा सिमिति सोसिडाडले मालोर्कालाई १–० गोलले हरायो । रोमाञ्चक खेलमा सोसिडाडले ९० औँ मिनेटमा गोल गरेको थियो । जुलेन लोबेटले मार्टिन जुविमेन्डीको पासमा गोल गर्दै सोसिडाडलाई महत्वपूर्ण जित दिलाए ।
सोसिडाड पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । तर मालोर्काले त्यसको फाइदा उठाउन सकेन । पहिलो हाफको इन्जुरी समयमा सोसिडाडका अइहेन मुनोज दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । दुवै टोलीले ५० प्रतिशत बल पोसेसन राखेपनि सोसिडाडले अन्तिम समयमा गोल गर्न सकेको थियो । खेलभर सोडिसाडले १० वटा पोस्ट प्रहार गरेको थियो । मालोर्काले सात वटा पोस्ट प्रहार गरेपनि सफल हुन सकेन । सोसिडाडका माइकल मेरिनो ‘म्यान अफ दी म्याच’ भए ।
जितसँगै सोसिडाडले शीर्षस्थान कब्जा गरेको छ । सोसिडाडको नौ खेलबाट २० अंक पुगेको छ । एक खेल कम खेलेकोे रियल म्याड्रिड र साविक विजेता एट्लेटिको म्याड्रिड १७ अंक सहित क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । सोसिडाडसँग पराजित मालोर्का ११ अंक सहित १२औं स्थानमा छ ।


