काठमाडौँ — ओमानमा जारी आइसीसी पुरुष टी-२० विश्वकपको एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोट प्रतियोगिता अन्तर्गत सुपर सिक्सको तेस्रो खेल आज नेपाल र आयोजक ओमानबीच हुनेछ। खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुने जनाइएको छ।
नेपालले आज ओमानविरुद्ध जित हासिल गरेमा २०२६ मा भारतमा हुने टी-२० विश्वकपमा छनोट सुनिश्चित गर्ने अवसर पाउनेछ। सुपर सिक्समा नेपालले पहिलो खेलमा युएईविरुद्ध रोमाञ्चक एक रनको जित तथा कतारविरुद्ध ५ रनको जित हासिल गरिसकेको छ।
त्यस्तै, आयोजक ओमानले सुपर सिक्समा युएई र कतार दुवैलाई पराजित गरेको छ। हाल अंकतालिकामा ओमान रनरेटको आधारमा शीर्ष स्थानमा रहेको छ भने नेपाल दोश्रो स्थानमा छ। नेपालले यस खेलपछि शुक्रबार सामोआसँग खेल्ने तालिका तय गरेको छ।


