Wednesday, May 27, 2026
Homeसूचना प्रविधिसाइबर आक्रमणको ७४ प्रतिशत रकम रुसी ह्याकरको कब्जामा

साइबर आक्रमणको ७४ प्रतिशत रकम रुसी ह्याकरको कब्जामा

सन् २०२१ मा विश्वमा भएका साइबर आक्रमणका क्रममा फिरौती स्वरुप मागिएको रकममध्ये ७४ प्रतिशत रकम रुससँग सम्बन्धित ह्याकरहरुले हात पारेका छन् ।

एक अध्ययन अनुसार विश्वमा गतवर्ष भएका साइबर आक्रमणमा रुसी ह्याकरले मात्र गतवर्ष ४० करोड डलर रकम हात पारेका छन् र उक्त फिरौती रकम क्रिप्टोकरेन्सीका रुपमा ह्याकरलाई तिरिएको छ ।

पश्चिमा मुलुकहरुले ती रुसी ह्याकरहरु रुस सरकारको संरक्षण प्राप्त रहेको दाबी गरे पनि रुसले भने त्यस्तो आरोप अस्वीकार गर्दै आएको छ । आफूले साइबर अपराधीहरुलाई पालनपोषण नगरेको रुसको जिकिर छ ।

शोधकर्ताहरुका अनुसार साइबर हमलाको क्रममा तिरिएको फिरौतीका अतिरिक्त रुसी क्रिप्टो कम्पनीहरुमार्फत् ठूलो परिमाणमा क्रिप्टोकरेन्सीमा आधारित पैसा निर्मलीकरण हुने गरेको छ ।

चेनालिसिस नामक कम्पनीले गरेको शोधमा उल्लेख भएअनुसार परिचित ह्याकर समूहको डिजिटल वालेटबाट भएको क्रिप्टोमुद्राको कारोबारलाई सार्वजनिक ब्लकचेन कारोबार अभिलेखबाट पत्ता लगाइएको हो ।

स्मरण रहोस् गतवर्ष अमेरिकाको तेल पाइपलाइन तथा आयरल्याण्डको स्वास्थ्य सेवा लगायतका क्षेत्रमा भएका हाइप्रोफाइल फिरौती माग्ने साइबर हमला (रेनसमवेयर अट्याक) पछि विश्वव्यापी रुपमा यस्तो साइबर अपराधविरुद्ध सख्त कदम चालिएको थियो ।

त्यसक्रममा रोमानिया, युक्रेन, दक्षिण कोरिया तथा कुबेतलगायतका देशबाट संदिग्ध ह्याकरहरु पक्राउ परेका थिए । त्यस्तै अमेरिकाको अनुरोधमा रुसले रेभिल नामक ह्याकर समूहका सदस्यहरुलाई पक्राउ गरेको थियो ।

साथै अमेरिकाले विभिन्न ह्याकरहरुबाट लाखौँ डलर क्रिप्टोकरेन्सी फिर्ता ल्याउन सफल भएको थियो । बीबीसीबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका