Thursday, June 25, 2026
Home Blog Page 544

गोरखामा चलचित्र ‘पहाड’ को छायाङ्कन सुरू

0

काठमाडौँ: निर्देशक तुलसी घिमिरेको स्वास्थ्यमा समस्या आएपछि रोकिएको नेपाली चलचित्र पहाड को छायाङ्कन पुनः सुरु भएको छ। गत माघ २२ मा मुहुर्त गरेपछि एक दिन मात्र छायाङ्कन भएको थियो, तर घिमिरेलाई निमोनिया भएपछि काम रोकिएको थियो। स्वास्थ्यमा सुधार आएपछि पूर्वनिर्धारित तालिका अनुसार गोरखा र आसपासका क्षेत्रमा छायाङ्कन पुनः थालिएको छ।

निर्देशक घिमिरेले लामो समयपछि चलचित्र निर्देशनमा फर्किएको अनुभव सुनाउँदै भने, “नयाँ पुस्ताका कलाकारहरूसँग काम गर्दा छुट्टै ऊर्जा प्राप्त भइरहेको छ। चलचित्रले मानव बस्ती शून्य बनेका उच्च पहाडहरूको कथा समेट्छ।”

उनका अनुसार पहाड ले युवाहरूको विदेश पलायनले खाली भएका पहाड र त्यसले निम्त्याएका सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गर्छ। चलचित्रका निर्माता ओजस्वी केसी हुन् भने छायाङ्कन प्रमोद प्रधानले गरिरहेका छन्। भारतीय चलचित्र र टेलिशृङ्खलामा काम गरिसकेका प्रधानले अन्याय, कोसेली, चिनो र दक्षिणा मा निर्देशक घिमिरेसँग सहकार्य गरिसकेका छन्।

चलचित्रको छायाङ्कन २५ दिन गोरखा र आसपासका क्षेत्रमा तथा १५ दिन भारतमा हुने जनाइएको छ। भाग्यरत्न फिल्म्स प्रालि को ब्यानरमा निर्माण भइरहेको चलचित्रमा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारको अभिनय रहने छ।

यसै चलचित्रमार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनयमा डेब्यु गर्दैछिन् भने जेठी छोरी भावना घिमिरे प्रोडक्सन डिजाइनरको भूमिकामा छन्। “आफ्ना छोरीहरू चलचित्र क्षेत्रमा सक्रिय हुन थालेकाले खुसी लागेको छ,” घिमिरेले बताए।

निर्माण पक्षले चलचित्र आगामी वर्षको जेठमा प्रदर्शन गर्ने लक्ष्य राखेको छ।

ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात, किसान हर्षित

0

ढोरपाटन (बागलुङ): लामो खडेरीपछि ढोरपाटनमा आइतबार साँझदेखि वर्षासँगै पहिलो पटक हिमपात भएको छ। यसका कारण चिसो बढे पनि किसानहरू भने बालीनाली फस्टाउने आशामा हर्षित छन्।

ढोरपाटन सिकार आरक्षका रेन्जर विनोद विकका अनुसार हिमपातपछि ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्रहरू सेताम्य भएका छन्। उनले शुक्रबारदेखि मौसममा बदली भए पनि आइतबार साँझ मात्र वर्षासँगै हिमपात भएको जानकारी दिए।

हिमपातका कारण जनजीवन प्रभावित भएको छ। घोडा, खच्चड तथा अन्य गाईबस्तुलाई घाँस तथा दाना उपलब्ध गराउन कठिनाइ भइरहेको ढोरपाटन नगरपालिका–९ का प्रेमबहादुर घर्ती मगरले बताए। उनका अनुसार अघिल्लो महिना सामान्य वर्षा भए पनि हिमपात हुन सकेको थिएन।

“लामो समय खडेरीका कारण बाली सुक्न थालेका थिए। ढिलै भए पनि पानी परेपछि अब खेती राम्रो हुने आशा गरेका छौँ,” घर्तीले भने।

आर्थिक विकासका लागि ‘डिजिटल गभर्नेन्स’ जरुरी

0

काठमाडौँ: मुलुकको आर्थिक विकासलाई अघि बढाउन डिजिटल गभर्नेन्स आवश्यक रहेको भन्दै सरोकारवालाहरूले यसको प्रभावकारी कार्यान्वयनका लागि गम्भीर प्रतिबद्धता आवश्यक भएको बताएका छन्। आइतबार साँझ आयोजित ‘टेकगभ नेपाल, २०२५’ कार्यक्रममा प्राविधिक तथा नीतिगत विज्ञहरूले डिजिटल गभर्नेन्सले आर्थिक विकास, सुशासन, प्रभावकारी सेवा प्रवाह तथा सामाजिक समावेशीकरणलाई गति दिने बताएका हुन्।

सूचनाप्रविधि विज्ञ मनोहर भट्टराईले डिजिटल गभर्नेन्सलाई केवल प्रविधिमा सीमित नराखी यसले रोजगारी सिर्जना गर्ने, कृषि तथा पर्यटनको विकासमा नयाँ अवसर खोल्ने र आर्थिक वृद्धिमा योगदान पुर्‍याउनुपर्ने उल्लेख गरे। उनले शिक्षा, स्वास्थ्यजस्ता आधारभूत क्षेत्रहरूसम्म डिजिटल सेवा सहज रूपमा पुग्नुपर्ने र सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्नुपर्ने बताए।

डिजिटल गभर्नेन्स सफल बनाउन बृहत नीति निर्माण र राजनीतिक तहबाट दृढ प्रतिबद्धता आवश्यक रहेको उनको भनाइ थियो। उनले नीति निर्माण मात्र पर्याप्त नभई त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्पष्ट रणनीति र बजेट विनियोजन अनिवार्य रहेको बताए।

ई–गभर्नेन्स बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपेश बिस्टले डिजिटल गभर्नेन्सलाई राजनीतिक मुद्दाका रूपमा लिने आवश्यकता रहेको बताए। उनले सुशासन र आर्थिक विकाससँग यसको प्रत्यक्ष सम्बन्ध रहेको भन्दै कार्यान्वयनका लागि राजनीतिक तहबाटै गम्भीर चासो आवश्यक रहेको बताए। उनले डिजिटल प्रणालीले नागरिकलाई अनावश्यक दौडधूपबाट मुक्त गराउने, सेवा प्रवाहलाई चुस्त बनाउने र डेटा एक्सचेन्ज प्लेटफर्म आवश्यक रहेको उल्लेख गरे। इस्टोनियालगायत देशहरूले डिजिटल प्रणालीमार्फत आर्थिक वृद्धिमा ल्याएको सकारात्मक परिवर्तनलाई नेपालले पनि अनुकरण गर्नुपर्ने उनको धारणा थियो।

सूचना प्रविधि कानुनका जानकार प्रवीन सुवेदीले वैदेशिक रोजगारीमा जाने नेपालीहरूका लागि ई–गभर्नेन्सबारे जानकारी अनिवार्य रहेको बताए। उनले वैदेशिक रोजगार विभागले विद्युतीय शासनमार्फत प्रवासी कामदारहरूलाई लक्षित गरी विभिन्न सेवा प्रदान गरिरहेको बताउँदै, उनीहरूलाई यी सेवाको सही ज्ञान हुनु महत्त्वपूर्ण रहेको उल्लेख गरे।

ई–गभर्नेन्स बोर्डका इन्जिनियर केदार भण्डारीले डिजिटल गभर्नेन्सको वर्तमान अवस्था र बोर्डका उपलब्धिहरूबारे जानकारी गराए। उनले विद्युतीय सुशासनको मार्गचित्रका रूपमा ब्लुप्रिन्ट तयार भइसकेको र हाल छलफलको चरणमा रहेको जानकारी दिए।

सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण
कार्यक्रमका वक्ताहरूले डिजिटल गभर्नेन्सको सफल कार्यान्वयनका लागि सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताए। सूचना प्रविधि विभागका महानिर्देशक रमेश शर्मा पौड्यालका अनुसार डिजिटल सेवाबारे नागरिकलाई जानकारी गराउने सबैभन्दा प्रभावकारी माध्यम सञ्चारमाध्यम नै हो। उनले सरकारले प्रवर्द्धन गर्ने डिजिटल सेवाहरू सरल भाषामा नागरिकमाझ पुर्‍याउन सञ्चारमाध्यमले मुख्य भूमिका खेल्नुपर्ने बताए।

नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले पत्रकारहरूले डिजिटल गभर्नेन्सबारे राम्रो ज्ञान राख्नुपर्नेमा जोड दिइन्। उनले सञ्चारकर्मीहरूका लागि यस विषयमा अभिमुखीकरण आवश्यक रहेको बताइन्। वरिष्ठ पत्रकार बबिता बस्नेतले डिजिटल गभर्नेन्स सफल बनाउन डिजिटल साक्षरतामा बल दिनुपर्ने उल्लेख गरिन्। उनले लोकतन्त्रको सुदृढीकरण र प्रशासनिक व्यवस्थालाई प्रभावकारी बनाउन डिजिटल गभर्नेन्स अपरिहार्य रहेको बताइन्।

चमेरोमा भेटियो कोभिड-१९ जस्तै नयाँ भाइरस, मानिसमा पनि फैलिने जोखिम

0

काठमाडौं: चिनियाँ अनुसन्धानकर्ताहरूले चमेरोमा नयाँ प्रकारको कोरोनाभाइरस फेला परेको बताएका छन्, जसको व्यवहार कोभिड-१९ निम्त्याउने सार्स-सीओभी-२ भाइरससँग मिल्दोजुल्दो छ।

समाचार एजेन्सी रोयटर्सका अनुसार, यो नयाँ भाइरस मानव शरीरमा प्रवेश गर्न सार्स-सीओभी-२ भाइरस जस्तै कोष सतह प्रोटिनहरू प्रयोग गर्छ। यसले गर्दा भविष्यमा मानिसहरूमा संक्रमण फैलिन सक्ने सम्भावनाप्रति वैज्ञानिकहरू चिन्तित छन्।

यद्यपि, चिनियाँ अनुसन्धानकर्ताहरूको प्रारम्भिक निष्कर्षअनुसार, यो नयाँ भाइरस सार्स-सीओभी-२ जत्तिकै सजिलै मानव शरीरमा प्रवेश गर्न सक्दैन।

नयाँ भाइरसको नाम एचकेयु ५-सीओभी-२
समाचार एजेन्सी पीटीआईका अनुसार, यो अध्ययनको नेतृत्व चिनियाँ वैज्ञानिक शि झेंगलीले गरेकी हुन्। उनी विवादास्पद वुहान इन्स्टिच्युट अफ भाइरोलोजीमा समेत काम गरिसकेकी वैज्ञानिक हुन्। अध्ययन प्रतिष्ठित ‘सेल’ वैज्ञानिक जर्नलमा प्रकाशित भएको छ, जहाँ यो नयाँ भाइरसलाई एचकेयु ५-सीओभी-२ नाम दिइएको छ।

कोभिड-१९ को उत्पत्तिबारे विवाद कायम
यसअघि, अमेरिकाले कोभिड-१९ भाइरस वुहानको प्रयोगशालाबाट उत्पन्न भएको आरोप लगाएको थियो। अमेरिकी गुप्तचर संस्थाहरूले वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट भाइरस लिक भएको हुनसक्ने आशंका व्यक्त गरेका थिए। तर, चिनियाँ सरकारले यी आरोपहरूलाई बारम्बार अस्वीकार गर्दै आएको छ।

विशेषज्ञहरू भन्छन् कि नयाँ भाइरसको थप अनुसन्धान आवश्यक छ, तर हालको अवस्थामा यो मानिसहरूका लागि तत्काल जोखिमपूर्ण छैन।

क्रिप्टोकरेन्सीको इतिहासमै ‘सबैभन्दा ठूलो’ चोरी

0

काठमाडौं: क्रिप्टोकरेन्सी क्षेत्रमा कार्यरत बाइबिट कम्पनीले ह्याकरहरूले १.५ अर्ब डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको रिपोर्ट गरेको छ। यो घटना क्रिप्टोकरेन्सी बजारको इतिहासमै सबैभन्दा ठूलो चोरी भएको बताइएको छ।

दुबईस्थित बाइबिट कम्पनीका संस्थापकका अनुसार, उनीहरूको कोष “सुरक्षित” छ, र यदि कुनै प्रयोगकर्ता प्रभावित भएमा, उनीहरूले आफ्नो पैसा फिर्ता पाउनेछन्।

कम्पनीका अनुसार, ह्याकरहरूले इथेरियम डिजिटल कोइन वालेटबाट रकम चोरी गरेका छन्। चोरीपछि, इथेरियमको मूल्य चार प्रतिशतले घटेको छ।

बाइबिटका संस्थापकले भने, “यो रकम कम्पनी वा साझेदारबाट ऋण लिएर कभर गर्न सकिन्छ।”

रुसले युक्रेनमा एकैसाथ २६७ ड्रोनबाट आक्रमण गर्यो

0

काठमाडौं: रुसले युक्रेनमा एकैसाथ २६७ वटा ड्रोन प्रहार गर्दै अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ। यो भिषण आक्रमण युक्रेन युद्धको तीन वर्ष पूरा हुनुभन्दा एक दिनअघि गरिएको हो। युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटका अनुसार, रुसले एकैपटक यति धेरै ड्रोन प्रहार गरेको यो पहिलो घटना हो।

युक्रेनी अधिकारीहरूका अनुसार, खार्किभ, पोल्टाभा, सुमी र कीभ लगायत कम्तीमा १३ शहरहरू एकैसाथ ड्रोन आक्रमणको निशानामा परेका छन्। साथै, रुसले ३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र पनि प्रहार गरेको युक्रेनी सेनाले दाबी गरेको छ।

बीबीसीका अनुसार, आक्रमणका कारण धेरै भवनहरूमा क्षति पुगेको छ। आपतकालीन सेवाहरूले हालसम्म ३ जना घाइते भएको पुष्टि गरेका छन्। केही रिपोर्टहरूमा खेरसनमा २ जनाको मृत्यु भएको दाबी गरिएको छ, तर यसको आधिकारिक पुष्टि भइसकेको छैन। यसैगरी, क्रिभी रीहमा पनि एक जनाको मृत्यु भएको छ। क्रिभी रीह एक औद्योगिक शहर हो, जहाँ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको जन्म भएको थियो।

युक्रेनले पनि यसको प्रतिउत्तरस्वरूप रुसमाथि आक्रमण गरेको छ। रुसको रक्षा मन्त्रालयले आइतबार युक्रेनले २० वटा ड्रोन आक्रमण गरेको दाबी गर्दै सबै ड्रोनहरू खसालेको दाबी गरेको छ।

बढ्यो सुनको मूल्य !

0

काठमाडौँ: स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : नेपाल आज म्यानमारसँग प्रतिस्पर्धा गर्दै

0

काठमाडौं: अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेलमा म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे नेपाल र म्यानमारबीचको खेल हुनेछ।

नेपालले यसअघि किर्गिस्तान र लेबनानलाई समान १-० गोलले पराजित गर्दै फाइनल यात्रा तय गरिसकेको छ। अन्तिम खेल अगावै उपाधि प्रतिस्पर्धाका लागि स्थान सुरक्षित गरिसकेको नेपाल आज म्यानमारविरुद्ध जितको लक्ष्यसहित मैदान उत्रनेछ।

म्यानमार नेपालका लागि कठिन प्रतिद्वन्द्वी मानिन्छ। अहिलेसम्म नेपालले म्यानमारसँग चार खेल खेलेको छ, जसमा तीन खेलमा पराजित भएको छ भने एक खेल बराबरीमा सकिएको थियो। नेपालले आज म्यानमारविरुद्ध पहिलो जित निकाल्ने लक्ष्य राखेको छ।

बरेङमा बढ्दो बसाइँसराइ : गाउँ सुनसान, खेतबारीमा झाडी

0

ढोरपाटन (बागलुङ): पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको सङ्ख्या निरन्तर बढ्दो छ। गाउँबाट शहरतर्फ जानेको लर्को नरोकिने देखिएपछि बस्तीहरू सुनसान बन्दै गएका छन् भने खेतीयोग्य जमिन झाडीले ढाकिन थालेको छ।

बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा मात्र तीन सय ४७ परिवारका एक हजार दुई सय ८० जनाले गाउँ छोडेका छन्। शिक्षा, स्वास्थ्य, यातायातलगायत पूर्वाधार विकास हुँदै गए पनि गाउँ छोड्ने प्रवृत्ति रोकिएको छैन। चालु आर्थिक वर्षका सात महिनामै दुई सय १० जनाले गाउँ छाडिसकेका छन्।

गएको साउनयता मात्रै ५५ परिवारले अन्यत्र बसाइँ सरिसकेका छन्। यस वर्ष सबैभन्दा धेरै वडा नम्बर १ धुल्लुबास्कोटबाट १३ घरपरिवारका ५८ जना स्थानान्तरण भएका छन् भने सबैभन्दा कम वडा नम्बर ५ सुखौराबाट ६ घरपरिवारका २० जना बाहिरिएका छन्। त्यसैगरी, पछिल्लो दुई वर्षमा ४० परिवारका एक सय ३१ जना बरेङमा पुनःस्थापित भएका छन्।

बसाइँसराइ रोक्न प्रयास जारी

गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले स्थानीयबासीलाई गाउँमै टिकाउन आधारभूत आवश्यकताका सेवाहरू विस्तार गर्ने प्रयास भइरहेको बताउनुभयो। “सडक, खानेपानी, विद्युत्, स्वास्थ्य संस्था स्थापना गरेर सेवा प्रवाह गरिरहेका छौँ, तर पनि बसाइँसराइको दर घट्न सकेको छैन,” उहाँले भन्नुभयो।

पालिकाले एकीकृत बस्ती निर्माणको योजना अघि सारे पनि स्थानीयको खासै रुचि नदेखिएकाले योजना प्रभावकारी बन्न नसकेको उहाँको भनाइ छ। स्वरोजगार प्रवर्द्धनका लागि लघुउद्यम र घरेलु उद्योग स्थापना गर्न प्रोत्साहन गरिए पनि युवाहरू बाहिरिन रोकिएका छैनन्।

“हामीले धेरै प्रयास गर्यौँ— शिक्षा, स्वास्थ्य, यातायातजस्ता सेवा पु¥यायौँ, रोजगारका अवसर सिर्जना गर्न लघुउद्यमलाई प्राथमिकता दियौँ, तर पनि गाउँ छाड्ने क्रम रोकिएको छैन,” अध्यक्ष शर्माले भन्नुभयो। उहाँका अनुसार कुनै समय करिब २० घरधुरी रहेको बगाले टोल अहिले पूरै खाली भइसकेको छ।

बरेङबाट बसाइँसराइ गर्ने अधिकांश स्थानीय चितवन, रुपन्देही, नवलपरासी, पोखरा लगायतका क्षेत्रमा स्थायी रूपमा बसोबास गर्न गएका छन्। गाउँपालिकाले बसाइँसराइ रोक्नका लागि थप प्रभावकारी नीति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको जनाएको छ।

साहित्य र पर्यटनलाई जोड्दै नेपाल साहित्यिक महोत्सव

0

पोखरा: हाल पोखरा महोत्सवमय बनेको छ। एकपछि अर्को गरि आयोजित विभिन्न महोत्सवहरूले सहरलाई चलायमान बनाइरहेका बेला, फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ नेपाल साहित्यिक महोत्सवले पोखराको माहोललाई अझ उत्साहपूर्ण बनाउनेछ। बुकवर्म फाउन्डेसनद्वारा आयोजित यस महोत्सवमा देश-विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले विचारमन्थन गर्नेछन्। महोत्सवमा साहित्यसँगै सामाजिक, राजनीतिक, आर्थिक, प्रविधि, चलचित्रजस्ता विविध विषयमा बहस गरिनेछ।

साहित्य र पर्यटन प्रवर्द्धनको संगम

पोखरालाई पर्यटकको प्रमुख गन्तव्य बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले हालै पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको छ। करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित गरिएको यो घोषणालाई सार्थक बनाउन विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्। पर्यटन व्यवसायीहरूका अनुसार साहित्यिक महोत्सवले पनि पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवं पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईका अनुसार नेपाल साहित्यिक महोत्सवले साहित्य, संस्कृति, र पर्यटनको संयोजन गर्दै पोखराको पहिचानलाई विश्वभर फैलाउनेछ। “यस महोत्सवले स्थानीय अर्थतन्त्रलाई समेत मजबुत पार्नेछ,” भट्टराईले भने। फेवातालको किनारमा हुने विचारमन्थनले राजनीति, जातीय विविधता, भाषा, धर्म, कला, र संस्कृतिका विषयमा बहसलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार पोखरा इभेन्टहरूको सहरका रूपमा स्थापित भइरहेको छ। “लिटरेचर फेस्टिभलले पोखराको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउनेछ, जसले पर्यटनलाई थप सशक्त बनाउनेछ,” लामिछानेले बताए। उनका अनुसार, यस महोत्सवले विदेशी पर्यटक तथा साहित्यिक अनुरागीहरूलाई पनि नेपाल घुम्ने अवसर प्रदान गर्नेछ।

पोखराको पर्यटनलाई साहित्यिक उचाइ

पोखरा महानगरपालिका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीले साहित्यिक महोत्सवले पोखराको गतिशीलता बढाउने बताए। “पोखरा आफैँमा सांस्कृतिक गतिविधिहरूको केन्द्र हो। खेलकुद, कला, साहित्यका महोत्सवहरूले यहाँको पर्यटनलाई थप प्रवर्द्धन गर्नेछ,” उनले भने। पोखरालाई प्राकृतिक सौन्दर्यको मात्र नभई, विविध सांस्कृतिक तथा बौद्धिक गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने महानगरको लक्ष्य रहेको उनले उल्लेख गरे।

पत्रकार भरत कोइरालाका अनुसार, साहित्यिक गतिविधिहरूले पोखरालाई साहित्यिक पर्यटकका लागि आकर्षक गन्तव्य बनाउनेछन्। “लेखक-पाठक अन्तरक्रिया, पुस्तक विमोचन, र साहित्यिक चर्चाले पोखरालाई साहित्यिक पर्यटनको केन्द्र बनाउने सम्भावना बढाएको छ,” कोइरालाले भने।

अन्तर्राष्ट्रिय सहभागिता र विविध कार्यक्रम

कार्यकारी निर्देशक नीरज भारीका अनुसार, यस वर्षको महोत्सवमा दुई सयभन्दा बढी साहित्यकार, कलाकार, पत्रकार, र नेताहरू सहभागी हुनेछन्। ५० भन्दा बढी सत्रमा अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति, र अन्य रचनात्मक गतिविधिहरू समावेश हुनेछन्। नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता, ‘लिच एण्ड अदर स्टोरीज’ माथि उनको संवाद, प्राध्यापक महेन्द्र पी लामाको विद्वत प्रवचन, अभिनेत्री मनिषा कोइरालासँग संवाद, र अभिनेता राजेश हमालको पुस्तक लोकार्पण जस्ता आकर्षक सत्रहरू महोत्सवको विशेषता हुनेछन्।

निर्देशक अजित बरालका अनुसार, लिटरेचर फेस्टिभलले पोखराको सांस्कृतिक तथा साहित्यिक गतिविधिलाई थप प्रवर्द्धन गर्नेछ। “यस महोत्सवले साहित्य र पर्यटनलाई एकसाथ जोडेर पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिन मद्दत गर्नेछ,” बरालले भने। महोत्सव सफल बनाउन सरकारी तथा निजी क्षेत्रको साथ रहेको उनले जानकारी दिए।

साङ्गीतिक कार्यक्रममा प्रोजेक्ट सारङ्गी र सोनागी ब्लुजले परम्परागत तथा समकालीन सङ्गीत प्रस्तुत गर्नेछन्, जसले पोखराको साङ्गीतिक वातावरणमा नयाँ आयाम थप्नेछ। लोक चित्रकला प्रदर्शनीले कला तथा संस्कृतिप्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।

नेपाल साहित्यिक महोत्सवले साहित्य, कला, संगीत, र पर्यटनको संगम गराउँदै पोखरालाई एक नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।