Sunday, April 26, 2026
Homeअन्तराष्ट्रियरुसले युक्रेनमा एकैसाथ २६७ ड्रोनबाट आक्रमण गर्यो

रुसले युक्रेनमा एकैसाथ २६७ ड्रोनबाट आक्रमण गर्यो

काठमाडौं: रुसले युक्रेनमा एकैसाथ २६७ वटा ड्रोन प्रहार गर्दै अहिलेसम्मकै ठूलो आक्रमण गरेको छ। यो भिषण आक्रमण युक्रेन युद्धको तीन वर्ष पूरा हुनुभन्दा एक दिनअघि गरिएको हो। युक्रेनको वायुसेना कमान्डका प्रवक्ता युरी इग्नाटका अनुसार, रुसले एकैपटक यति धेरै ड्रोन प्रहार गरेको यो पहिलो घटना हो।

युक्रेनी अधिकारीहरूका अनुसार, खार्किभ, पोल्टाभा, सुमी र कीभ लगायत कम्तीमा १३ शहरहरू एकैसाथ ड्रोन आक्रमणको निशानामा परेका छन्। साथै, रुसले ३ वटा ब्यालिस्टिक क्षेप्यास्त्र पनि प्रहार गरेको युक्रेनी सेनाले दाबी गरेको छ।

बीबीसीका अनुसार, आक्रमणका कारण धेरै भवनहरूमा क्षति पुगेको छ। आपतकालीन सेवाहरूले हालसम्म ३ जना घाइते भएको पुष्टि गरेका छन्। केही रिपोर्टहरूमा खेरसनमा २ जनाको मृत्यु भएको दाबी गरिएको छ, तर यसको आधिकारिक पुष्टि भइसकेको छैन। यसैगरी, क्रिभी रीहमा पनि एक जनाको मृत्यु भएको छ। क्रिभी रीह एक औद्योगिक शहर हो, जहाँ युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको जन्म भएको थियो।

युक्रेनले पनि यसको प्रतिउत्तरस्वरूप रुसमाथि आक्रमण गरेको छ। रुसको रक्षा मन्त्रालयले आइतबार युक्रेनले २० वटा ड्रोन आक्रमण गरेको दाबी गर्दै सबै ड्रोनहरू खसालेको दाबी गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका