पोखरा: हाल पोखरा महोत्सवमय बनेको छ। एकपछि अर्को गरि आयोजित विभिन्न महोत्सवहरूले सहरलाई चलायमान बनाइरहेका बेला, फागुन १५ देखि १८ गतेसम्म हुने १२औँ नेपाल साहित्यिक महोत्सवले पोखराको माहोललाई अझ उत्साहपूर्ण बनाउनेछ। बुकवर्म फाउन्डेसनद्वारा आयोजित यस महोत्सवमा देश-विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, सम्पादक, पत्रकारलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूले विचारमन्थन गर्नेछन्। महोत्सवमा साहित्यसँगै सामाजिक, राजनीतिक, आर्थिक, प्रविधि, चलचित्रजस्ता विविध विषयमा बहस गरिनेछ।
साहित्य र पर्यटन प्रवर्द्धनको संगम
पोखरालाई पर्यटकको प्रमुख गन्तव्य बनाउने उद्देश्यले पोखरा महानगरपालिकाले हालै पोखरा भ्रमण वर्ष २०२५ को घोषणा गरेको छ। करिब २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित गरिएको यो घोषणालाई सार्थक बनाउन विभिन्न गतिविधिहरू सञ्चालन भइरहेका छन्। पर्यटन व्यवसायीहरूका अनुसार साहित्यिक महोत्सवले पनि पोखराको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्नेछ।
पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक एवं पर्यटन व्यवसायी गोपीबहादुर भट्टराईका अनुसार नेपाल साहित्यिक महोत्सवले साहित्य, संस्कृति, र पर्यटनको संयोजन गर्दै पोखराको पहिचानलाई विश्वभर फैलाउनेछ। “यस महोत्सवले स्थानीय अर्थतन्त्रलाई समेत मजबुत पार्नेछ,” भट्टराईले भने। फेवातालको किनारमा हुने विचारमन्थनले राजनीति, जातीय विविधता, भाषा, धर्म, कला, र संस्कृतिका विषयमा बहसलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेका अनुसार पोखरा इभेन्टहरूको सहरका रूपमा स्थापित भइरहेको छ। “लिटरेचर फेस्टिभलले पोखराको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउनेछ, जसले पर्यटनलाई थप सशक्त बनाउनेछ,” लामिछानेले बताए। उनका अनुसार, यस महोत्सवले विदेशी पर्यटक तथा साहित्यिक अनुरागीहरूलाई पनि नेपाल घुम्ने अवसर प्रदान गर्नेछ।
पोखराको पर्यटनलाई साहित्यिक उचाइ
पोखरा महानगरपालिका पर्यटन तथा सहरी विकास महाशाखा प्रमुख विमलरञ्जन कार्कीले साहित्यिक महोत्सवले पोखराको गतिशीलता बढाउने बताए। “पोखरा आफैँमा सांस्कृतिक गतिविधिहरूको केन्द्र हो। खेलकुद, कला, साहित्यका महोत्सवहरूले यहाँको पर्यटनलाई थप प्रवर्द्धन गर्नेछ,” उनले भने। पोखरालाई प्राकृतिक सौन्दर्यको मात्र नभई, विविध सांस्कृतिक तथा बौद्धिक गतिविधिको केन्द्रका रूपमा स्थापित गर्ने महानगरको लक्ष्य रहेको उनले उल्लेख गरे।
पत्रकार भरत कोइरालाका अनुसार, साहित्यिक गतिविधिहरूले पोखरालाई साहित्यिक पर्यटकका लागि आकर्षक गन्तव्य बनाउनेछन्। “लेखक-पाठक अन्तरक्रिया, पुस्तक विमोचन, र साहित्यिक चर्चाले पोखरालाई साहित्यिक पर्यटनको केन्द्र बनाउने सम्भावना बढाएको छ,” कोइरालाले भने।
अन्तर्राष्ट्रिय सहभागिता र विविध कार्यक्रम
कार्यकारी निर्देशक नीरज भारीका अनुसार, यस वर्षको महोत्सवमा दुई सयभन्दा बढी साहित्यकार, कलाकार, पत्रकार, र नेताहरू सहभागी हुनेछन्। ५० भन्दा बढी सत्रमा अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति, र अन्य रचनात्मक गतिविधिहरू समावेश हुनेछन्। नेपाली अमेरिकी लेखक रञ्जन अडिगाको सहभागिता, ‘लिच एण्ड अदर स्टोरीज’ माथि उनको संवाद, प्राध्यापक महेन्द्र पी लामाको विद्वत प्रवचन, अभिनेत्री मनिषा कोइरालासँग संवाद, र अभिनेता राजेश हमालको पुस्तक लोकार्पण जस्ता आकर्षक सत्रहरू महोत्सवको विशेषता हुनेछन्।
निर्देशक अजित बरालका अनुसार, लिटरेचर फेस्टिभलले पोखराको सांस्कृतिक तथा साहित्यिक गतिविधिलाई थप प्रवर्द्धन गर्नेछ। “यस महोत्सवले साहित्य र पर्यटनलाई एकसाथ जोडेर पोखरालाई अन्तर्राष्ट्रिय पहिचान दिन मद्दत गर्नेछ,” बरालले भने। महोत्सव सफल बनाउन सरकारी तथा निजी क्षेत्रको साथ रहेको उनले जानकारी दिए।
साङ्गीतिक कार्यक्रममा प्रोजेक्ट सारङ्गी र सोनागी ब्लुजले परम्परागत तथा समकालीन सङ्गीत प्रस्तुत गर्नेछन्, जसले पोखराको साङ्गीतिक वातावरणमा नयाँ आयाम थप्नेछ। लोक चित्रकला प्रदर्शनीले कला तथा संस्कृतिप्रेमीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।
नेपाल साहित्यिक महोत्सवले साहित्य, कला, संगीत, र पर्यटनको संगम गराउँदै पोखरालाई एक नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ।


