Sunday, June 28, 2026
Home Blog Page 504

नेता रिहा नभए सामूहिक गिरफ्तारी दिने डा. जगमान गुरुङको चेतावनी

0

काठमाडौं: राजसंस्था पुनःस्थापनाका पक्षमा संघर्षरत संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक डा. जगमान गुरुङले चैत्र १५ गतेको तीनकुने घटनामा पक्राउ परेका नेताहरूको रिहाइ नभए सामूहिक गिरफ्तारीको चेतावनी दिएका छन्।

बुधबार काठमाडौंमा आयोजित प्रतिवद्धता सभामा बोल्दै गुरुङले वैशाख २१ गतेसम्म पक्राउ परेका सबैलाई रिहा नगरे र नवराज सुवेदीको नजरबन्द नहटाए वैशाख २२ गतेदेखि सामूहिक गिरफ्तारी दिने घोषणा गरे। “यस अभियानको अगुवाइ म स्वयं गर्छु,” उनले भने।

गुरुङले आगामी आन्दोलन ‘भद्र अवज्ञा’को स्वरूपमा अघि बढ्ने बताए। “अहिलेको सन्दर्भमा सशस्त्र आन्दोलन आवश्यक छैन,” उनले प्रष्ट पारे। राजावादी आन्दोलन कमजोर भएको भन्ने हल्ला नियोजित ढंगले फैलाइएको भन्दै उनले आफूहरू योजनाबद्ध रूपमा सक्रिय रहेको जनाए। गुरुङले वैशाख २१ बाट ‘एक्सन’मा जाने दाबी गरे।

यता, राप्रपा नेपालका अध्यक्ष कमल थापाले चैत्र १५ गते तीनकुनेमा भएको घटनालाई राज्यले जानाजान हिंसात्मक बनाएको आरोप लगाए। “राजावादी आन्दोलनलाई कमजोर र बद्नाम बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप थुपार्ने प्रयास भइरहेको छ,” उनले भने।

थापाले संघीय, धर्मनिरपेक्ष गणतन्त्रात्मक व्यवस्थालाई परिवर्तन गर्न नपाउने गरी संविधान संशोधनको तयारी भइरहेको भन्दै त्यसो गरिए देश अस्थिरतामा जाने चेतावनी पनि दिए।

सरकारद्वारा दिवंगत नेता खुमबहादुर खड्काको सम्पत्ति जफत, १२ वर्षपछि सर्वोच्चको फैसला कार्यान्वयन

0

काठमाडौँ । सर्वोच्च अदालतको १२ वर्षअघिको आदेश कार्यान्वयन गर्दै सरकारले नेपाली कांग्रेसका दिवंगत नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफत गरेको छ।

गृह मन्त्रालय अन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीका अनुसार, खड्काको परिवारले २० लाख ५६ हजार ९८८ रुपैयाँ विभागको कोषमा चैत १८ गते दाखिला गरेको छ। सर्वोच्च अदालतको आदेशअनुसार यो रकम खड्काको श्रीमती शीला शर्मा खड्काको नाममा रहेको ललितपुर–२, सानेपास्थित जग्गाबाट असुल गर्नुपर्ने थियो। सो जग्गामा घर रहेको हुँदा सर्वोच्चले केवल जग्गाबाट मात्र रकम असुल गर्न निर्देशन दिएको थियो।

सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश कल्याण श्रेष्ठ र वैजनाथ उपाध्यायको इजलासले २०६९ साउन ३० गते खड्कालाई भ्रष्टाचारी ठहर गर्दै सम्पत्ति जफतको फैसला गरेको थियो। अदालतले मूल्याङ्कनका क्रममा खड्कासँग ९४ लाख ७४ हजार रुपैयाँबराबरको स्रोत नखुलेको सम्पत्ति रहेको जनाएको थियो।

महानिर्देशक पन्थीका अनुसार, अब सोही स्थानमा रहेको कित्ता नम्बर २४९ को एक रोपनी ६ आना एक पैसा एक दाम जग्गा पनि पूर्ण रूपमा जफत हुने भएको छ। प्रक्रिया अगाडि बढिसकेको र उक्त जग्गाको लालपुर्जा एक साताभित्र सरकारको नाममा आउने विभागले जनाएको छ।

यसअघि कानुनी स्पष्टता नहुँदा सर्वोच्चको फैसला कार्यान्वयनमा ढिलाइ हुँदै आएको थियो। तर, सरकारद्वारा माघमा ल्याइएको ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश, २०८१’ ले प्रक्रिया सहज बनाएको छ। यसले कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० को दफा १७ मा संशोधन गर्दै जफत प्रक्रिया सरल बनाएको हो।

खड्काको परिवारले एक वर्षअघि नै पैसा तिरेर जग्गा फिर्ता लिने निवेदन दिएका थिए, तर निर्देशनालयले सहमति दिएको थिएन। गत पुसमा अध्यादेश जारी भएपछि, माघ १५ गते सर्वोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त मागअनुसार फैसला गरेको थियो, जसले सरकारलाई फैसला कार्यान्वयनमा सहज बनायो।

पूर्वमन्त्री खड्काको निधन २०७४ चैत १६ गते भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारका क्रममा भएको थियो।

‘मौलिक सभ्यता पुनःजागरणमा गुरुकुलको भूमिका महत्वपूर्ण’ – पर्यटनमन्त्री पाण्डे

0

काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली मौलिक सभ्यताको पुनर्जागरणका लागि गुरुकुलले अग्रसर भई सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।

गोकर्णेश्वर नगरपालिका–४ मा रहेको कान्ति भैरव गुरुकुलले आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’ को शुभारम्भ समारोहमा बोल्दै मन्त्री पाण्डेले गुरुकुलकालीन शिक्षामार्फत प्राचीन भारतमा चाणक्यले खेलेको जागरणात्मक भूमिकालाई आजका गुरुकुलहरूले दोहोर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।

उहाँले नेपालले आफ्नो संस्कृति र प्रकृति मार्फत अन्तर्राष्ट्रिय पर्यटन आकर्षण बढाउन सक्ने उल्लेख गर्दै पर्यटन मन्त्रालय त्यस दिशा तर्फ सक्रिय रहेको जानकारी दिनुभयो। “संस्कृत विश्वविद्यालय स्थापना भएको उद्देश्यअनुसार पूर्ण रूपमा काम गर्न सकेको छैन,” उहाँले भन्नुभयो, “भौतिक सम्पत्तिले सम्पन्न यस विश्वविद्यालयको उचित सदुपयोग आवश्यक छ। पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रूपमा विकास गर्न गृहकार्य भइरहेको छ।”

मन्त्री पाण्डेले संस्कृत विश्वविद्यालयका केही विद्यार्थीहरू हाल विश्वकै प्रतिष्ठित विश्वविद्यालयहरूमा संस्कृत अध्यापन गराइरहेको उल्लेख गर्दै संस्कृतको प्रवर्द्धनमा ‘जयतु संस्कृतम्’ संस्थाले महत्वपूर्ण योगदान पुर्‍याएको प्रशंसा गर्नुभयो।

उहाँले नेपाललाई वेद र बुद्ध दुबैको भूमि भएकोले यसलाई पूर्वीय ज्ञानको केन्द्रका रूपमा विश्वमा चिनाउन सकिने धारणा व्यक्त गर्नुभयो। “भौतिकभन्दा आध्यात्मिक पक्षको महत्व बढ्दो क्रममा छ,” उहाँले भन्नुभयो, “त्यसैले सभ्यता, संस्कृति, पूर्वीय साहित्य र संस्कृत भाषाको गौरवमार्फत समाजमा सकारात्मक प्रेरणा दिन जरुरी छ।”

यू–१९ एसिया छनोट क्रिकेटको तालिका सार्वजनिक, नेपालले पहिलो खेल युएईसँग खेल्ने

0

काठमाडौँ: आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले चैत ३१ गतेदेखि वैशाख ६ गतेसम्म काठमाडौँमा आयोजना हुने प्रतियोगिताको तालिका मङ्गलबार सार्वजनिक गरेको हो।

प्रतियोगिताका सबै खेल काठमाडौँस्थित माथिल्लो र तल्लो मूलपानी अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ९:३० बजे सुरु हुनेछन्।

छनोट प्रतियोगितामा आयोजक नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङ सहभागी छन्। नेपालले पहिलो खेल चैत ३१ गते युएईविरुद्ध तल्लो मूलपानी मैदानमा खेल्नेछ।

क्यानले मङ्गलबार नरेन भट्टको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ। टोलीमा कप्तान भट्टसहित अभिषेक तिवारी, नीरज के यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपीनप्रसाद शर्मा छन्।

खेल तालिका यसप्रकार छ:
माथिल्लो मूलपानी मैदान

चैत ३१: ओमान बनाम अफगानिस्तान

वैशाख १: ओमान बनाम नेपाल

वैशाख ३: अफगानिस्तान बनाम युएई

वैशाख ५: हङकङ बनाम ओमान

वैशाख ६: युएई बनाम हङकङ

तल्लो मूलपानी मैदान

चैत ३१: नेपाल बनाम युएई

वैशाख १: अफगानिस्तान बनाम हङकङ

वैशाख ३: हङकङ बनाम नेपाल

वैशाख ४: युएई बनाम ओमान

वैशाख ६: नेपाल बनाम अफगानिस्तान

प्रतियोगिताको विजेताले सन् २०२६ मा श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछन्।

नेपालमा राजतन्त्र फर्कने सम्भावना छैन : कांग्रेस प्रवक्ता महत

0

राजविराज (सप्तरी): नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नेपालमा राजतन्त्र पुनःस्थापना हुने कुनै सम्भावना नरहेको स्पष्ट गर्नुभएको छ।

नेपाल प्रेस युनियन सप्तरीद्वारा राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले नेपाली जनताले अतीतमा राजाबाट पटक–पटक धोका पाएकाले अब राजतन्त्रको पुनरागमन सम्भव नरहेको टिप्पणी गर्नुभयो।

“नेपाली जनताले विगतका विभिन्न कालखण्डमा राजतन्त्रबाट धोका मात्र पाए, अब फेरि जनताले राजतन्त्र स्वीकार्ने छैनन्,” डा. महतले भन्नुभयो।

उहाँले हालको संघीय लोकतान्त्रिक शासन प्रणालीको विकल्प नरहेको उल्लेख गर्दै शासनको शैलीमा देखिएका कमीकमजोरीलाई सुधार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रममा नेपाली कांग्रेस सप्तरीका जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सनत मण्डललगायत नेताहरूको उपस्थिति थियो।

हिमपहिरोमा बेपत्ता दुईजना शेर्पा भेटिएनन्

0

म्याग्दी: अन्नपूर्ण हिमालमा आएको हिउँपहिरोका कारण दुई जना शेर्पा पछिल्ला दुई दिनदेखि बेपत्ता भएका छन्। अन्नपूर्ण गाउँपालिका–४, नारच्याङस्थित ८,०९१ मिटर अग्लो अन्नपूर्ण हिमालको दोस्रो र तेस्रो शिविरको बीचमा सोमबार दिउँसो आएको हिउँपहिरोमा परेर सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पा बेपत्ता भएका हुन्। उनीहरू सेभेन समिट ट्रेकबाट आरोही सहयोगी (शेर्पा) का रूपमा हिमालमा गएका थिए।

बेपत्ता शेर्पाहरूको खोजीका लागि हेलिकप्टरमार्फत मंगलबार बिहानैदेखि उद्धार प्रयास गरिएको थियो। तर अन्नपूर्ण गाउँपालिका–३, दानाका इन्द्रसिंह शेरचनका अनुसार खोजीका प्रयास सफल भएका छैनन्।

“कैलाश र प्रभुको हेलिकप्टरबाट सेभेन समिटका अन्य शेर्पासहितको टोलीले खोजी गर्‍यो तर फेला पार्न सकिएन,” शेरचनले बताए, “क्याम्प २ र ३ को बीचमा निरन्तर हिमपहिरो खसिरहेकाले खोजीमा अप्ठ्यारो भएको छ।”

ड्रोन क्यामेराको सहायताले समेत खोजी कार्य चलाइएको छ। मौसम बिग्रिएपछि टोली आधार शिविरमा फर्किएको थियो भने बुधबार बिहान पुनः खोजीका लागि जान लागिएको छ।

खोजीका क्रममा तेस्रो शिविरमा रहेका चार जना आरोहीहरूलाई हेलिकप्टरमार्फत आधार शिविरमा झारिएको छ।

शेरचनका अनुसार हिमपहिरोका कारण अन्नपूर्णको चुचुरोमा पुग्ने बाटो अवरुद्ध भएको छ भने बाटोमा राखिएका भ्याङ (सोपान) पनि भत्किएका छन्।

सोमबार बिहान ८ देखि ११ बजेको बीचमा ३२ जनाले अन्नपूर्णको आरोहण गरेका थिए। चालु वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन्।

वातावरणमैत्री सवारी र जनमुखी सडक आवश्यक : मन्त्री दाहाल

0

काठमाडौं: भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले वातावरणमैत्री सवारीसाधन र जनमुखी सडक निर्माण आवश्यक रहेको बताएका छन् ।

नाडा अटोमोबाइल्स डिलर एसोसिएसन (नाडा) द्वारा ललितपुरमा आयोजित ‘नाडा अटो डायलग’ समापन समारोहमा बोल्दै मन्त्री दाहालले पूर्वाधार विकास, रोजगारी अभिवृद्धि र स्वरोजगारी सिर्जनाजस्ता क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि केही भएन भन्ने मानसिकता फैलाउने प्रयास भइरहेको टिप्पणी गरे।

“पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, सञ्चार र विद्युतीकरणलगायतका क्षेत्रमा नेपालले उल्लेख्य फड्को मारेको छ,” मन्त्री दाहालले भने।

समारोहमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले प्रदेश सरकारसँगको समन्वयमा यातायात क्षेत्रलाई व्यवस्थित पार्ने काम भइरहेको जानकारी दिए।

नाडाका अध्यक्ष करण चौधरीका अनुसार कार्यक्रममा अटोमोबाइल्स क्षेत्रमा संलग्न विज्ञहरू र सरकारी अधिकारीहरूले यातायात तथा अटोमोबाइल्ससम्बन्धी विभिन्न धारणा राखेका थिए।

देशभर आंशिकदेखि सामान्य बदली, केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं: हाल देशभर पश्चिमी वायु र स्थानीय वायु प्रणालीको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै, बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पनि मौसममा परिवर्तन देखिएको महाशाखाले स्पष्ट पारेको छ ।

महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा र देशका अन्य भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । साथै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपात हुने सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।

“पुराना सहमति कार्यान्वयन गरियोस्, नयाँ सहमति होइन : शिक्षक महासङ्घ”

0

काठमाडौँ: नेपाल शिक्षक महासङ्घले आफूहरू नयाँ सहमतिको लागि आन्दोलनमा नउत्रिएको स्पष्ट पारेको छ। आज एक विज्ञप्ति जारी गर्दै महासङ्घले विगतमा भएका सहमति कार्यान्वयन गर्न सरकारसमक्ष आग्रह गरेको छ।

‘मिति २०८१ चैत्र २६ गते शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा वार्ता र संवादका लागि आह्वान गरी जारी गरिएको विज्ञप्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। हरेक समस्या वार्ता वा संवादबाटै समाधान हुन्छन् भन्नेमा महासङ्घको दृढ विश्वास छ, तर यस पटक नेपाल शिक्षक महासङ्घले सरकारसमक्ष नयाँ मागपत्र पेश गरी आन्दोलन थालेको होइन। यो आन्दोलनको लक्ष्य नयाँ सहमति गर्नु पनि होइन,’ विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा थप भनिएको छ, ‘यो आन्दोलनको उद्देश्य विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु हो।’

महासङ्घले २०८० साल भाद्रमा संसद्मा दर्ता भई संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुगेको विद्यालय शिक्षा विधेयक चार अधिवेशन पार गरेर पनि अझै ऐन बन्न नसक्नु दुर्भाग्यपूर्ण भएको जनाएको छ।

‘समितिको बैठक नियमित नहुनु, समयमा उपसमिति गठन नगरिनु, गठित उपसमितिबाट अपेक्षित गतिमा काम नहुनु तथा संसद्को हिउँदे अधिवेशन अनुमानित मितिभन्दा अगावै अन्त्य गरिनुजस्ता घटनाले सरकार विद्यालय शिक्षा ऐन ल्याउने विषयमा गम्भीर नरहेको देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ।

महासङ्घले अहिलेको अवस्थामा संसद्को वर्षे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेशन आह्वान गर्ने वा अध्यादेश जारी गर्ने मध्ये कुनै एक विकल्पमार्फत विद्यालय शिक्षा ऐन जारी गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

‘विगतका सहमति कार्यान्वयन गर्न मन्त्री परिषद्को निर्णयबाट सम्बोधन हुनसक्ने विषयमा शीघ्र निर्णय गर्दै ऐन जारी गर्नका लागि माथि प्रस्तावित विकल्पबारे स्पष्ट पहल भएमा मात्रै वार्ताको विश्वासिलो वातावरण बन्नेछ,’ महासचिव तुलाबहादुर थापा र अध्यक्ष लक्ष्मी किशोर सुवेदीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ। ‘त्यस्तो अवस्था नबनीकन सरकारले आह्वान गरेको वार्तामा बस्नुको कुनै औचित्य छैन भन्ने कुरा स्पष्ट गर्न चाहन्छौं।’

ऐन जारीको विश्वासिलो आधार बिना वार्ता सम्भव छैन : आन्दोलनरत शिक्षक

0

काठमाडौं: आन्दोलनरत शिक्षकहरू विद्यालय शिक्षा ऐन जारी हुने स्पष्ट र विश्वासिलो आधार भएमा मात्र सरकारसँग वार्तामा बस्ने निष्कर्षमा पुगेका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वार्ताका लागि आह्वान गरे पनि नेपाल शिक्षक महासंघले त्यसका लागि ‘ऐन जारी हुने ग्यारेन्टी’ आवश्यक रहेको जनाएको छ।

महासंघले आज बसेको समीक्षा बैठकमा वार्ताका सन्दर्भमा छलफल गरेको थियो। महासंघकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीका अनुसार, सरकारले अघिल्लो वर्ष गरिएको सहमति अनुसार ऐन ल्याउने वाचा पूरा नगरेको कारणले अहिले विश्वासको वातावरण बन्न सकेको छैन।

“सरकारसँग गत वर्ष वार्ता गरेर सम्झौता गरिएको थियो, तर अहिलेसम्म ऐन जारी भएको छैन। त्यसैले अब वार्तामा बस्न ऐन जारी हुने ठोस र विश्वासिलो आधार चाहिन्छ,” पराजुलीले भनिन्।

विद्यालय शिक्षा विधेयक अहिले संसदको शिक्षा समितिको उपसमितिमा छलफलको चरणमा छ। पराजुलीका अनुसार, समितिले हालसम्म २७ दफामा सहमति जुटाएको छ, तर उपसमितिमा कोरम नपुगेका कारण बैठक स्थगित हुने अवस्थाले प्रक्रिया सुस्त बनाएको छ।

“हामी सडकमा छौं। विधेयक पारित गर्न तदारुकता देखिनुपर्ने हो, तर बैठकमा कोरम नै पुग्दैन भन्ने अवस्था छ। विधेयक बनाउने सांसदहरू नै गम्भीर देखिएका छैनन् भने हामी कसरी विश्वास गर्ने?” पराजुलीले भनिन्।

महासंघले आजको समीक्षा बैठकमा प्रारम्भिक छलफल गरे पनि भोलि बिहान बस्ने अध्यक्ष मण्डलको बैठकपछि अन्तिम निर्णय गरिने बताइएको छ।