काठमाडौँ: संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाली मौलिक सभ्यताको पुनर्जागरणका लागि गुरुकुलले अग्रसर भई सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ।
गोकर्णेश्वर नगरपालिका–४ मा रहेको कान्ति भैरव गुरुकुलले आयोजना गरेको संस्कृत नाटक ‘प्रतिष्ठा’ को शुभारम्भ समारोहमा बोल्दै मन्त्री पाण्डेले गुरुकुलकालीन शिक्षामार्फत प्राचीन भारतमा चाणक्यले खेलेको जागरणात्मक भूमिकालाई आजका गुरुकुलहरूले दोहोर्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले नेपालले आफ्नो संस्कृति र प्रकृति मार्फत अन्तर्राष्ट्रिय पर्यटन आकर्षण बढाउन सक्ने उल्लेख गर्दै पर्यटन मन्त्रालय त्यस दिशा तर्फ सक्रिय रहेको जानकारी दिनुभयो। “संस्कृत विश्वविद्यालय स्थापना भएको उद्देश्यअनुसार पूर्ण रूपमा काम गर्न सकेको छैन,” उहाँले भन्नुभयो, “भौतिक सम्पत्तिले सम्पन्न यस विश्वविद्यालयको उचित सदुपयोग आवश्यक छ। पशुपति क्षेत्रस्थित नेपाल वेद विद्याश्रमलाई महाविद्यालयका रूपमा विकास गर्न गृहकार्य भइरहेको छ।”
मन्त्री पाण्डेले संस्कृत विश्वविद्यालयका केही विद्यार्थीहरू हाल विश्वकै प्रतिष्ठित विश्वविद्यालयहरूमा संस्कृत अध्यापन गराइरहेको उल्लेख गर्दै संस्कृतको प्रवर्द्धनमा ‘जयतु संस्कृतम्’ संस्थाले महत्वपूर्ण योगदान पुर्याएको प्रशंसा गर्नुभयो।
उहाँले नेपाललाई वेद र बुद्ध दुबैको भूमि भएकोले यसलाई पूर्वीय ज्ञानको केन्द्रका रूपमा विश्वमा चिनाउन सकिने धारणा व्यक्त गर्नुभयो। “भौतिकभन्दा आध्यात्मिक पक्षको महत्व बढ्दो क्रममा छ,” उहाँले भन्नुभयो, “त्यसैले सभ्यता, संस्कृति, पूर्वीय साहित्य र संस्कृत भाषाको गौरवमार्फत समाजमा सकारात्मक प्रेरणा दिन जरुरी छ।”


